सिद्धबाबा सुरुङमार्गको काम तीब्र : मन्दिरतर्फ २५ मिटर खनियो

सिद्धबाबा सुरुङमार्गको काम तीब्र : मन्दिरतर्फ २५ मिटर खनियो

बुटवल : सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा पर्ने सुरुङ मार्ग निर्माणले गति लिएको छ। ठेक्का सम्झौता २ वर्षअघि भएको थियो।

निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको ठेक्काले माघको पहिलो सातादेखि मात्र गति लिएको हो। सिद्धबाबा सुरुङ मार्ग परियोजनाकी इन्जिनियर सविता ज्ञवालीले अहिलेसम्म सिद्धबाबा मन्दिरतर्फको विन्दुमा २५ मिटर सुरुङ खनिएको जानकारी दिइन्।

अहिले नेपाली र चिनिया गरी सय बढी कामदारले दैनिक सुरुङ मार्गमा काम गरिरहेका छन्। सुरुङ मार्गकै अर्को हेडबक्स तर्फको विन्दुमा भने स्याल्प निर्माणको काम भइरहेको छ।

कमजोर चट्टान र वर्षामा आएको बाढीले रिप बगाएपछि अहिले त्यहाँ स्याल्प बनाउन थालिएको हो। उक्त निर्माण सम्पन्न भएपछि त्यहाँ सुरुङ खन्न थालिने इन्जिनियर ज्ञवालीले बताइन्।

‘अहिलेकै गतिमा काम हुने हो भने निर्धारित समयमै सुरुङ निर्माण हुनेछ,’ उनले भनिन्।

सुरुङ निर्माणको कामसँगै चट्टान बग्नबाट जोगाउन ‘रकसेड’ निर्माणको काम समेत भइरहेको छ। उनका अनुसार माथिबाट खस्ने पहिरो र कडा चट्टानलाई रोक्न ७८० मिटर ‘रकसेड’ निर्माण गरिने छ।

पाँच वर्षभित्र सुरुङ निर्माणको काम सक्ने गरी नेपाल सरकारसँग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले २०७८ फागुन २५ गते सम्झौता गरेको थियो।

१ हजार १ सय २६ मिटर लम्बाइको बन्ने सुरुङमार्गको जोखिम युक्त ठाउँमा प्यानल निर्माण हुनेछ। सुरुङमार्गको बीचमा ३ वटा एक्जिट अर्थात् बाहिर निस्कने ठाउँ समेत बन्नेछ।

सुरुङ क्षेत्रमा प्रवेश गर्ने तीन वटा ४३१ मिटरका बाइपास सुरुङ खन्ने काम पनि भइरहेको छ। आकस्मिक घटना भइ हालेमा सोही स्थानबाट उद्धारको काम हुने छ।

सुरुङ मार्ग तिनाउँ गाउँपालिका वडा नम्बर २ सिद्धबाबामा रहेको सिद्धबाबा मन्दिरको उत्तर तर्फबाट सुरू भई दोभान नजिकै रामापिथेकस पार्क अर्थात् हेडबक्स सम्म बन्नेछ।

सुरुङमार्ग सँगै कम्पनीले ९०४ मिटर बुटवलतर्फ र पाल्पातर्फको एक हजार ४९४ मिटर सडक स्तरोन्नति गर्नुपर्ने सम्झौतामा उल्लेख छ। ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको सिद्धबाबा सुरुङ मार्ग स्विस सरकारको विकास सहयोग मार्फत भौगर्भिक अध्ययन (जियोलोजिकल) सर्भे गरिएको थियो।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सुरुङ मार्गका लागि बजेटको सुनिश्चितता गरेका थिए। उनले जोखिमयुक्त स्थानमा निर्माण भइरहेको सुरुङ मार्ग कुनै पनि बहानामा रोकिन नहुने भन्दै अगुवाइ गर्ने बताएका छन्।

‘सुरुङ मार्ग निर्माणपछि धेरैले सुरक्षित यात्रा गर्न पाउनेछन्। यात्रामा जोखिम कम हुनेछ। त्यसपछि बुटवल र पाल्पाको विकासमा समेत यसले योगदान गर्नेछ,’ उनले भने।

उनले काम गर्ने क्रममा कुनै पनि अप्ठ्यारो परिस्थिति आउन नदिन सबैलाई आग्रह समेत गरे।

सिद्धबाबा क्षेत्रमा यसअघि पहिरो र जोखिम रोक्न विभिन्न विकल्प अगाडि सारिए पनि सफल नभएपछि सुरुङ मार्गको योजना अघि बढेको हो। यसअघि जोखिमयुक्त क्षेत्रमा करोडौं रूपैयाँ खर्च गरेर रकसेट र हाफ टनेल बेन्च कट लगायतका ६ विकल्प प्रयोग गरिएको थियो।

वि.सं. २०१८ सालदेखि खन्न शुरू गरेको बुटवल–पाल्पा सडकमा २०२८ सालदेखि सवारीसाधनको आवागमन हुन थालेको थियो। सडकमा अहिले दैनिक २ हजार बढी सवारीसाधन यो राजमार्ग हुँदै गुड्ने गरेका छन्।

यो राजमार्ग हुँदै पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखाँची आवतजावत गर्छन्।

सम्बन्धित समाचार

२४ फागुन, २०८०, १८:५९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।