'कांग्रेसले प्रधानमन्त्री अफर गरेका रवि लामिछाने गृहमन्त्रीको लागि कसरी अयोग्य?'

'कांग्रेसले प्रधानमन्त्री अफर गरेका रवि लामिछाने गृहमन्त्रीको लागि कसरी अयोग्य?'

काठमाडौं : एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको बताएका छन्।

आइतबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले गृहमन्त्री लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध पार्ने कांग्रेसको कामलाई एमालेले जिम्मेवार राजनीतिक दलको कदमको रूपमा लिन नसक्ने पनि उनले बताए।

उपमहासचिव ज्ञवालीले कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भए गृहमन्त्री लामिछानेले मार्ग प्रशस्त गर्नुपर्ने बताए।

ज्ञवालीले भने, ‘भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने हाम्रो पोजिसन त्यही नै हुनेछ। नैतिक रूपमा त्यो अवस्थामा छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्छ।’

उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई लक्षित गर्दै लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको समेत बताए।

‘प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको गठबन्धन तोड्ने निर्णय गर्नुभयो। त्यसपछि प्रधानमन्त्रीको अफर गर्दै कांग्रेस आफैँ पुगेको थियो। प्रधानमन्त्रीको निम्ति आफैँले प्रस्तावित गरेको मान्छे गृहमन्त्रीको निम्ति अयोग्य हुन्छ भन्ने तर्क त्यो राजनीतिक प्रतिशोधको तर्कबाहेक अरू केही पनि हुन सक्दैन,’ ज्ञवालीले भने।

उपमहासचिव ज्ञवालीले विगतमा आफ्नो पार्टीले प्रमाणको आधारमा मात्रै तत्कालीन भौतिक पूर्वाधार प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको उनको तर्क छ।

११ चैत, २०८०, १७:०९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।