प्रदेशमा मन्त्री बनाउने होडबाजी, गण्डकीमा स्वतन्त्र मन्त्रि बन्दा मधेसमा एमाले सरकारमा

प्रदेशमा मन्त्री बनाउने होडबाजी, गण्डकीमा स्वतन्त्र मन्त्रि बन्दा मधेसमा एमाले सरकारमा

काठमाडौँ : केन्द्रमा सत्ता समीकरण बदलिए पनि बहुमतको अभावमा प्रदेशहरूमा सरकार गठन सहज नबन्दा सरकारको नेतृत्व गरिरहेका दलहरूबिच नयाँ-नयाँ मन्त्री थप्ने होडबाजी सुरु भएको छ।

सरकार जोगाउन मुख्यमन्त्रीहरू बहुमतको लेखाजोखा गर्दै मन्त्रीहरू थप्न सक्रिय छन्। सोमबार मधेस प्रदेशको सरकारमा एमालेको प्रवेश भयो। एमाले संसदीय दलका नेता सरोज कुमार यादव भौतिक पूर्वाधार मन्त्रीको रूपमा सरकारमा सहभागी भए।

सोमबार उनले प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। सरकारमा एमालेलाई प्रवेश गराउनु अगाडि यस अगाडिको सत्ता सहयात्री नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री बनेका कृष्णप्रसाद यादवलाई बर्खास्त गरेका थिए। जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले कांग्रेसका मन्त्रीलाई बर्खास्त गरेर एमालेका सांसदलाई मन्त्री बनाएका थिए।

उता गण्डकीमा भने राजीव गुरुङ( दीपक मनाङे) स्वतन्त्र सांसदको रूपमा सरकारमा सहभागी भए। कांग्रेसबाट मुख्यमन्त्री भएका सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री बनाए।

भौतिक पूर्वाधारमा यसअघि माओवादी केन्द्रकी रेशम जुग्जाली मन्त्री भए पनि उनलाई मुख्यमन्त्रीले बर्खास्त गरेका थिए। सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने महेन्द्रध्वज जिसीले पाएका छन्।

सुदूरपश्चिममा सरकार जोगाउन मुख्यमन्त्रीले नागरिक उन्मुक्ति पार्टीबाट मात्रै पाँच जनालाई मन्त्री बनाइसकेका छन्। सुदूरपश्चिमको सरकारमा कांग्रेसका मुख्यमन्त्री रहेका छन्।

५ चैत, २०८०, १८:३६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।