पैसा देख्यो कि फिँज काट्ने 'मुन्ना' भन्छन् ' म खराब छैन'

पैसा देख्यो कि फिँज काट्ने 'मुन्ना' भन्छन् ' म खराब छैन'

काठमाडौँ : मैथली नाटक, रेडियो नाटक हुँदै ठुलो पर्दामा सहायक भूमिकामा जमेका अभिनेता रवीन्द्र झाका लागि जात्रा फिल्मको सिक्वेल फापेको छ।

फिल्म ‘जात्रा’को ‘मुन्ना’ चरित्रमा अभिनय गरेका उनी जात्रैजात्रा अनि महाजात्रासम्म आइपुग्दा स्थापित कलाकार भइसकेका छन्।

चैत ९ गते रिलिज मिति पक्का गरेको महाजात्रामा पनि उनी पुरानै क्यारेक्टरमा छन्। सङ्घर्ष गर्न मधेसबाट काठमाडौँ आएको पात्र परिबन्दमा परेर कस्तोसम्म काममा सहभागी हुन्छ भन्ने नै उनको पात्रको चरित्र चित्रण देखिन्छ।

‘मुन्ना सोझो पात्र भए पनि जिम्मेवारीले उसलाई प्रलोभनमा पर्न उत्प्रेरित गर्छ। मधेसबाट काठमाडौँ आएको मुन्नाको आवश्यकता बढ्दै गएपछि उसले साथीहरूसँग विविध काममा सहकार्य गर्छ। त्यसैको निरन्तरता महाजात्रा हो’,उनी भन्छन्।

परिस्थिति र परिबन्दले व्यक्तिहरूलाई कतिसम्मको गम्भीर अपराधमा संलग्न गराउँछ भन्ने कथालाई प्रदीप भट्टराइले हाँस्यरस मिसाएर फिल्म बनाउने गरेका छन्।

पहिलो फिल्म जात्रामा पैसाले निम्त्याउने लफडा पस्किएका उनले जात्रैजात्रामा सुनको कथा मिसाए। तेस्रो सिक्वेलमा उनले कालो धनको व्यवस्थापनको जिम्मेवारी आउँदा आफ्ना पात्रहरूले के कस्तो गर्छन् भन्ने विषय हाँस्यरसका साथ पेस गरेको देखिन्छ।

‘महाजात्रा’मा रवीन्द्र झासँगै हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय रहेको छ।

४ चैत, २०८०, २२:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।