चाइनिज भिडियो हेरेर मुर्ति बनेका दावाको पहिलो दिनको कमाइ १७ हजार, पहिला सिल्भर म्यान, अहिले त गोल्डेन

चाइनिज भिडियो हेरेर मुर्ति बनेका दावाको पहिलो दिनको कमाइ १७ हजार, पहिला सिल्भर म्यान, अहिले त गोल्डेन

मूर्ती बनेर उभिने दावा लामाको पेशा हो। कुनाकाप्चा उनको 'अफिस'। भीडभाड छल्दै कुनामा मेकअप गरेर मुर्ति जस्तै दैनिक पाँच घण्टासम्म उभिने उनको काम। उनी त्यतिबेलासम्म कोहीसँग बोल्दैनन्, हाँस्दैनन्। 

'मुर्ति कि मान्छे' भनेर उनको नाकमै लगेर औँलाले स्वासको गति नाप्न खोज्नेहरु पनि हुन्छन्। त्यसबेला उनी सास पनि रोकेर बसिदिन्छन्। तीन वर्षदेखि उनको दैनिकी यसरी नै चलिरहेको छ। प्राय जुन ठाउँमा बस्ने हो, त्यही आफैं सजिन्छन्। अबेर भयो भने कोठाबाटै तयार भएर पठाओ गरेर आइपुग्छन्।

'अलिकति ढिला भयो भने कोठामै तयार भएर जान्छु। नत्र त जहाँ बस्ने हो त्यतै गएर तयार हुन्छु,' उनी भन्छन्, 'केही ठाउँमा त साथीहरू पनि छन्। तयार हुन उनीहरुकोमा जान्छु, नत्र त्यहाँ पनि भएन भने कुनामा एकैछिनमा तयार भइहाल्छु। लगाउने भनेको अनुहारमा मात्र त हो। ऐना हेरेर पाउडर पानीमा भिजाएर दलिहाल्छु। लुगामा त जाने दिनअघिनै लगाएर राखेको हुन्छु। त्यसले केही असर गरेको छैन।'

मुर्ति बनेपछि उनी केही खाँदैनन्। यसको लागि उनी तयारी गरेरै निस्कन्छन्। मुर्ति बन्ने दिन कोठाबाट निस्कँदा अलिकति भिजाएको गेडागुडी खाएर निस्कन्छन्, त्यत्ति हो। पिसाब लाग्छ भनेर पानी पनि पिउँदैनन्। दिनभर घाममा उभिएपछि कोठामै गएर खान्छन्। 

प्राय दुई बजेपछि उनी काठमाडौँको स्वयम्भू, पशुपति र रत्नपार्क लगायतको ठाउँमा देखिन्छन्। शनिबार भने बिहानै निस्कन्छन्।

'घाम लाग्यो भने आफैंलाई गाह्रो हुन्छ। अनि मान्छेहरू पनि त घाममा निस्कँदैनन्,' उनले सुनाए, 'प्राय बुढापाकाले अनि बच्चाहरूले दामी नै भन्छन्। मन पराउँछन्। तीन वर्ष भयो, अहिलेसम्म मलाई पब्लिकले हँसाउन सकेको छैन। उनीहरुले हँसाउनको लागि कानमा आएर अनेक भन्छन्। तर म ड्युटीको समयमा केही सुन्दै सुन्दिनँ। ध्यान गरेको जस्तै हो। कता-कता पो पुगेको जस्तो हुन्छु।'

केही दर्शकले त उनलाई गालामा समेत हिर्काउँदा रहेछन्। केही दिनअघि मात्र सालिनादीको मेलामा दावा पुगेछन्। त्यहाँ एकजना वृद्धले उनलाई गालामा हानेको दावाले बिर्सिएका छैनन्। अनि स्वयम्भूमा चैं एकजना बच्चाले गालामा हानेका रहेछन्। अन्यत्र त सामान्य नै हो।

तर नेपालमा मुर्तिनै बनेर उभिनेहरु भने कमै छन्। मूर्तीबन्दाको दावाको अनुभव रमाइलै रहेछ।

'बुटवलमा मुर्ति भनेर फोटो खिचौँ भनेर  बहिनीहरु आए। उनीहरुले फोटो खिच्न थाले। म यसो चल्दिएको, फोटो खिच्ने मान्छे भागिहाले। बीचकी बहिनी पुक्लुक्कै ढलिन्। त्यसबेला झन् भीडभाड भयो। डर पनि लागेको थियो,' उनले हाँस्दै भने।

पीडादायी बाल्यकाल !

सिन्धुलीमा जन्मिएका उनी सानैमा घर छोडेर गलैँचा बुन्न काठमाडौँ आए। सानैमा आमाबा बिते। परिवार पनि धेरै। उनी सन्तान मध्येमा अन्तरेमा पर्छन्।

खेतिपाती बाहेक अन्य केही काम नहुँदा धेरै दिन भोकै सुतेको उनले बिर्सिएका छैनन्। दशैँको टीकाको दिन मात्र भात खान पाउँथे। अरु बेला पायो भने मकै र कोदोको खोले नुनसँग खान पर्थ्यो।

उनको गाउँमा स्कुल पनि धेरै थिएनन्। अलि टाढा दुरीमा एउटा स्कुल थियो। त्यो पनि तामाङ भाषा बोल्ने गाउँमा नेपालीमा पढाइ हुन्थ्यो। भाषाले  पढ्न गाह्रो भएपछि उनले स्कुल छाडे। अहिले पनि कसैले मोबाइल नम्बर माग्यो भने उनलाई गाह्रै पर्छ।

त्यत्तिकैमा गाउँकै आफन्त ठेकेदारसँग काठमाडौँमा गलैँचा कारखानामा काम गर्ने भनेर आए। उमेर १० वर्ष पनि पुगेको थिएन। 

त्यसबेला बौद्ध, जोरपाटी लगायतका थुप्रै ठाउँमा बाल मजदुरको प्रयोग हुन्थ्यो। उनले बौद्ध, जोरपाटी मात्र नभएर नयाँवस्ती, दक्षिण ढोका, मुलपानी, चाबहिल सबै ठाउँमा गलैँचा बुने।

त्यहीबेला एउटी केटी मन परिन्। १६ वर्षको उमेरमा विवाह पनि गरे। उनकी श्रीमती सिन्धुपाल्चोक, मेलम्चीकी तामाङनी थिइन्। दुवै जना मिलेर गलैँचा बुन्नेदेखि  ठेलामा म:म बेच्ने, चटपटे बेच्नेसम्मको काम गरे।

उनले नौबिसेको बसपार्कमा खाना बनाउने काम पनि गरेका छन्। ससुराली सिन्धुपाल्चोकबाट सुदूरपश्चिमको कैलालीमा सर्यो। अनि उनी पनि उतै गए। चलनचल्तीकाे शब्दमा भन्नु पर्दा उनी घर ज्वाँइ भएर पनि बसे। एक छोरा र दुइटा छोरी भए। 

'बिहेपछि उता (कैलाली) गएको। जग्गा पनि अलिअलि उतै छ। ऐलानी जग्गा हो। बुढीकै नाममा गरेर म हिँडेको। घरमा पनि अलि कुरा मिलेन । त्यै भएर बस्न मन नलागेर सबै छोडेर हिँडेको,' पीडासहित हाँस्दै उनले भने। 

पढाइ नभएकाले सजिलै पाउने काम मजदुरीकै थियो। अनि काम फेरेको फेर्यै हुँदा आम्दानी गतिलो हुने भएन। ससुरालीमा बस्दा उनलाई आफैंलाई पनि नराम्रो लागेको रहेछ।

'घरज्वाँइ भएर बस्न नहुने रहेछ'

श्रीमतीसँग मिलेर उनले अत्तरियामा  सानो खाजाघर खोलेका थिए। छोराछोरी पढ्दै थिए। तर, दावाको श्रीमतीसँग तनाव बढ्दै गयो।

मोबाइलमा धेरै जसो चाइनिज भिडियो आउँथ्यो, उनकोमा। जंगलमा गएर के-के खाएको, बनाएको लगायतको भिडियो आउँथ्यो। त्यहीबेला व्यक्ति मुर्ति भएर बसेको भिडियो पनि आइरह्यो ।

भिडियोबाट प्रभावित भएपछि अत्तरिया महोत्सवमा अलिकति चाँदी रंग लसपस गरेर उनी गए। अनुहारमा लगाउँदा कपडामा हल्का पोखिएको थियो। मेलामा पुगे। अनि एक घण्टा उनी नचली उभिरहे। त्यो भन्दा बढी उभिन सकेनन्।

'एक घण्टा उभिएको दुई हजार रूपैयाँ जम्मा भएछ। अनि मलाई यही काम ठिक लाग्यो। त्यतैबाट घर नगई बुटवल गएँ,' आफ्नो पहिलो प्रस्तुतिलाई सम्झिँदै उनले भने।

उनको केही तयारी थिएन। त्यै पैसाबाट अलि धेरै रंग किने। नयाँ वर्षको दिन थियो। भीडभाड देखेपछि त्यहाँका स्थानीयसँग अनुमती लिएर उभिएर बसे। जति सकिन्छ उभिएरै बसे। साँझसम्म जसोतसो उभिए तर, त्यसपछि खुट्टा दुख्न थाल्यो अनि आफ्नो बक्सा बोकेर घर फर्किए।

बेलुका पैसा गन्दा लगभग १७ हजार भएछ। त्यति धेरै पैसा देखेपछि उनी खुरुखुरु काठमाडौँ आए। घरमा कसैलाई केही नभनी आएका उनी त्यसपछि कैलाली गएका छैनन्।

'बुढीसँग त लगभग दुई वर्ष बोलिँन। हाम्रो होटल के भयो भनेर पनि सोचिँन। ससुरालीमा बस्नु राम्रो होइन रहेछ। बुढीसँग त किचकिच भइनैहाल्यो, उनको परिवारसँग पनि झगडा हुन थालेपछि बस्न मन लागेन,' मधुरो आवाजमा उनले भने।

काठमाडौँ आएपछि उनले नयाँ कपडा किने। पाउडर किने। अनि सानो कोठा पनि लिए। नजिकै स्वयम्भू भएकाले उनले त्यहीँबाट काम सुरू गरे। दैनिक चार/पाँच हजार त उनको आरामले हुन्थ्यो।

'पब्लिकले झन् मन पराए। झन् खुसी लाग्यो। त्यसपछि मैले झन् मिहिनेत गरे। पैसा भएपछि धेरै परिवर्तन गर्न सकिने रहेछ भन्ने लाग्यो। पहिला त कोट-पाइन्ट अनि ढाका टोपी लगाए। पछि गर्दा गदै कवि भानुभक्त बने। रामायण लेखेर बोके। त्यसपछि त सबैले नेपाली मुर्ति भने। अहिले पनि धेरैले मन पराइरहनु भएको छ। खुसी लाग्छ,' उनले एकै स्वासमा भने।

'सिल्भर म्यान' बाट 'गोल्डेन म्यान'

एक वर्षअघि सम्म टिकटकको क्रेजले गर्दा उनीसँग टिकटक बनाउन आउनेहरूको घुइँचो लाग्थ्यो। घन्टौं लगाएर टिकटक बनाएपछि उनका दर्शक जान्थे। अनि भिडियो हाल्थे। उनको पनि प्रचार भइरहेको थियो।

तर टिकटक बन्द भएपछि भने त्यति धेरै घुइँचो नभएको उनले महसुस गरेका रहेछन्। त्यही भएर उनी दर्शकसमक्ष पुग्न जहाँ-जहाँ भिड हुन्छ त्यही जान थालेका छन्। पशुपतिमा उनलाई खासै बस्न नदिइने रहेछ। त्यसैले उनी पशुपतिको गेट भन्दा पर उभिने गर्छन्।

'एकचोटि त समाएर डोनेसन बक्स लगेर गएको थियो। अबदेखि यस्तो नगर्नु भनेर पछि फिर्ता दिए। भित्र नआउनु भने। स्वयम्भूमा पनि एकपटक नगरपालिका आएर किचकिच गरेको थियो', उनले भने।

त्यही भएर उनी एकै ठाउँमा बसिराख्दैनन्।  चाँदी रंगको मुर्ति भएर बस्दा उनी 'सिल्भर म्यान' भनेर चिनिन थालेका थिए। तर अहिले भने उनी सुनको रंग लगाएर बस्ने गर्छन् ।

'मैले सुरुमा नजानेर शरीरमा स्प्रेनै प्रयोग गरेको थिएँ। त्यो गर्दा त पोल्ने रहेछ। पछि पाउडर लगाउन थालेको छु। सिल्भर प्रयोग गर्दा सिल्भर म्यान रे। अहिले त गोल्डेन म्यान भन्छन्। तर अझै मलाई चेन्ज गर्न मन छ,' उनले भने।

सधैं मुर्तिमा देखिरहेका उनलाई सक्कली भेषमा भने कसैले चिन्दैनन्। अहिले उनी ललितपुरको भैंसेपाटी भन्दा माथि चुनिखेल नपुग्दै भण्डारी पाटीमा बस्छन्। कैलालीमा श्रीमतीलाई बेलाबेला खर्च पठाउँछन्। तर श्रीमतीसँग भने उनी एक भएर बस्न सकेनन् ।

नयाँ जीवन, नयाँ योजना

अहिले उनले नयाँ विवाह गरिसके।

'उनले पनि दुख पाएको रहिछन्। बुढाले छोडेको। धेरै रक्सि खाएर पिटेको पिट्यै गर्ने रहेछन्। एउटा धर्म न हो,' उनले हाँस्दै भने, 'बाँचुन्जेल साथ दिन्छु भनेर बसेको छु। उनको पनि छोरा दुइटा, छोरी एउटा छ। धेरै दुख गर्छिन् उनी।  उनको दुख सुनेर मलाई पनि नराम्रो लाग्यो। मलाई पनि साथी भयो। अर्कालाई साथ दिने भनेर बसेका छौं।'

उनीहरुको नौ वटा जति बंगुर पनि छन्। दाजुभाइ सबै सिन्धुलीतिर नै छन्। तर बोलचाल भने हुँदैन। कैलालीमा ऐलानी जग्गाको लालपूर्जा आउने कुरा उनले सुनेका रहेछन्। तर त्यो जग्गासहित बजारमै भएको घडेरी पनि श्रीमतीकै नाममा थियो।

'मलाई केही पनि चाहिँदैन। उनले आफ्नै गरेर खान्छिन्। बच्चाहरू सबै ठूला भइसके। उनीहरू पनि खासै बोल्दैनन्। बुढी पैसा पठाएको बेला बोल्छिन्। ठिकै छ अब सबैले आफ्नो-आफ्नो गरेर खाने त हो,' उनले भने।

उनले यहीँ पनि खाजा घर खोलेका थिए। तर प्राय बाहिर बाहिरै हुनुपर्ने भएपछि बेचिदिए। अहिलेको श्रीमतीले बंगुर पाल्ने गर्छिन्, त्यसकै लागि फार्मको तयारी गर्दैछन्। मुर्ति नबनेको बेला उनले पनि श्रीमतीलाई काममा सघाउँछन्।

हरेक दिन पाँच घण्टा उभिएर बस्न सम्भव हुँदैन। त्यही भएर हप्तामा पाँच दिन उभियो भने बाँकी दुई दिन उनी आराम गर्छन्। पानी कम खाएको हुनाले पेट चैं बेलाबेला असाध्यै दुख्छ रे उनलाई।

'के गरौं पानी खायो भने फेरि पिसाब फेर्ने जानैपर्छ। पिसाब च्याप्यो भने फेरि किड्नी खराब होला भन्ने डर। बेलुका त खान्छु तर नपुग्ने रहेछ। पत्थरी हुन लाग्या हो कि जस्तो पनि लाग्छ,' उनी भन्छन्, 'दर्शकहरूले तपाईंलाई यो त शक्तिनै दिएको रहेछ भन्नुहुन्छ। कोहिले मुर्ति भनेर ढोगेर जानु हुन्छ। कोहिले आशीर्वाद दिएर जानु हुन्छ। जे भए पनि इमान्दारीपूर्वक काम गर्नु परि नै हाल्यो। जति दिन चल्छ, यसैगरी चलोस्।'

पछिल्लो समय विभिन्न टेलिफिल्ममा पनि उनले काम गरिरहेका छन्। उनी ४० वर्षको हुन लागे। यो काम सधैं गर्न सकिन्छ जस्तो नलागे पनि जहिलेसम्म सकिन्छ गर्ने उनको इच्छा छ ।

'नगरपालिका, स्थानीयले हटाएन भने राम्रै छ। हाम्रोमा यस्तो कलाकारिता नयाँ त होइन। तर सबैले नयाँ मान्नु भएको छ। धेरैले त बुझेका पनि छैनन्। केहीले माग्नेको नयाँ स्टाइल पनि भनेको सुनेको छु। त्यो बेला चित्त दुख्छ। अहिले त बेलुका धेरै थाकेको जस्तो महसुस हुन्छ। तर पनि अझै दुई/तीन वर्ष त गर्छु भनेर आँटेको छु,' उनले भने ।

नसक्ने भएपछि ठूलो फार्म खोल्ने उनले योजना बनाउँदै छन्। जसमा बंगुर सँगै बट्टाइ र हाँस हाल्ने सोचेका छन् । उनी बस्ने ठाउँमा अझै पनि ठाउँ खालि नै छ। त्यही भएर जग्गा भाडामा लिएर पशुपालन गर्ने उनले श्रीमतीसँग योजना बुन्दै छन्।  'उ पनि धेरै मिहिनेती छ। जहाँ धेरै बस्यो त्यही रमाइलो लाग्ने रहेछ। जति सकिन्छ मुर्ति बन्ने। अलिअलि पैसा जम्मा गरेपछि पशुपालनमा तिर लाग्ने सोच बनाउँदै छ,' उनले भने ।

५ चैत, २०८०, १९:५४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।