कन्ट्रोवर्सी क्विन कंगनालाई बिजेपीको टिकट, अब राजनीति सुटिङ सेटमा हैन मैदानमा

कन्ट्रोवर्सी क्विन कंगनालाई बिजेपीको टिकट, अब राजनीति सुटिङ सेटमा हैन मैदानमा

एजेन्सी : भारतीय जनता पार्टीको पक्षमा खरो समर्थन गर्दै आएकी भारतीय अभिनेत्री कंगना रनौट २०२४ को निर्वाचनबाट औपचारिक रूपमा बिजेपीमा प्रवेश गर्ने भएकी छिन्। अभिनयबाट अलग छवि निर्माण गर्न सफल कंगना आगामी लोकसभाको निर्वाचनमा बिजेपीबाट हिमाञ्चलको मन्डीबाट उम्मेदवार बन्ने भएकी छिन्।

आइतबार अबेर बिजेपीले पार्टीबाट लोक सभामा उम्मेदवार हुनेहरूको पाँचौँ सूची सार्वजनिक गरेको थियो। जसमा हिमाञ्चलको मन्डी क्षेत्रमा कंगनाको नाम छ।

बिजेपीबाट लोकसभाको टिकट पक्का भएपछि उनले ट्विट गर्दै बिजेपीलाई सधैँ सर्त बिना समर्थन गर्दै आएकोमा र पार्टीको राष्ट्रिय नेतृत्वले आफ्नो जन्मस्थानबाट उम्मेदवार बनाएको उल्लेख गरेकी छिन्।

पछिल्लो समय उनी सार्वजनिक मञ्च र सामाजिक सञ्जालमार्फत बिजेपीको पक्षमा आफ्ना धारणा राख्दै बिजेपीको विपक्षीहरूमाथि तिखो प्रहार गर्दै आएकी थिइन्। मुख्य त उनले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेविरुद्ध दिएको अभिव्यक्तिले उनी विवादमा तानिएकी थिइन्।

भारतीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि उनी महाराष्ट्र सरकारको कट्टर आलोचक बनेकी थिइन्। उनी निरन्तर विवादमा आएपछि सरकारले उनलाई वाई प्लस सुरक्षा दिएको थियो।

उनको गतिविधिले बिजेपीमा प्रवेश गरेर सक्रिय राजनीतिमा सहभागी हुने अड्कन सुरु भएको लामै समय भए पनि उनी पार्टीमा प्रवेश भने गरिनन्। सन् २०२४ मा भने उनी अब औपचारिक रूपमा बिजेपीमा प्रवेश गर्ने पक्का भएको छ।

कंगनाको विवाद यात्रा

अभिनय होस् या अभिव्यक्ति, अधिकांश समय कंगना चर्चामा रहिरहिन्। अभिनयको प्रारम्भमै उनी अभिनेता आदित्य पञ्चोलीसँग जोडिएर चर्चामा आएकी थिइन्।

सन् २००६ मा महेश भट्टले उनलाई ग्याङगस्टर फिल्मबाट ब्रेक दिएका थिए। पहिलो फिल्मको अभिनयबाटै उनी चर्चामा आउन सफल भइन्। सन् २००७ मा उनले’वो लम्हे’, लाइफ इन अ मेट्रो’, मा अभिनय गरिन्।

सन् २००८ मा जब उनले ‘फेसन’ फिल्ममा अभिनय गरेपछि उनको अभिनय यात्राले नयाँ उचाइ पायो। उनले फेसनबाट राष्ट्रिय पुरस्कार पाएकी थिइन्।

सन् २००८ मा उनले ‘राज-३’ मा अभिनय गर्दा यो फिल्मका अभिनेता अध्ययन सुमनसँगको सम्बन्धले चर्चामा आइन्। तर यो चर्चा त्यति लामो समय टिकेन। सन् २०११ मा रिलिज भएको’ तनु वेड्स मनु’ र यसको सिक्वेलले उनलाई राष्ट्रिय पुरस्कार दिलायो।

सन् २०१४ मा रिलिज भएको ‘क्विन’ बाट उनले राष्ट्रिय पुरस्कारमा ह्याट्रिक गरिन्। उनले अभिनय गरेका सबै फिल्म हिट हुन सकेनन्। एक फिल्म चल्थ्यो अन्य फ्लप भइहाल्थ्यो। तर फ्लप यात्रा लामो समय जाँदैनथ्यो। अर्को फिल्मले ओरालो लाग्न लागेको उनको करिअर उचालिहाल्थ्यो। ‘मणिकर्णिका’ मा उनी झाँसीको रानी बनिन्।

उनको फिल्मकी करिअर राम्रै रफ्तारमा हुँदा पनि उनी व्यक्तिगत कारण पटक पटक विवादमा तानिइरहिन्। उनले आदित्य पञ्चोलीविरुद्ध मदिरा पिएर शारीरिक यातना दिएको भन्दै प्रहरीमा उजुरी नै गरिन्। ऋतिक रोशनसँगको सम्बन्धका कारण पनि कंगना चर्चा र विवादमा रहिन्। यी दुबैबीचको विवाद प्रहरी कार्यालयसम्म पुगेको थियो।

त्यसपछि उनको निशानामा परे करण जौहर। उनले करणलाई मुभी माफिया भन्दै सार्वजनिक रूपमा आलोचना गरेकी थिइन्। जब सन् २०१८ मा यौन उत्पीडन र यौन दुर्व्यवहार विरुद्ध विश्वव्यापी रूपमा मिटू मुभमेन्ट सुरु भयो कंगना सक्रिय भइन्।

उनले बलिउड फिल्मका विभिन्न व्यक्तिमाथि यौन दुर्व्यवहारको आरोप लगाउन थालिन्। विवादबारे कसैले प्रश्न सोधे उनी सहजै’ म कसैको बलमा बनेकी हैन, म जे छु आफ्नै बलमा बनेकी हुँ’ भन्ने जवाफ दिन्थिन्।

जब सुशान्त सिंह राजपूतले आत्महत्या गरे अनि कंगनाले बलिउडमा रहेको नातावादको विषय उठाएर आक्रमण तीव्र बनाउन थालिन्। उनले करण जौहरदेखि सलमान खान र साहरुख खानमाथि समेत नातावादको आरोप लगाइन्।

सुशान्तको आत्महत्यासँग जब लागुऔषध जोडियो अनि उनले बलिउडका ९९ प्रतिशत व्यक्तिहरू लागुऔषध सेवन गर्छन् भनेर विवादित बयान दिइन्। जब बिजेपीको गतिविधि विरुद्ध बलिउडका कलाकार विपक्षमा उभिन्थे उनी सामाजिक सञ्जालमार्फत बिजेपीको पक्षमा उभिँदै कलाकारहरूमाथि आक्रमण सुरु गर्थिन्।

उनले महाराष्ट्र सरकारविरुद्ध सामाजिक सञ्जालमा तीव्र आक्रमण सुरु गरेपछि बिजेपी उनको पक्षमा उभियो र सरकारले सुरक्षा दिन थाल्यो। उनको गतिविधिले उनी राजनीतिको मैदानमा उत्रिने तयारीमा लागेको अड्कलहरु भइरहेका थिए। बिजेपीले संसद्को टिकट दिएर अड्कलबाजी सत्य प्रमाणित गरिदियो।

१२ चैत, २०८०, १८:१४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।