उदयपुर दुर्घटना अपडेट : क्षमताभन्दा बढी यात्रु भएपछि दुर्घटना भएको थियो जीप, ८ जना मृतकको सनाखत, ९ घाइते

उदयपुर दुर्घटना अपडेट : क्षमताभन्दा बढी यात्रु भएपछि दुर्घटना भएको थियो जीप, ८ जना मृतकको सनाखत, ९ घाइते

काठमाडौं : उदयपुरको बेलका नगरपालिका -७ मैनामैनीमा बिहान आज भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ।

धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको यात्रीवाहक जीप दुर्घटनामा ७ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो। धरानमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सुदीपराज पाठकका अनुसार ९ जना घाइते भएका छन्।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका-९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका-२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, ६ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी-५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी-९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी-५ का ४२ वर्षीय किशन राई रहेका डीएसपी पाठकले जानकारी दिए।

उपचारका क्रममा किशन राईको मृत्यु भएको हो।

साथै, दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

इलाका प्रहरी कार्यालय घोरेटारबाट सात र हसनपुरबाट पाँच गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको डीएसपी पाठकले जानकारी दिए।

घाइतेको पनि विवरण लिने कार्य भइरहेको प्रहरीले जनाएको छ।

धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेको को १ ज २५९३ नम्बरको जीप बिहान १०ः३० बजेतिर मैनामैनीमा दुर्घटना भएको थियो।

जीपमा क्षमताभन्दा बढी यात्री सवार रहेकाले दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ।

१ चैत, २०८०, १८:५७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।