चार दिनपछि खुलेको नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो

चार दिनपछि खुलेको नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो

काठमाडौं : चार दिनपछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट छ। नेप्से परिसूचक १७.०१ अंकले घट्दै २०३१.५५ विन्दुमा आएको छ।

कारोबार रकम २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ। गत साताको अन्तिम दिन ४ अर्ब ३१ करोडको कारोबार भएको थियो।

आज ३७ कम्पनीका सेयर मूल्य बढेको छ भने २०४ कम्पनीको घटेको छ। ३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

लगानीकर्तालाई फागु पर्वको बिदाबारे अन्योल भएर पनि कारोबार घटेको अनुमान छ। पहाडी जिल्लामा हिजो फागु पर्व थियो भने आज तराईका जिल्ला होलीको बिदा छ।

घटेको बजारमा पनि बोटलर्स नेपाल बालाजुको सेयरमा पोजेटिभ सर्किट लागेको छ। सर्वोत्तम सिमेन्टको सेयरमा आजसहित लगातार चौथो दिन पोजिटिभ सर्किट छ।

बोटलर्सको सेयर प्रति कित्ता १६ सय ६१ पुगेको छ भने सर्वोत्तमको ८ सय १३ रुपैयाँ पुगेको छ।

बढेका अन्य कम्पनीमा धौलागिरी लघुवित्त र तारागाउँ सिजेन्सी होटल छन्।

आज सर्वाधिक कारोबार हुनेमा गुर्खाज फाइनान्स छ। उक्त कम्पनीको २८ करोड ९० लाखको सेयर किनबेच भएको छ।

यस्तै, शिवम् सिमेन्टको १३ करोड ७८ लाख र सोनापुर मिनरल्सको ८ करोड १३ लाखको सेयर कारोबार भएको छ।

१३ उपसमूह मध्ये आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापारबाहेकका सबै कम्पनीको सूचक घटेका छ।

सर्वाधिक घटेकाको सूचीमा किसान लघुवित्त पहिलो नम्बरमा छ। किसानका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन्।

बुद्धभूमि नेपाल हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, युनिक नेपाल लघुवित्त लगायत घटेका छन्।

१२ चैत, २०८०, १६:०१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।