नेपाल टी-२० मा स्पट फिक्सिङ गरेको अभियोग लागेका खेलाडीले पाए सफाइ

नेपाल टी-२० मा स्पट फिक्सिङ गरेको अभियोग लागेका खेलाडीले पाए सफाइ

काठमाडौँ : नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको अभियोग लागेका क्रिकेटर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्व खेलाडी महबुब आलमसहित पाँच जनाले सफाइ पाएका छन्।

नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी महबुब आलमसँगै आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।

जिल्ला अदालत काठमाडौँको न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सोमबार उनीहरु सबैलाई सफाइ दिएको हो।

गत वर्ष काठमाडौँमा भएको नेपाल टी-२० लिगमा म्याच फिक्सिङ लगायतका गतिविधि भएको आशङ्कामा प्रहरीले अनुसन्धान अगाडि बढाउँदा उनीहरू स्पट फिक्सिङको आरोपमा पक्राउ परेका थिए।

महबुबले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँगको बयानमा आरिफ शेख र हासिम अन्सारीलाई फिक्सिङका लागि प्रस्ताव गरेको दाबी सार्वजनिक भएको थियो।

गत वर्ष नै तीन लाख रुपैयाँ धरौटीमा छुटेका उनीहरूबारे सोमबार फैसला आउँदा सफाइ पाएका हुन्। महबुब आलमले आदिलसहित केही क्रिकेटरलाई स्पट फिक्सिङको प्रस्ताव गरेको अभियोग पत्रमा दाबी गरिएको थियो।

१२ चैत, २०८०, १८:४६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।