महराको हाजिर जमानीको कारण स्वास्थ्य समस्या कि ब्युरो नेतृत्वको सफ्ट कर्नर !

महराको हाजिर जमानीको कारण स्वास्थ्य समस्या कि ब्युरो नेतृत्वको सफ्ट कर्नर !

काठमाडौँ : सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा शुक्रवार हाजिर जमानीमा रिहा भए। काठमाडौँबाट बुटवल जाँदै गरेका उनलाई प्रहरीले बाटोमा ब्यारिकेट राखेर नियन्त्रणमा लिएर काठमाडौँ ल्याएको थियो।

पक्राउ परेका उनलाई न्यायिक हिरासतमा राख्न अदालतबाट अनुमति भए पनि स्वास्थ्य समस्या देखाउँदै अस्पतालमा राख्न आदेश दिएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर बयान सक्काएपछि ब्युरोले नै हाजिर जमानीमा छाड्न सरकारी वकिलको कार्यालयसँगको परामर्शमा शुक्रवारै उनलाई जमानीमा छाड्यो। महरा प्रहरी नियन्त्रण मुक्त भए पनि अस्पतालबाट डिस्चार्ज भने भएका छैनन्।

यस अगाडि बाँसबारीको सरकारी जग्गा हिनामिनाको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित तीन जना हाजिर जमानीमा रिहा भए पनि उनीहरू अदालतको आदेशको आधारमा रिहा भएका थिए।

तर महरालाई हाजिर जमानीमा छाड्न ब्युरो नेतृत्व नै सक्रिय भएकाले आयोगको सुझावको आधारमा पक्राउ गरे पनि महराप्रति प्रहरी नरम बाटोमा गएको शङ्का समेत बढाएको छ नै।

ब्युरोका वर्तमान प्रमुख श्याम ज्ञवाली आइजिपीको प्रतिस्पर्धामा रहँदा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गुड लिस्टमा रहेका प्रहरी अधिकारी हुन्। अन्तिम समयमा तत्कालीन सत्ता सहयोगी मुख्य दल नेपाली कांग्रेसले हस्तक्षेपबाट मात्रै वसन्त कुँवर आइजिपी नियुक्त भएका थिए।

महानगरीय प्रहरी कार्यालयमारहँदा अनुसन्धानरत विषय चुहाएर प्रहरी महानिरीक्षक कुँवरबारे मिडियामा चरित्र हत्या गराएको भन्दै उनीबारे छानबिन समिति गठनको तयारी भएपछि प्रधानमन्त्री प्रचण्डले हस्तक्षेप गरेका थिए।

उपत्यका प्रहरी कार्यालयबाट उनी त्यही बेलामा ब्युरोमा जाने प्रयास गरेका थिए। तर तालिम केन्द्रमा उनको सरुवा भयो। ब्युरोमा बज्राचार्य नै कायम रहिन्। सरकार बदलिनु र सुन आयोगले ब्युरोको छानबिनबारे प्रश्न उठाएपछि उनलाई ब्युरोमा आउन सहज भयो।

ब्युरोले सरकारी वकिलको कार्यालयसँगको परामर्शमा महरालाई हाजिर जमानीमा छाड्ने प्रक्रिया गैर कानुनी भने हैन। कानुन अनुसार हिरासतमा राखेर अनुसन्धान गर्नु पर्ने अवस्था नदेखिएको अवस्थामा प्रहरीले सरकारी वकिल कार्यालयसँगको परामर्शमा त्यस्ता व्यक्तिलाई हाजिर जमानीमा छाड्न सक्छ।

तर महरा प्रहरी हिरासतमा हैन, पक्राउ परेर अदालतमा बुझाएदेखि नै नर्भिक अस्पतालको क्याबिनमा थिए। हाजिर जमानीमा छाड्दा पनि नर्भिकमै छन्। फरक यत्ति हो न्यायिक हिरासतको अवधिमा अस्पतालमा बस्दा प्रहरी सुरक्षा हुन्थ्यो, हाजिर जमानीपछि हुन्न।

प्रमाण कल डिटेल मात्रै !

तत्कालीन ब्युरो नेतृत्व किरण बज्राचार्यले सुन तस्करीमा महराको संलग्नताबारे बदनियतपूर्ण अनुसन्धान गरेको सुन तस्करीबारे उच्चस्तरीय आयोगको सिफारिसका आधारमा ब्युरोले महरालाई पक्राउ गरेको थियो।

यस अगाडिको अनुसन्धानमा पनि भेपको आवरणमा भएको सुन तस्करीमा संलग्न चिनियाँ नागरिकहरूसँग फोन सम्पर्क भएको बाहेक थप प्रमाण फेला नपरेको भन्दै उनको बयान लिए पनि प्रतिवादी बनाइएको थिएन।

आयोगको सिफारिस अनुसार ब्युरोले दोहोर्याएर महराबारे अनुसन्धान गरे पनि सुन तस्करीमा संलग्नताबारे थप प्रमाण फेला पारेको देखिएन। आयोगको सुझाव अनुसार प्रतिवादी बनाए पनि प्रमाण कल डिटेल मात्रै रहेको अनुसन्धानस्रोतले बतायो।

यस अगाडि ब्युरोले भेला पारेको प्रमाणमा मात्र टेकेर पूरक अभियोग पत्र लग्दा मुद्दा कमजोर हुने नै छ। बदनियतपूर्ण रूपमा अभियुक्त बनाएको देखिने जोखिम छ नै।

९ चैत, २०८०, २२:३८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।