‘पशुपति प्रसाद’को अफर नकारेका देवेन्द्र शर्माको हिजोका कुरा : गोरखापत्रमा फोटो छापिएपछि जागिर नै धरापमा पर्‍यो नि!

‘पशुपति प्रसाद’को अफर नकारेका देवेन्द्र शर्माको हिजोका कुरा : गोरखापत्रमा फोटो छापिएपछि जागिर नै धरापमा पर्‍यो नि!

अर्घाखाँचीमा जन्मिएका देवेन्द्र शर्मा घिमिरे उमेरले ७० नाघे। अर्घाखाँचीमा जन्मिए पनि बुवाआमा बुटवल बसाइ सर्दा उनको हुर्काइ बुटवलमा भयो। चार दाजुभाइमध्ये माइला हुन् उनी। अन्य दाजुभाइ पढ्न भनेर भारतको विन्द्रावन जाँदा उनी ५५ वटा गाइवस्तु र ७५ वटा बाख्रा हेर्न घरमै बसे। बुवाले उनलाई स्कुल पढाउनै पठाएनन्।

घना जंगलमा धेरै गाईवस्तु हेनुपर्ने जिम्मेवारी उनको काँधमा आइपर्यो। त्यो बेला बाघ, चितुवा लगायत वन्यजन्तुले गाइवस्तु र बाख्रा खाइरहन्थ्यो। बाघले धेरैजसो कलिला बाच्छा र बाख्रामाथि आक्रमण गर्थ्यो। वस्तुमाथि बाघले आक्रमण गर्दा बाघसँग जुधेर उनले थुप्रैपटक गाईका बाच्छा छुटाएका छन्। यसैगरी समय चलिरहँदा उनलाई बुवाले काठमाडौं ल्याए, त्यहाँको जग्गा बेचिदिए।

काठमाडौंमा गार्मेन्टमा काम गरे। उनी काठमाडौं आउँदा पञ्चायती व्यवस्था विरुद्धको ठूलै आन्दोलन चर्किन थालेको थियो। कुन गार्मेटमा कस्तो गुणस्तरको सामाना निकाल्दैछ भनेर दिनभर पत्ता लगाउनु र साँझ साहुलाई रिपोर्ट बुझाउनु उनको जिम्मेवारी थियो। त्यसैक्रममा ४५ सालको आन्दोलनका क्रममा उनको तस्बिर गोरखापत्रमा छापिएपछि लफडानै परेछ।

शर्माले त्यो घटनासँगै सात दशक लामो यात्रामा आफूले भोगेका र देखेका केही विषय उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा यसरी साटेका छन्।

गोठालामै बित्यो जिवन 
मैले थाहा पाउँदा गाउँमा मेरो काम भनेको गाइबाख्रा चराउने, बाघसँग लड्ने बाहेक केही भएन। ७/८ वर्षको उमेरमा नै हामीलाई पूरा जिम्मेवारी दिइन्थ्यो। जिम्मेवारी पूरा नगरे बुवाआमाले भकुर्नुहुन्थ्यो। कुटाइ खाने डरले भए पनि पाएको जिम्मेवारी पूरा गर्नुपथ्र्यो। अहिले जस्तो समय थिएन नि! अहिले पो ‘नानी बाबु हो’ भनेर माया गर्छन्। त्यो बेला कहाँ यस्तो थियो र? अह्राएको काम नगरे पिटिहाल्नुहुन्थ्यो।

हामी चार भाइमा तीन भाइले राम्रोसँग पढे। म माइलो छोरो हो। चार जनामध्ये त्यसमा म गोठालो भएँ। मेरा आमा दुइटी हुन्। कान्छी आमा पट्टि पनि चारै भाइ छन्। मेरी आमाचाहिँ म सानै हुँदा बित्नुभएको थियो। मलाई मधुरो याद छ। ५५ वटाजति गाईवस्तु र ७५ वटा जति बाख्रा भएपछि घरमा काटेको घाँसले पुग्दैनथ्यो। त्यसैले चराउन वनमै लैजानुपथ्र्यो। घरमा अरु कोही नभएपछि म आफैँ वनमा लैजान्थेँ।

वनमा सानो चौरमा चराएर यतिका धेरै वस्तुभाउलाई अघाउन सकिँदैनथ्यो। त्यसैले ठूलै जङ्गल छिचोल्नपर्थ्यो। बाघ, भालु, चिउवाहरू प्रशस्तै लाग्थे। त्यसमा पनि अलि बढी बाघ हुन्थ्यो। बाघले धेरैजसो गाइका कलिला बाच्छा र बाख्राका पाठाहरू लैजान्थ्यो।

एकदिन के भयो भने गाइवस्तु चरिरहेको बेलामा बाघले बाच्छालाई झम्टियो। किलकिलेमा दाह्रा गाड्यो। मैलै खुर्पा बोकेको थिएँ। बाघलाई हानेँ। केहीबेरपछि बाघले बाच्छा छोड्यो र अलि माथि डाँडामा फुलेर बस्यो। मलाई बाघको भन्दा बढी बुवाले पिट्नुहोला कि भन्ने डर थियो। १५/१६ वर्षको उमेरमा बाघले खान्छ, मार्छ भन्ने डर भने पटक्कै थिएन।

त्यो बेला के चलन थियो भने बाघले आक्रमण गर्यो भने देवी रिसाइन् भन्ने चलन थियो। देवी रिसाइन् भनेर गाउँलेहरू मिलेर देवीको पूजा गर्थे। देवीको पूजा गर्दा बाघहरू अलिक साम्य भएजस्तो लाग्थ्यो। त्यो बेलामा मान्छेहरू निकै आँटिला थिए। अहिले त खै, त्यस्तो लाग्दैन।

दशैंको लुगा कहिले टोपी, कहिले कट्टु
हामी धेरै दाजुभाइ भएकाले दशैंमा बुवाले एक सेट कपडा किनिदिनुहुँदैन्थ्यो। कसैलाई टोपी, कसैलाई आस्कोट, कसैलाई धोती जस्तो कछाढ, कुनै भाइलाई कट्टु किन्दिनुहुन्थ्यो। त्यसैले दशैं टार्नुपर्ने हुन्थ्यो। त्यो बेला बटौली बजारबाट समान किनेर लैजाने गर्थे। त्यहिँ थियो ठूलो बजार। त्यतिबेला पैसा नै हुँदैनथ्यो। घिउसँग नुन साट्नुपर्थ्यो।

पैसा नहुँदा पनि घरमा भएको सामानसँग साटफेर हुन्थ्यो। पैसाको भ्यालु थियो। पैसा असाध्यै महँगो थियो। मैले पैसाको मुख दशैंमा मावलमा टीका थाप्दा पाएको दक्षिणा मात्रै हो। मलाई जेठी माइजुले असाध्यै माया गर्नुहुन्थ्यो। उहाँले मलाई सबैभन्दा धेरै दक्षिणा एक मोहर दिनुहुन्थ्यो। षट्कोण भएको एउटा चाँदीको पैसा हुन्थ्यो। अरुले एक पैसा, दुई पैसा यस्तै दिनुहुन्थ्यो।

दशैंमा दक्षिणामा पाएको पैसा बुवाआमाले माग्नु हुँदैनथ्यो। त्यो पैसाले पिल गेडी किनेर खान्थेँ। एउटा पिपलको बोटमुनि सानो पसल थियो। त्यहाँ एक मोहरको पिपटगेडी किनेर खाँदा एक मुठी आउँथ्यो। यो २०/२२ सालतिरको कुरा हो।

सबै बेचेर बुवा नेपाल पसे
बुवालाई खै के भयो, बसिरहेको जग्गाजमिन, वस्तुभाउ सबै बेचेर नेपाल (काठमाडौं)लिएर आउनुभयो। काठमाडौंलाई नेपाल भन्थे उतिबेला। काठमाडौं पाइला टेकेपछि मलाई स्वर्ग जस्तै लाग्यो। त्यति सुन्दर थियो। यतिका घरहरू थिएनन्। बाटोमा हिँडडुल गर्दा कसैले केहि गर्दैनथ्यो। साँझ-विहान हिँड्दा कसैको डर हुँदैनथ्यो। त्यो बेला सलाई लाइटर खासै हुँदैनथ्यो। एउटा झुम्रोमा आँगो सल्काएर हिड्नुपर्थ्यो।

घरको अँगेनामा आगो बलिरहेको नै हुन्थेँ। गाउँमा जस्तै यहाँ पनि बाँसको भाटामा या मकैको खोयामा झुम्रो सल्काएर (राँको) बालेर हिँडिन्थो। त्यस्तो थियो काठमाडौं। अहिले त साँझ विहान कहाँ हिड्न सकिन्छ र यहाँ। कसले कतिबेला लुट्ने हो की कुट्ने हो ठेगान छैन। ३८ सालमा बुवाले हामीलाई नेपाल हिँड भनेर (काठमाडौं) ल्याएको केहि वर्षपछि उहाँ बित्नुभयो।

गोरखापत्रमा फोटो छापिएपछि...
मलाई आन्दोलनप्रति कुनै रुचि थिएन। काठमाडौंमा लुकी-लुकी राजनीतिक दलका नेताहरू कार्यक्रम गर्थेँ। एक पटक के भयो मलाई पाटन ढोकामा लगियो। त्यहाँ केहि मान्छेहरूले भाषण दिइरहेका थिए। त्यो कार्यक्रमलाई उनीहरुले कोण सभा भन्थेँ।

बाहिर कुनै आन्दोलन गर्न र कार्यक्रम गर्न नपाइएने हुँदा पाटनको एउटा विद्यालयमा कार्यक्रम रहेछ। मलाई पनि खै कसरी हो त्यहाँ पुर्याए। त्यहाँ भाषण दिने धेरैको नाम मलाई अहिले सम्झना भएन। एक जना चाहिँ पद्मरत्न तुलाधर थिए। उनीहरूले कोणसभामा पञ्चायत विरोधीको कुरा गरे। मैले त्यहाँभित्र उनीहरूको कुरा सुनेँ। अनि बाहिर निस्केपछि आफ्नै धुनमा हिडेँ।

​​​​​​​त्यो बेला मान्छेहरु जम्मा हुँदैनथे। सभा-सम्मेलन गर्दा मान्छेहरू डराउँथेँ। राजनीतिक दलका मान्छेहरूले खुलेआम कोणसभा गर्न सक्दैनथे र मैले देखिनँ पनि।

काठमाडौंमा राजनीतिक दलहरूले विस्तारै पञ्चायतविरोधी नाराजुलुस निकाल्न थालेका थिए। तर मलाई त्यसमा कुनै चासो थिएन। मलाई मेरो कामप्रति पाएको जिम्मेवारी कसरी पुरा गर्ने भन्नेमा ध्यान जान्थ्यो। मेरो काम ज्ञानेश्वरमा रहेको एउटा गार्मेटमा थियो। म अपिसमा नै बसेर काम गर्ने भन्ने थिएन।

मेरो हरेक गार्मेटमा कसले कस्तो सामान उत्पादन गर्दैछ भन्ने रिपोर्ट खोज्नु थियो। त्यहि क्रममा म हिँड्दै बाघबजार पुगेको थिए। त्यहाँ आन्दोलन चलिरहेको थियो। म आफ्नो बाटो हिँडिरहेको थिए। म आन्दोलनकारीलाई छिचोल्दै अगाडि पुगेँ र आफ्नो काममा गएँ।

भोलिपल्ट गार्मेन्ट जाँदा पो साहुले बेस्मारी गाली गरे। किन आको काममा? जुलुसमा जादो रैछौ, उतै जाउँ। गोली लाग्यो भने सरकारले २५ हजार दिन्छ भनेर भक्कुमार थर्काए। मलाई साहुले किन थर्काइराछ भन्ने थाहा थिएन। म जुलुसमा गाको पनि होइन। त्यसपछि साहुसँगै सोधैँ भयाे चाहिँ के? उनले पत्रिका देखाए।

पत्रिकामा मेरो फोटो आन्दोलनकारीहरूको सबैभन्दा अगाडि थियो। आन्दोलनकारीलाई छिचोलेर आगाडि पुग्दा पत्रकारले फोटो खिचेछन् र त्यहि फोटो छापिदिएन्। साहुले पत्रिका देखाएपछि मात्रै थाहा भयो कि मेरो फोटो गोरखापत्रमा अगाडि नै ठूलो छापिएको रैछ।

फिल्मको अफर
मेरो सानैबाट गाईवस्तुसँग नजिकता भएर होला पशुपतिका बादरले पनि औधि माया गर्छन्। त्यहाँका बादरहरूले मलाई परैबाट चिन्छन्। झगडा गरेका छन् भने मलाई देखेपछि साम्य हुन्छन्। मलाई फिल्म खेल्न अफर आएको थियो। गोपीकृष्णका साहु उद्धव पौडेल, मिथिला शर्माले फिल्ममा लैजान्छौ भन्दा पनि म नगएको हो।

मलाई फिल्म ‘पशुपति प्रसाद’मा खेल्नका लागि अफर गरेको थियो। यसमा पनि खेल्न मन लागेन। विपिन कार्की र वर्षा राउतको फिल्म ‘गोपी’मा पनि अफर आयो। त्यसमा भने थोरै देखिने मौका पाएँ। गाईवस्तु भएको ठाउँमा साङ्ले खोलो भन्ने ठाउँमा एक दिनभरि सुटिङमा बसियो।

म सहित ९ जनालाई फिल्मका मान्छेले भ्यानमा हालेर लगेका थिए। त्यो खेलेबाापत १५ सय रुपैयाँ दिएका थिए। एमालेको गोपी भन्ने मान्छे रैछन्। तिनले त्यहाँ गाई पालेका रैछन्। एउटा सिन गर्नका लागि बेलुकासम्म नै लाग्दो रहेछ। मलाई तीन/चार दिनका लागि भनिएको थियो। म त यत्रो समय गर्दिनँ भनेर छाडेर आएँ।

१ चैत, २०८०, १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।