बेनिशा पौडेलको प्रिय दश सुर : अल्मोडा दाइसँग भोकल मिल्दैन कि जस्तो लाग्या थ्यो, ‘पटुकी बेरेको’ राम्रै चल्यो

बेनिशा पौडेलको प्रिय दश सुर : अल्मोडा दाइसँग भोकल मिल्दैन कि जस्तो लाग्या थ्यो, ‘पटुकी बेरेको’ राम्रै चल्यो

बेनिशा पौडेलका अधिकांश गीतहरू चर्चामा छन्। फिल्मका होस् या आधुनिक गीतहरूले चर्चा कमाइरहेका बेला बेनिशा ‘नेपाल आइडल ४’ मा सहभागी भइकी थिइन्।

उक्त प्रतिस्पर्धामा उत्कृष्ट सातबाट बाहिरिएकी बेनिशाले अहिलेसम्म दुई सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन्। स्टेज कार्यक्रममा पनि उतिकै व्यस्त रहेकी उनले आफूलाई प्रिय लाग्ने आफ्ना पाँच गीत र अरूका पाँच गीत यसरी रोजेकी छन्।

आफ्ना पाँच
जहाँ छुन्छु, त्यहि पाउँछु 
मलाई यो गीतको मेलोडी एकदमै मनपर्छ। यो गीतको शब्द संगीत सुन्ने बितिक्कै ‘अहो, कस्तो राम्रो गीत गाउन पाएँ’ भन्ने लागेको थियो। यो गीत म आफूले गाएर सुन्दा पनि आफ्नो आवाज एकदमै राम्रो लागेको थियो।

यो गीत स्रोता दर्शकमाझ आएपछि उहाँहरूले पनि एकदमै मन पराइदिनुभएको हुनाले यो गीत मलाई प्रिय लागेको हो। टिकटक र सामाजिक सञ्जालमा पनि उतिकै मात्रामा रुचाइदिनुयो। यस गीतको शब्द रचना मन्दिरा ढुङ्गेल दिदीको हो भने संगीत दीपक शर्माको छ। यो गीतमा म निशान भट्टराईले गाएका छौँ।

हाम्रो यो माया कहिल्यै नछुटोस्
यो गीत मलाई गाउन दिनुभएको बेला मैले गाउन सकेको थिइनँ। गीत एकदमै मन परेको थियो। तर भोकलले मलाई साथ दिएन। ‘मैले नै गाउँछु तर केही दिनपछि रेकर्ड गरौं न’ भन्दा उर्गेन दोङ दाइले मान्नुभयो। पछि मैले नै गाएँ। गीत एकदमै राम्रो पनि भयो। स्रोताहरूले पनि एकदमै मन पराइदिनुभएको छ। त्यसकारण पनि यो गीत मेरो लागि एकदमै प्रिय छ। यो गीतको शब्द संगीत उर्गेन दोङ कै रहेको छ।

सम्बन्ध
यो गीतमा हामी तीन जना गायिका र एक जना गायकको स्वर छ। यो गीत मैले, एलिना चौहान, सुजता बर्मा र बसन्त सापकोटाले गाएका छौं। तीन दिदीबहिनीको माया र स्नेहसँग गाँसिएको कारण पनि मलाई यो गीत मनपर्छ। दिदी बैनीको प्रेममा अभिभावकको रूपमा अथवा बुवाले छोरीहरूलाई गर्ने मायाको कुराहरू गीतको भाव र शब्दमा समेटिएको छ। यो गीतले स्रोता दर्शकमाझ राम्रो सन्देश समेत दिएको हुनाले यो गीत मलाई प्रिय लाग्छ।

पटुकी बेरेको 
मैले आधुनिक गीतहरू गाइरहेको अवस्थामा यो फरक गीत गाउने अवसर पाएँ। यो गीतमा मेरो भोकल सुहाउँछ कि सुहाउँदैन भन्नेमा कन्फ्युजमा थिएँ। अल्मोडा राना उप्रेतीको शब्द संगीत र उहाँसँगको स्वरसँग मैले गीत गाउँदाखेरि मेरो भोकल पनि फरक लाग्यो। अल्मोडा दाजुले के-के टेक्निङ दिएर गाउन सिकाउनुभयो। यो गीत गाइसकेपछि फरक खाल्का गीत पनि गाउनसक्ने रैछु भन्ने लाग्यो। त्यसकारण पनि यो गीत मलाई प्रिय लागेको हो।

खुल्ला आकाश 
यो गीतमा मेरो आफ्नै शब्द संगीत र स्वर रहेको छ। सुरूमा मलाई यो गीतको शब्द कोर्दा त्यति मिठास लागेको थिएन। जब आफैँले कम्पोज गरेर रेकर्ड गराएँ, त्यसपछि भने असाध्यै मनपर्यो। स्टेज कार्यक्रममा पनि मैले यो गाउने गरेको छु। स्रोता दर्शकहरूले असाध्यै मन पराइदिनुभएको छ। यो गीत मेरो लागि यसै पनि प्रिय छ।

अरुका पाँच
पर लैजाउ फूलहरू 
मैले प्रायजसो घरमा होस् या कार्यक्रममा गुनगुनाइरहने मध्ये एक गीत हो। यो गीतको शब्द संगीत र स्वर एकदमै मनपर्छ। राजेन्द्र थापाको शब्द रचना रहेको यो गीतलाई प्रेमध्वज प्रधानले गाउनुभएको छ। यो गीतको संगीत नातिकाजीले गर्नुभएको छ।

एक्लै बस्दा
यो गीत चाहिँ कहिलेकाँही मसँग मिल्छ जस्तो लाग्छ। किनभने म एक्लै बसिरहेको हुन्छु। अनि मेरो फेवरेट गायिका अरुणा लामाको स्वर भएर पनि होला एकदमै प्रिय लाग्छ यो गीत। प्राय अरुणा लामाका गीतहरू गुन गुनाइरहेर पनि होला यो गीत एकदमै मलाई प्रिय लाग्छ। देव बज्रचार्यले लेख्नुभएको यो गीतलाई गणेश रत्नले संगीत गर्नुभएको छ।

पोहोर साल खुसी फाट्दा 
मैले स्कुलमा होस् या घरमा बस्दा एकदमै गुनगाउने गीत हो यो। त्यतिबेला मैले यो गीत गुनगुनाउँदा शब्द बुझेर कहिल्यै गाउँदिनथेँ। नबुझेर नै लय र स्वर मन परेको हुनाले गुनगुनाउँथेँ। कुनै-कुनै गीतहरू विनाकारण नै मनपर्ने हुन्छ नि! हो त्यसैगरि यो गीत मलाई मनपरेको थियो। जब मैले गीतको भाव र शब्द बुझेँ त्यसपछि झनै राम्रो लाग्यो। राजेन्द्र थापाले लेख्नुभएको गीतमा अम्बर गुरुङको संगीत छ।

कुन मन्दिरमा जान्छौँ यात्री
यो गीतको शब्दले हरेकलाई सकारात्मक सन्देश दिने खाल्को छ। कहिलेकाहिँ मैले गुनगुनाइरहँदा पनि बेग्लै आनन्दको अनुभुति हुन्छ। यो गीत महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको हो। रबिन शर्माले गाउनुभएको गीतमा रन्जित गजमेरको संगीत छ।

घुमी घुमी
सुजन चापागाई र शान्तीश्री परियारले गाउनुभएको यो गीतको मेलोडी एकदमै मनपर्छ। सुजन दादाले यो गीत यति मीठो बनाउनुभएको छ कि म शब्दमा बयानै गर्न सक्दिनँ। शब्द, संगीत र स्वर उस्तै राम्रो बनेको गीतमा। कुनै-कुनै गीत मुटुमै छुने खालका हुन्छन् नि, हो यो गीत पनि त्यस्तै हो। पछिल्लो समय अलिक बढि मैले सुन्ने गीतहरूमा पनि यो पर्छ। गीतको शब्दलाई हर्क साउदले लेख्नुभएको हो।

६ चैत, २०८०, १४:०१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।