उपनिर्वाचन इलाम-२ : कांग्रेसले गर्यो उम्मेदवारको नाम सिफारिस, रास्वपा प्राइमरी इलेक्सन गर्दै

उपनिर्वाचन इलाम-२ : कांग्रेसले गर्यो उम्मेदवारको नाम सिफारिस, रास्वपा प्राइमरी इलेक्सन गर्दै

काठमाडौं : आउँदो वैशाख १५ गते हुने प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले उम्मेदवारको नाम सिफारिस गरेको छ।

मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले पठाएको नामहरू जिल्ला र प्रदेश कार्यसमितिले रायसहित केन्द्रमा पठाउनेछ।

क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार विधानले दिएको अधिकार र व्यवस्था अनुसार आकांक्षीहरुको नाम पठाइएको हो।

सभापति इदिङ्गोले भने, ‘क्षेत्रीय समितिको बैठकबाट पहिलो नम्बरमा महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि भेषराज आचार्यको नाम समावेश गरेर पठाएका छौं। दोस्रो नम्बरमा पूर्वसांसद केशव थापाको नाम सिफारिस गरेका छौं।’

त्यस्तै, क्रमशः जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस गरिएको पनि उनले जानकारी दिए। बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेर पठाइएको उनले बताए।

कांग्रेसबाट मुख्यगरी आचार्य, थापा, सभापति खड्का र कुमाल मुख्य आकांक्षीका रुपमा दौडधुपमा छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम-२ को उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न प्राइमरी इलेक्सन गर्ने भएको छ।

रास्वपाले विधानको धारा ७१ बमोजिम सञ्चालन गर्न निकालेको प्रारम्भिक निर्वाचनको तालिका अनुसार चैत ६ देखि १४ गतेसम्म उम्मेदवारका आकांक्षीले आवेदन दिन सक्नेछन्।

प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशन चैत १४ गते प्रकाशन गरिने रास्वपाले जनाएको छ। ⁠चैत १४ देखि १५ गतेसम्म प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय निर्धारण गरिएको छ।

१५ गते साँझ ५ बजे सम्म उम्मेदवारसँग छलफल गरिने र त्यही दिन राति ८ बजे उम्मेदवारको अन्तिम नामावली निकालिने बताइएको छ। चैत १६ गते मतदानको कार्यतालिका रहेको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ।

प्रारम्भिक निर्वाचनका लागि त्यस क्षेत्रका पार्टी सदस्यहरूले मतदान गर्नेछन्। उम्मेदवारी दर्ता, मतदान रास्वपाको मोबाइल एपमार्फत् हुनेछ।

एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

६ चैत, २०८०, २०:३६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।