रविलाई कांग्रेसको प्रश्न- ‘सहकारीका दशौं अर्बको ठगी गर्ने ठूला माछाहरू उम्काउन हतियार त बनिरहनुभएको छैन?’

रविलाई कांग्रेसको प्रश्न- ‘सहकारीका दशौं अर्बको ठगी गर्ने ठूला माछाहरू उम्काउन हतियार त बनिरहनुभएको छैन?’

काठमाडौं : नेपाली कांग्रेसले सहकारी ठगीका आरोपी रवि लामिछानेलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री नियुक्ति गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग जवाफ माग गरेको छ।

बिहीबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्री दाहालसँग यसबारे जवाफ मागेका हुन्।

विवादको घेरा र अनुसन्धानको दायरामा रहेका मन्त्रीहरूलाई बहिर्गमनका लागि मन्त्रिपरिषद् र गठबन्धनको क्रान्तिकारी परिवर्तन गरेको बताएका प्रधानमन्त्रीले विवाति व्यक्तिलाई मन्त्री बनाएर कांग्रेसले गरेको शंकाको सुविधामा पनि तुसारापात गरेको बताए।

‘विवादको घेरा र अनुसन्धानको दायरामा रहेका मन्त्रीहरूलाई बहिर्गमनका लागि मन्त्रिपरिषद् र गठबन्धनको क्रान्तिकारी परिवर्तन गर्नुपरेको प्रधानमन्त्रीको जवाफलाई हामीले नियालेका थियौं,’ उनले भने, ‘अनुसन्धानको दायरामा रहेकालाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री दिँदा प्रचण्डप्रतिको झिनो आशाको भ्रम धुजाधुजा भयो।’

अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने कमाण्डर गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले गम्भीर नैतिक प्रश्न खडा भएको उनको भनाइ छ।

उनले थपे, ‘अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने कमाण्डर गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आंशका बढाएको छ।’

सांसद पाण्डेले उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि शंका गर्दै ठूला माछा जोगाउन आएको त हैन भनेर प्रश्न समेत गरेका छन्।

‘सहकारीको आदर्श विपरीत गर्न नहुने संस्थामा लगानी, दिन नहुने शिर्षकमा कर्जा, शेयर सदस्य नै नरहेका र पाउनै नपर्ने व्यक्तिले ऋण प्रवाह भएका सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानुनी दायरामा ल्याउनुहुन्छ? कतै तपाईंको पोजिसनलाई रक्षा कवच बनाएर एक/दुई करोडको अभियोग मात्र लागेका तपाईंलाई श्रीखण्डीको भूमिकामा अगाडि सारेर दशौं अर्बको ठगी गर्ने ठूला माछाहरु उम्काउने प्रपन्चको जानी/नजानी हतियार त बनिरहनुभएको छैन?’

१ चैत, २०८०, ११:३२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।