सुन काण्डको अनुसन्धानमा पक्राउ परेका महरा हाजिरी जमानीमा रिहा

सुन काण्डको अनुसन्धानमा पक्राउ परेका महरा हाजिरी जमानीमा रिहा

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको सहमतिमा उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको हो।

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरेको थियो। सीआईबीका अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिए।

स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्यूरोका अनुसन्धान अधिकृतहरूले बुधबार र बिहीबार माइतीघर स्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ल्याएर बयान गराएका हुन्।

महरा आठ प्रकारका औषधि सेवन गरिरहेका छन्। उनको घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या रहेको महरापक्षले दाबी गरेको थियो।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। २०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले उनलाई प्रश्न गरेका छन्।

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो।

अनुसन्धान अधिकृहरुसँग माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महराले चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्वीकारेका छन्।

९ चैत, २०८०, १३:५७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।