राजेश हमाल लिएर फिल्म ‘सत्यम्’ बनाउने हल्ला गरेका निर्देशकले गरे ‘सिड्नी ब्लुज’को घोषणा, अभिनेता पुष्प अनुबन्धित

राजेश हमाल लिएर फिल्म ‘सत्यम्’ बनाउने हल्ला गरेका निर्देशकले गरे ‘सिड्नी ब्लुज’को घोषणा, अभिनेता पुष्प अनुबन्धित

काठमाडौँ : फिल्म ‘सत्यम्’निर्माणको हल्ला गरेका निर्देशक शंकर कार्कीले अर्को फिल्म ‘सिड्नी ब्लुज’ बनाउने घोषणा गरे। गत शुक्रवार टिमले अभिनेता पुष्प खड्कालाई अनुबन्धित गर्दै फिल्मको घोषणा गरेको हो।

कागजी सम्झौतापछि निर्माण टिम यतिबेला प्रि–प्रोडक्सनमा रहेको देखियो। निर्माण पक्षले फिल्ममा पुष्पसँगै अञ्जना बराइली, रवीन्द्र झा, शिव आर ठकुरीलगायतलाई अनुबन्धित गरेको जानकारी दिएको छ।

यही फिल्मबाट निर्देशक कार्कीले शिवलाई ‘डेब्यू’गराउन लागेका हुन्। निर्देशक कार्कीका अनुसार फिल्म २०२४ को जुनबाट छायाङ्कनमा जानेछ। फिल्मले विदेशी जीवन बिताउने युवाहरूको कथामा आधारित रहने उनले बताए।

निर्देशक कार्कीले फिल्मको छायाङ्कन अस्ट्रेलियामा ७० प्रतिशत र बाँकी नेपालमा गर्ने जानकारी दिए। यो फिल्मलाई ‘मिनेचर सेट’ र ‘प्रोस्थेटिक मेकअप’ प्रविधि प्रयोग गरिने निर्माण टिमले जानकारी दियो।

शिव आर ठकुरीको कथा रहेको फिल्ममा किरण घिमिरे(माइकल)को पटकथा, सुसन प्रजापतिको छायाङ्कन,प्रकाश हमालको निर्माण व्यवस्थापन रहने निर्माण पक्षले जनाएको छ।

आर्ट मुभिजको प्रस्तुतिमा डी मिडियाले निर्माण गर्ने फिल्मको रिलिज २०२४ को अन्तिम महिनामा हुने निर्देशक कार्कीले जानकारी दिए।

अभिनेता पुष्पले यसअघि फिल्म ‘कृष्ण लीला’ र ‘तिम्रो मेरो साथ’मा अभिनय गरेका थिए। यी दुवै फिल्म फ्लप भएपछि पुष्प फिल्म लाइनमा निष्क्रिय देखिएका थिए।

यता निर्देशक कार्कीले यस अगाडि ‘सत्यम्’ निर्देशक गर्ने घोषणा गरेका थिए। राजेश हमाल, पल शाह, उपासनासिंह ठकुरी लिएर फिल्म बनाउने घोषणा गरे पनि पुरा भएन।

४ चैत, २०८०, १८:०१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।