झरना भन्छिन्- पत्रकारलाई पैसा खुवाएर प्रचार गर्दैमा फिल्म चल्दैन

झरना भन्छिन्- पत्रकारलाई पैसा खुवाएर प्रचार गर्दैमा फिल्म चल्दैन

काठमाडौं : कला पत्रकारितामा कुन विज्ञापन हो कुन चैं समाचार हो झुट्याउनै गार्हो हुन्छ। फिल्मकर्मीको आर्थिक प्रलोभन कला क्षेत्रमा प्रत्यक्ष देखिन्छ। हल सुनसान हुन्छ तर सुपर हिटका हेडलाइन आउनु सामान्य हो। 

उसो त कतिपय निर्माता तथा निर्देशकहरू पनि आफ्नो फिल्मले आक्रामक सुरुवात गर्यो भनेर देखाउन दुई/चार वटा हलको टिकट आफैँ पनि किन्नु नौलो रहेन नेपाली फिल्म वृत्तमा।

फिल्म ‘ए मेरो हजुर २’का सिक्वेल बनाएको बेला मौनप्राय बसेकी निर्देशक झरना थापाले आइतबार मुखै फोरर यसबारे बोलिन्।

पछिल्लो फिल्म ‘एक भगवत एक गीता’ रिलिजको समयमा हलमा दर्शक नआएपछि केही मिडियालाई प्रचारका लागि खर्च गरेको उनले बताइन्। उनले पत्रकारको गोजीमा पैसा दिएर लगानी गरेको हो या विज्ञापनको रुपमा भने खुलाइनन्। यद्यपि त्यति गर्दा पनि फिल्म चलाउन पार नलागेको उनको अनुभव रहेछ।

सिक्वेलभन्दा फरक विषयमा फिल्म बनाउँदा आफ्नो फिल्म फ्लप भएको उनले स्वीकारिन्। फिल्मका निर्माता तथा निर्माण टिमले पत्रकारलाई 'पैसा खुवाएर' आफ्नो फिल्म हिट भएको भन्न लगाउँदा पनि हलमा दर्शक नआउने अनुभव सुनाइन् उनले।

सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आइतबार भएको ‘निर्देशक हराएको सूचना’ विषयक अन्तरक्रियामा वक्ताका रूपमा उपस्थित थापाले जतिसुकै पैसा खुवाएर दर्शकका भीड देखाए पनि हुनेवाला केही नभएको टिप्पणी गरिन्।

उनले भनिन्, ‘हामी निर्माताले, चाहे पत्रकारले भयङ्कर राम्रो छ भनेर पैसा खाएर लेखेपनि चल्ने वाला छैन। सिधै कुरा।’

फिल्मको राम्रो सुरुवात गरेको छ भनेर देखाउन निर्माताहरूले एक/दुई वटा शोहरु चलेको भनेर झुक्याए पनि दर्शकहरुले चाल पाइसकेको बताइन्।

‘हामी जति उफ्रे पनि फिल्म हिट वा फ्लप बनाउने भन्ने दर्शकहरूकै हातमा छ। एक वा दुई शो झुक्याएर भयङ्कर छ भने पब्लिसिटी गरेका छन् कुनै–कुनै चलचित्रहरूले’ उनले थपिन्, ‘त्यसरी गर्दा एक वा दुई शो चलेको देखिन्छ, त्यसपछि दर्शकहरू देखिँदैनन्। दर्शकले झुक्याएको रैछ भन्ने थाहा पाइसके।’

उनले सबैभन्दा पहिला फिल्ममेकर मिल्न जरुरी रहेको बताइन्। 

५ चैत, २०८०, ०९:१६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।