‘पुजार सार्की’का निर्देशकको फिल्म चलाउने फन्डा : आर्यनको क्लिप आफैं सार्वजनिक गरे, पछि आफैंले आपत्ति जनाए

‘पुजार सार्की’का निर्देशकको फिल्म चलाउने फन्डा : आर्यनको क्लिप आफैं सार्वजनिक गरे, पछि आफैंले आपत्ति जनाए

काठमाडौं : फिल्म चलाउन नेपाली फिल्मका निर्माता निर्देशक र कलाकारलाई कसले सिकाउनु पर्छ र?

फिल्म चल्ने हो कि होइन थाहा छैन तर उनीहरूलाई चर्चाका लागि फन्डा गर्न कसैले सिकाउनै पर्दैन। यस्ता फन्डाहरूमा नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीले अभिनेतासँग लभ परेको, ब्रेक गरेको समाचार बन्दै आएका थिए।

तर, फिल्मको छायांकन हुँदै गर्दा कसैले गीतको भिडियोको क्लिप युट्युबमा हालिदियो भन्दै आफैं फन्डा गरेको पहिलो चोटि होला, फिल्म ‘पुजार सार्की’को।

शुक्रबार सुटिङ स्पटबाट फिल्म ‘पुजार सार्की’को एक गीतमा नाचिरहेका अभिनेता आर्यन सिग्देल २४ सेकेण्डको भिडियो सार्वजनिक भयो। युट्युबदेखि सामाजिक सञ्जालमा यो भिडियो क्लिप बाहिरिएपछि निर्माण टिम लगायतले आपत्ति जनाए।

निर्देशक दिनेश राउतले भिडियो कसैले खिचेर सामाजिक सञ्जालमा हालिदिएको भन्दै आपत्ति जनाए। तर कुनै कारबाही गर्ने प्रोसेसमा लागेनन्।

बरु भाइरल भइरहेको २४ सेकेन्ड लामो भिडियोमा आफैं रमाउन थाले।

यतिमा मात्र निर्माण टिम सीमित रहेन, अभिनेता प्रदीप खड्का, आर्यन सिग्देलले आफ्नै फेसबुकको स्टोरीमा समेत राखे र रमाए। निर्देशक दिनेश राउतको भनाइ र गराइमा आकाश पत्तालको फरक देखियो।

उनीहरुकै योजनामा उनकै टिमबाट कसैले खिचेको भिडियो नियोजित रुपमा चर्चाका लागि हालिएको स्पष्ट देखिन्छ।

प्रदीपका निकट व्यक्ति सन्तोष कार्कीले आफ्नो युट्युब च्यानलमा भिडियो अपलोड गरेका थिए। यसैलाई निर्माण पक्षले दर्शकले अपलोड गरेको आरोप लगाए।

निर्देशकले आफूले फस्टलुक्सका लागि तयार पारेको कुरा नै बाहिर आएको भन्दै टाउको ठोकाए। तर अन्तमा उनीहरुकै फन्डा भन्ने बुझियो।

हुन त फिल्म चल्छ कि चल्दैन फन्डा भए पनि गर्दिउँ न भन्ने लागेर पो कि? खैर, जे भए पनि फन्डा त गजबै गरियो भन्ने लाग्दो हो निर्माण टिमलाई।

तर खै भोलिका दिनमा नि यस्तै फन्डा भयो भने बाख्रा बाघले खायो भनेर झुट बोलेको कालेको कथा जस्तै होला नि निर्देशकज्यू!

साँच्चिकै बाघले बाख्रा खाँदा गाउँले नगएको कथा जस्तै भयो भने त तनाव होला नि? कि कसो?

४ चैत, २०८०, १५:२८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।