कार्यकर्तालाई ओलीले भने- 'फेसबुकमा काम न काजमा स्ट्याटस लेख्छन्, हामीले गरेको कामको प्रचार गर्दैनन्'

कार्यकर्तालाई ओलीले भने- 'फेसबुकमा काम न काजमा स्ट्याटस लेख्छन्, हामीले गरेको कामको प्रचार गर्दैनन्'

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०७९ को निर्वाचनमा काठमाडौंमा आफूहरूले गरेका कामहरूको प्रचार नगरेकाले पराजित भएको बताएका छन्।

बुधबार काठमाडौं एमाले जिल्ला कमिटीको कार्यकर्ता भेलामा उनले ०४८ को चुनावमा नै पाँचमध्ये चार वटा निर्वाचन क्षेत्रमा जितेको एमालेको पराजय स्वीकार्य नहुने बताए।

'पछिल्लो निर्वाचनमा १० प्रतिशतको हैसियतमा झर्याैं। १० निर्वाचन क्षेत्रमध्ये एउटा मुस्किलले जितियो। यस अवस्थालाई बदल्नैपर्छ। काठमाडौंमा यस्तो खालको पराजय स्वीकार्य हुन सक्दैन,' उनले भने।

उनले आफूहरूले काम गरेर पनि प्रचार नगरेको तर अरूले कामै नगरी प्रचार गरेको बताए।

'काठमाडौंमा हामी किन हार्यौं भने के काम गर्याैं भन्ने प्रचार नै गरेनौँ। अरुले केही काम गर्दैनन्,' ओलीले भने, 'हामीले ठूला ठूला काम गर्यौं।'

उनले आफ्ना कार्यकर्ताहरूलाई फेसबुकमा काम न काजका स्ट्याटस लेख्ने गरेको भन्दै आक्रोश पोखे।

साथीभाइसँग चित्त नबुझे सुइरो बनाएर घोच्ने स्टाटस लेख्ने गर्ने तर आफ्नो पार्टीले गरेको कामको प्रचार नगर्ने गरेको भन्दै कार्यकर्ताप्रति आक्रोश पोखेका हुन्।

उनले कार्यकर्तामा अहंकार भन्ने चिज रहन नदिन आग्रह गर्दै भने, 'हामीमा अहंकार भन्ने चिज हुनुहुँदैन। नामो निसान हुनुहुँदैन। अहंकार कसैमा बस्यो भने अरु चित बाँकी रहँदैन।'

७ चैत, २०८०, २१:५९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।