'धेरै सोचेर नयाँ गठबन्धन बनाइएको हो, वाम शक्तिहरू एक ठाउँमा ल्याइन्छ'

'धेरै सोचेर नयाँ गठबन्धन बनाइएको हो, वाम शक्तिहरू एक ठाउँमा ल्याइन्छ'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताएका छन्।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको बागमती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर नयाँ गठबन्धन बनाइएको दाबी गरे।

गठबन्धन परिवर्तन गर्ने निर्णय एकाएक नभएको उल्लेख गर्दै उनले वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखिएको बताए।

उनले हालको सत्ता गठबन्धनलाई लामो समयसम्म लैजाने सोच र लक्ष्यका साथ पार्टीले निर्णय गरेकाले त्यसलाई अक्षरश लागु गरिने बताएका छन्।

पछिल्लो एक वर्षको अनुभवका आधारमा नयाँ निर्णय लिनु नै सुरक्षित उपाय भएको प्रधानमन्त्रीको भनाइ रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य डीपी ढकालले जानकारी दिए।

प्रदेश सरकारको विषयमा केही समयभित्रै आवश्यक निर्णय लिइने उनको भनाइ छ।

सङ्घीय सरकारमा परिवर्तन भएलगत्तै प्रदेश सरकारको बारेमा पनि निर्णय लिनुपर्ने अवस्था आएको भन्दै उनले गठबन्धनमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिइने प्रधानमन्त्रीको भनाइ छ।

१२ चैत, २०८०, २१:५४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।