नाउपा : सरकार जाने/नजानेबारे श्रीमान-श्रीमतीको मतभेद, प्रचण्डलाई विश्वासको मत दिन अध्यक्ष श्रेष्ठको ‘ह्विप’

नाउपा : सरकार जाने/नजानेबारे श्रीमान-श्रीमतीको मतभेद, प्रचण्डलाई विश्वासको मत दिन अध्यक्ष श्रेष्ठको ‘ह्विप’

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको पक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ।

मंगलबार बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।

अध्यक्ष रञ्जिता श्रेष्ठले बुधबार बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा पार्टीका चारैजना सांसदलाई उपस्थित हुनसमेत निर्देशन दिएकी छिन्।

‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ।

सरकारमा जाने/नजाने विषयमा श्रीमान श्रीमतीबीच विवाद भइरहेका बेला अध्यक्ष श्रेष्ठले ‘ह्विप’ जारी गरेकी हुन्।

उनका श्रीमान रेशम चौधरीले संघ सरकार नजाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने अडानमा छन् भने रञ्जिता एमाले-माओवादी गठबन्धनमा जाने पक्षमा छिन्। जसका कारण उनीहरूबीच चर्को मतभेद हुँदै आएको छ।

टिकापुरमा भएको महाधिवेशनबाट रेशम चौधरीसहितको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले बदर गरेपछि अहिले नाउपामा रेशम भूमिकाबिहीन बनेका छन्। त्यसपछि अध्यक्ष बनेकी रञ्जिताले आज प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सांसदहरूलाई ‘ह्विप’ जारी गरिन्।

तर, पार्टीका पूर्व संरक्षक समेत रहेका चौधरी भने यस निर्णयबाट सन्तुष्ट नरहेको बताइएको छ।

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिँदै छन्।

२९ फागुन, २०८०, १९:११:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।