कांग्रेसप्रति रविको आक्रोश : 'प्रधानमन्त्रीले गलहत्याएर फ्याँके, झण्डा हल्लाउँदै अख्तियारमा बयान दिनेले मेरो राजीनामा मागे'

कांग्रेसप्रति रविको आक्रोश : 'प्रधानमन्त्रीले गलहत्याएर फ्याँके, झण्डा हल्लाउँदै अख्तियारमा बयान दिनेले मेरो राजीनामा मागे'
फाइल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि एवं गृहमन्त्री लामिछानेले नेपाली कांग्रेसको पछिल्लो गतिविधिप्रति आक्रोश पोखेका छन्।

शनिबार वर्तमान सन्दर्भमा रास्वपाको रणनीतिक विषयमा छलफल कार्यक्रममा उनले नेपालको राजनीतिमा ७० वर्षको इतिहास बोकेको राजनीतिक दलको पछिल्लो गतिविधि देखेर छक्क परेको बताए।

कांग्रेसले आफ्नो राजीनामा माग गर्दै सांसद अवरुद्ध गरेकोप्रति उनको आक्रोश देखिएको छ।

‘अस्तिसम्म झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन जाने मन्त्री बोकेको कांग्रेस’ उनले भने, ‘आज कसैले दिएको बिना प्रमाणको उजुरीलाई लिएर राजीनामा मागिँदैछ। उही झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन जाने सांसद नै मेरो राजीनामा माग्दै आएको देखिन्छ।’

उनले आफू सरकारमा बस्दासम्म नैतिकता नचाहिने र अख्तियारले बयान माग्दा कांग्रेसले आफ्ना मन्त्रीलाई सरकारबाट निकाल्न नसकेको समेत बताए।

उनले अख्तियारको फन्दामा परेका ती मन्त्रीलाई प्रधानमन्त्रीले निकाल्नु परेको बताए। 

उनले भने, ‘हामी जोखिम मोलेर जोडिएका छौं। हामी देशको ठूलो राजनीतिक दल कांग्रेसलाई प्रधानमन्त्रीले गलहत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा पुग्दैनौँ, काम गर्न सकेनौं भने हाम्रो राजीनामा पत्र अहिलेदेखि झोलामा तयार छ। मात्रै मिति लेख्न बाँकी छ। हामी टाँसिएर वा प्रधानमन्त्रीले निकाल्नुपर्ने अवस्थामा पुग्दैनौँ भन्ने कुरा हाम्रो स्पष्ट धारणा छ।’

संसद्मा बोल्न नदिएको कांग्रेसलाई गृहमन्त्री लामिछानेले आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिए।

खुला स्थानमा बहस गर्न आफू तयार रहेको बताउँदै उनले भने, ‘म चुनौतीका साथ भन्न चाहन्छु, त्यो एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खोज्नुभएको छ। म उहाँहरूलाई भन्न चाहन्छु- तपाईं कहाँ कहिले कुन मितिमा मलाई बोलाउनुहुन्छ? सदनमा त मलाई बोल्न दिनुभएको छैन। मैले आफ्ना कुरा राख्न पाएको छैन। जनताको माझमा खुला रुपमा बहस गरौं। तपाईंले भनेको ठाउँ र मितिमा बोलाउनुस् र प्रमाणित गरिदिनुस्, तपाईं भएभरका सबै लयर र प्रभावशाली नेताहरू बोकेर आउनुहोला। सबै प्रमाणहरू लिएर आउनुहोला। म एक्लै आउँछु।’

 

१० चैत, २०८०, १७:४३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।