सहकारी पीडितले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

सहकारी पीडितले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

काठमाडौं : आक्रोशित सहकारीका बचतकर्ताहरूले गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले संस्थाहरूमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने मागसहित टेकुस्थित जिल्ला प्रहरी परिषद् अगाडि मन्त्रीहरूको राजीनामा माग्दै प्रदर्शन गरेका हुन्।

उनीहरूले बचतकर्ताको पैसा हिनामिना गर्ने सहकारी सञ्चालकमाथि कारबाहीको मागसमेत गरेका छन्।

प्रदर्शनमा सहभागी पीडित सोभा सिग्देलले सहमति भएको सात बुँदा अनुसार एउटा काम पनि नभएको भन्दै यस्तो अन्याय गर्न नपाउने बताइन्।

उनले भनिन्, ‘हामीलाई गृह मन्त्रालयबाट गोली हान्ने आदेश आयो रे। हामीले कसको घर बिगारिदिएका छौं। कसको सम्पत्ति लुटेका छौँ। हामीलाई यो आदेश किन आयो, हाम्रो पैसा खाइदिने, हामी न्याय मागेर ६३ दिन रोडमा भोकै बस्दा केही आदेश आएन। सहमति गराइयो। सात बुँदेमा एउटा काम पनि नगर्ने, अहिले आएर यस्तो आदेश दिने? यो कस्तो भ्रष्टाचार हो? यो अन्याय हो यस्तो गर्न पाइँदैन।’

यस्तै अर्का पीडित खिन्तबहादुर खड्काले नयाँ गृहमन्त्रीले आफ्नो रङ देखाएको भन्दै अब राज्यबाट केही भएन भने सहकारीका सञ्चालकहरूलाई सडकमा ल्याएर बेइज्जत गर्न तयार भएको पनि बताए।

उनले भने, ‘यदि राज्यले यी ठगहरूलाई सजाय दिँदैन भने भोलिबाट नै आफ्नो आफ्नो सहकारीका सञ्चालकहरूलाई सडक ल्याएर बेइज्जत गर्न तयार छौँ। अहिलेको गृहमन्त्रीले आफ्नो रङ देखाइसकेका छन्। उनी आफैँ सहकारीको दाग लाग्दा–लाग्दै गृहमन्त्रीमा आएका छन्।’

२ चैत, २०८०, ११:१५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।