पाँच दशकदेखि कालीमाटीमा कपाल काट्दै आएका श्याम ठाकुर- ‘फ्रिमा नागरिकता दिएको थ्यो नि!, मैले नै लिएन’

पाँच दशकदेखि कालीमाटीमा कपाल काट्दै आएका श्याम ठाकुर- ‘फ्रिमा नागरिकता दिएको थ्यो नि!, मैले नै लिएन’

कालिमाटीको भित्री गल्लीमा भएको शैलुनमा झोक्र्याएर बसिरहन्छन्, श्याम ठाकुर। वरिपरिको भित्तामा ठूल्ठूला ऐना छन्। तर ग्राहक छैनन्। ग्राहक घटेसँगै पाँच दशकदेखि कपाल काट्दै आएका श्याम ठाकुरमा पनि जोश जाँगर घट्दै गएको छ।

६५ वर्ष पार गरेको उनले आफ्नो बालापन बाहेकका सम्पूर्ण समय कपाल काट्नै खर्चिए। छोराछोरीलाई पढाए। तर, जीवन उत्तरार्द्धमा उनी निराश छन्। पसलमा ग्राहक आउनै छाडेपछि उनी आत्तिएका छन्। घर-घरमा सैलुन हुँदा प्रतिस्पर्धा ह्वात्तै बढेको ठान्छन् उनी।

‘पहिला टोलछिमेकमा एउटा शैलुन पनि मुस्किलले भेटिन्थ्यो,’  अँध्यारो मुख लगाउँदै उनले भने, ‘तर अब त हरेक घरमा कपाल काट्ने गर्छ। महँगो-महँगो होटेलमा कपाल काटेको राम्रो भन्छ। यस्तो भएपछि हामी यहाँ किन बस्छ? अब त प्रतिस्पर्धा धेरै छ अनि ग्राहक कम।’

उनी ठाकुर भए पनि गाउँको ‘ठाकुर महाजन’ भने होइनन्। उनी त एक साधारण हजाम हुन्। जसको परिवारले वर्षौंदेखि यहि काम गरेर आफ्नो पेट र परिवार पालिरहेका छन्।

१४ वर्षको उमेरमा भारतको बिहारबाट काठमाडौं आउँदा उनलाई केही गरेर गाउँ फर्कनु थियो। खेतीपातीबाट आएको अन्न बाहेक घरमा अरू केही आम्दानीको स्रोत थिएन। त्यसैले उनी आफन्तसँग ‘ठूलो मान्छे’ हुने सपना बोकेर काठमाडौं आए।

‘त्यहाँ त खेतिवाडी गरेको नि! अनि यतै आयो। काम सिक्यो। गर्यो। यहिँ बसेर नै बुढो भयो’,  उनले हाँस्दै भने।

पुर्ख्यौली काम गर्नैपर्ने!
पुर्ख्यौली काम भएको कारण कपाल काट्ने बाहेकका काम पनि गर्न मिल्छ भनेर उनले थाहै पाएनन्। त्यै भएर सानैदेखि उनको एउटा मात्र लक्ष्य थियो, राम्रो हजाम बन्ने। काठमाडौंको मान्छेहरूलाई चिटिक्क बनाउने।

घरको आर्थिक अवस्थाको कारण उनले शिक्षा लिन पाएनन्। जोसँग यहाँ आए, उनैले काममा लगाइदिए। दुई वर्ष त उनलाई कैंची चलाउन सिक्नै लाग्यो।

‘एकचोटी त घरको याद आएर फर्केर पनि गयो,’ सम्झिँदै उनी भन्छन्, ‘१५ दिनसम्म घरमा बस्यो। फेरि उता मन लागेन। यतै आयो। त्यसपछि यतै हो। काठमाडौंको मान्छे एकदम राम्रो। सोझो। घर पनि खप्टेरो भएको, दुई/तीन तल्ला भन्दा ठूलो छैन। यहाँ त बरफ गिर्थ्यो। अहिलेको हेरेर त्यो बेला यो ठाउँ निकै स्वर्ग हो नि त!’

गाउँमा भिडभाडमा बसेका उनी यहाँ निकै रमाए। जोसका साथ साहुले अह्राएको हरेक काम गरे। लगभग १५ वर्ष जति त उनले अरुकै शैलुनमा कैंची चलाए। त्यसबेला अफिस जाने बाहेक अन्य व्यक्तिहरू हजामकहाँ नआउने रहेछन्।

‘घरमा बस्नेले दाह्री, कपाल किन बनाउँथ्यो र,’  उनी सुनाउँदै गए, ‘अफिस जानेहरू ठूलो होटलमै बनाउन जान्छ। शैलुन पनि त धेरै छ। हातवाला मेशिन हुँदा निकै मिहेनत गरेर काम सक्काउन पर्थ्यो। ग्राहक पनि धेर हुन्थ्यो।’

त्यसबेला अढाई/तीन रूपैयाँमा कपाल र तीन सुकामा दाह्री काटिदिएको उनले अहिले पनि बिर्सेका छैनन्। त्यो भाउअनुसार अहिले एक सय गुणाले मूल्य बढिसक्यो। तर, महंगीको कारण त्यतिले पनि धन्न गाह्रो भएको उनले महसुस गरेका रहेछन्।

अरुको शैलुनमा काम गर्दा जति नै व्यस्त भए पनि उनले आफ्नो सीप तिखार्न कुनै कसर बाँकी राखेनन्। तीन जना साहुको काम गरेपछि भने ‘नोकर’ बन्न मन नलागेको उनी बताउँछन्।

‘गाह्रो-साह्रो आफ्नै सजिलो छ नि! कति दिन अरुको नोकरी गर्ने। सबैभन्दा आफ्नो गरेको राम्रो भनेर शैलुन खोलेको,’ खुसी हुँदै उनले भने।

‘फ्रिमा नागरिकता दिएको थियो, लिएन’
आफ्नो पसल खोल्नको लागि उनलाई धेरै लगानीको आवश्यक पनि परेन। दश/बाह्र हजारमै राम्रो शैलुन खोले। त्यसबेला त्यहाँ अन्य शैलुन पनि नभएकाले उनलाई झन् सजिलो भयो।

नौबिसे, धार्के, ताहाचल, बाफल र फर्पिंगदेखि उनको शैलुनमा ग्राहक आउँथे। पछि बिस्तारै उनले फेशियलको व्यवस्था समेत मिलाए। महंगो-सस्तो सबै किसिमको साधनहरू राखे।
२०७२ सालको भूकम्पदेखि भने उनको व्यापार ठप्प भयो। लकडाउनको त झन् कुरै छाडौँ।

‘कोरोनामा मान्छेबाट टाढा बस्नु भन्यो नि! फलामबाट झन् छिटो सर्छ भन्यो। त्यसदेखि हामी नजिक मान्छे नै आएन,’ उनले भने।

आधा शताब्दीपछि आफैँबाट आफ्नो पुर्ख्यौली कामको अन्त्य हुन्छ भनेर सोच्दा पनि नराम्रो लागेको उनी बताउँछन्।

‘अहिले त धेरै गाह्रो छ। मूल्य बढे पनि ग्राहक नै छैनन्। प्रतिष्पर्धा पनि धेरै भयो,’ निराश हुँदै उनले भने, ‘यहि काम बाहेक अर्को गर्न हुन्छ भनेर सोच्दा पनि सोचेन। अब बुढो पनि भयो। अर्को काम गर्ने भनेर के सोच्नु।’

अहिले बिहारमा सरकारले धेरै राम्रो गरेको उनले सुनेका रहेछन्। त्यै भएर सबै झोलागुन्टी बोकेर घरनै फर्किउ कि भन्ने उनलाई लागेको रहेछ।

‘सरकारले त्यहाँ राम्रो गरेको छ। रासन त फ्रीमा पनि दिन्छ रे। अब त यहाँ मान्छेहरू टेन्सन पनि भयो नि। यहाँ चोरीचकारीनै थिएन। अहिले हेर्नु त रिस उठ्यो भने मान्छे मारेर फाल्छ’, उनले भने।

चार मध्ये एक छोराले त उनलाई शैलुनमै सघाउने पनि गर्छन्। बाँकी भने गाउँमै खेतीपाती गरिरहेका छन्। दिनमा एक जना पनि ग्राहक नआउँदा दिक्कै लाग्ने उनले बताए।

‘जबसम्म मन हुन्छ, तब सम्म गर्छु। नत्र उतै खेतीपाती गर्न पर्ला। अब त गाउँमै पनि शैलुन चल्ला कि!’ उनी एकछिन गम्भीर भए, ‘लगानी गरेर अलि राम्रो गर्ने भन्ने पनि छैन। यसमा के लगानी गर्ने? बाल बच्चाको पालियो। अलि-अलि पढायो। त्यत्ति हो। उबेला यहाँको नागरिकता फ्रिमा दिएको थियो। लिएन। जग्गा पनि सात/आठ हजारमै आउथ्यो नि! अब के गर्नु यसो हेर्दा त केहि गर्न सकेन जस्तो लाग्छ।’

२९ फागुन, २०८०, १०:०७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।