गायक रोज मुक्तानको हिजोको कुरा : रेडियो नेपालको जागिर छ महिनामै चैट भइहाल्यो, माधव नेपालको प्रस्ताव पनि स्वीकारिनँ

गायक रोज मुक्तानको हिजोको कुरा : रेडियो नेपालको जागिर छ महिनामै चैट भइहाल्यो, माधव नेपालको प्रस्ताव पनि स्वीकारिनँ

लोक, आधुनिक, रिमिक्स तथा तामाङ सेलो र भाषाभाषिका गीतबाट चर्चामा आएका गायक हुन् रोज मुक्तान। मोक्तानका ‘हिउँ पर्यो फुरुरु कान्छी’, ‘हेलम्बुको बजारमा’, ‘कलकत्ते काइँयो’ लगायतका गीतहरू दर्शक/स्रोतामाझ चर्चित छन्।

वि.सं. २०२७ सालमा रामेछापको तत्कालीन खनियापानी गाविसमा जन्मिएका उनले थुप्रै गीत दर्शकस्रोतामाझ चर्चित छन्। ५३ वर्षको उमेरसम्म आइपुग्दा मोक्तानले आफू हुर्कँदै गरेको गाउँघरको अवस्था, रहनसहन देखेभोगेका छन्।

आजभन्दा ४० वर्षअघि रामेछापको विकट गाउँबाट काठमाडौं आएर रेडियो नेपालमा गीत गाउनु चानचुने कुरा थिएन। रेडियो नेपालमा गीत मात्र गाएनन् गायक मोक्तानले मन्त्रीको सोर्सफोर्स लगाएर छ महिना जागिर पनि खाए। पछि उनलाई तत्कालीन एमाले नेता माधवकुमार नेपालले समेत रेडियो नेपालमा जागिर खान अफर गरेका रैछन्।

त्यो बेलाको गाउँले परिवेशदेखि गायन यात्रा र रेडियो नेपालका छ महिना जागिर खाँदाको अनुभव उकेराको नियमित स्तम्भ हिजोका कुरामा मोक्तानले यसरी साटेका छन्।

त्यो ढुङ्गे युगका मान्छे हामी 
रामेछापको खनियाँपानी गाविसमा जन्मिएको हुँ म। अहिले त्यो गाउँ सुनपाती गाउँपालिका-५ भयो। १३ वर्षको उमेरसम्म म गाउँकै स्कुलमा पढेको हो र पछि पशुपतिको सारदा माविबाट एसएलसी दिएँ। तीन दाजुभाइको जेठो हुँ म, दिदि हुनुहुन्छ एक जना।

अहिले सोच्दा त्यो बेला हाम्रो गाउँ ढुङ्गेयुगमै थियो भन्दा फरक पर्दैन। अधिकांश मानिसहरू खेतिपातीमै रमाउँथे। मैले थाहा पाउँदा गाउँमा मल अभाव भयो भन्ने कहिलै सुनिनँ। गाइवस्तुको मलले नै खेतमा हाल्थे। बुवा-हजुरबुवा सबैले खेतीपानी नै गरे। हामीहरूले सघायौं।

स्कुल जादा अहिलेको जस्तो घर अगाडि बस आउँदैनथ्यो, हिँडेरै जानुपर्थ्यो। गाउँकै बाल प्राथमिक विद्यालयमा तीन कक्षासम्म पढेको हुँ मैले त्सपछि कुशेश्वर निम्न माध्यमिक विद्यालय बेथानमा ७ कक्षासम्म पढे भने ८ कक्षा पढ्न खाँडादेवी माविमा भर्ना भएँ। एसएलसी चैँ काठमाडौंको गौशालामा रहेको शारदा माध्यमिक विद्यालयबाट दिएँ।

बुवाको जागिर काठमाडौं भएपछि हामी काठमाडौं आयौं। बुवाको वैद्यखानामा जागिर भएकाले म बुवासँगै आएँ। पछि वैद्यखाना, वैद्यखाना समिति भएपछि बुवा वन विभागमा सरुवा हुनुभयो अनि त्यहिँबाट रिटायर्ड हुनुभो।

त्यतिबेला हामी बानेश्वर भिनसेन गोलामा डेरामा बस्थ्यौँ। यतिबेला मैले संगीतको यात्रा सुरू गरिसकेको थिएँ। मैले यो समयमा गोपाल योञ्जन, प्रकाश गुरुङ, गुरुदेव कामत, योगेन्द्र घतानी सरसँग संगीतको केहि ज्ञानहरू सिक्ने मौका पाइरहेको थिए।

घरबेटी नै संगीतका पारखी 
कस्तो भयो भने अमर तण्डुकार दाइको घर बानेश्वर भिमसेनगोलामा थियो। हामी उहाँको घरमा डेरामा बस्थ्यौँ। घरबेटी दाइ संगीतप्रेमी हुनुहुँदोरछ। गाउँका विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुँदै आएको थिए। घरबेटी दाजुले घरमै हार्मोनियम राखेर गीत गाउनुहुँदोरैछ। मैले होर्मोनियम कहिल्यै देखेको थिइनँ, त्यहिँ देखेँ।

मेरो कान्छो मामा शेरबहादुर लामा लगायतको टिमले गीत गाउँदा त्यतिकै गाउने गर्नुहुन्थ्यो। घाँसे गीतदेखि लिएर दोहोरीसम्म गाउने उहाँहरूलाई हामोनियममा पनि गाउनुपर्छ भन्ने थाहा थिएन जस्तो लाग्छ। त्यहि भएर होला मैले पनि त्यो देख्ने अवसर पाइनँ। मामाको प्रभावले होला म गीतहरू गुनगुनाइ रहन्थेँ। म कस्तो गीत गाउँछु भन्ने म आफूलाई थाहै थिएन।

घरबेटी अमर दाइले हार्मोनियम बजाउँदा म चाख दिएर सुन्थेँ अनि बजाउन पनि सिक्थेँ। भिमसेनगोला तल रहेको घाटमण्डलमा शनिबार सधैँ भजन किर्तन हुन्थ्यो। अमर दाइ भजन गाउन र होर्मोनियम बजाउन त्यहाँ जानुहुन्थ्यो। म पनि उहाँकै पछि लागेर जान्थेँ। त्यसरी जाँदा-जाँदै अमर दाइले ‘तिमीले गीत गाउन सक्नेरैछ, स्वर पनि राम्रो छ। रेडियो नेपालमा भ्वाइस टेस्ट गर’ भन्नुभयो। उहाँले भनेपछि मैले ३० वर्षअघि रेडियो नेपालमा स्वर परीक्षा दिएँ र पास पनि भएँ।

त्यहाँ पुगेपछि मैले अग्रज कलाकारहरूसँग भेटघाट गर्ने मौका पाएँ। आइसिंह लामा, राम बहादुर जिम्बा, युक्त गुरुङ दाई, पाण्डव सुनार, बासुदेव मुनाल लगायतसँग मेरो भेट भएपछि उहाँहरूले मलाई सुझाव दिनुभो। त्यसपछि प्रेमराजा महत, मिरा राना दिदीले पनि मलाई एकदम सपोर्ट गर्नुभयो। सुरुमा त रेडियो नेपाल पुग्नु नै मेरो लागि ठूलो कुरा थियो।

जयनन्द लामा देख्दा अचम्मै लाग्यो
मैले गीतहरू मात्रै रेडियोबाट सुनेको थिए। कलाकारहरू देखेको थिइनँ। रेडियो नेपाल पुगेपछि धेरै अग्रज कलाकारहरूलाई देख्ने मौका पाएँ। मैले जयनन्द लामा दाईका धेरै गीतहरू सुनेको थिएँ। तर, कहिलै भेटेको थिइनँ। उहाँका गीतहरूबाट प्रभावित भएको मान्छे हुँ म। मेरो इच्छा पनि जयनन्द लामा र राम थापालाई भेट्ने थियो। त्यो भेट्ने मौका पनि रेडियो नेपालकै प्राङ्गणमा मिल्यो।

उहाँहरूसँग भेट्दा म यति खुसी थिएँ कि, अहिले बखानै गर्न सक्दिनँ। रेडियो नेपालको बाहिर बसिरहेको थिएँ म। एकजनाले उहाँ नै हो जयनन्द लामा दाइ भनेर चिनाइदिनुभयो। मलाई हैनजस्तो लाग्यो। क्यासेटको फोटोमा भएको अनुहार र भेट्दाको अनुहार मिल्दैनथ्यो। हो की होइन भनेर एकछिन अलमलमा परेँ। पछि उहाँले नै हो भनेपछि छक्क परेँ।

त्यतिबेला रेडियो नेपाल प्रवेश गर्न निकै गाह्रो थियो। अहिलेको जस्तो सहज थिएन। रेडियो नेपालमा जान पावर नै लाउनुपर्थ्यो। बाँसुरी बाधक आइसिंह लामा, रामबहादुर जिम्बा लगायतका दाइहरूले त्यतिबेला रेडियो नेपालका बाध्यबाधहरू हुनुहुन्थ्यो। उहाँहरूलाई भेटेपछि रेडियो नेपाल छिर्न मलाई चाहिँ सजिलो भएको थियो। उहाँहरूलाई भेटेपछि भगवान भेटेजस्तै लाग्थ्यो। सितिमिति मान्छेदे भेट्नै सक्दैनथेँ। मैले त्यो मौका पाएँ।

रेडियो नेपालमा गीत गाउनका लागि निकै गाह्रो थियो। अहिले जस्तो घर-घरमा कोठे स्टुडियो थिएन। एउटा गीत रेकर्ड गर्नका लागि महिनौं कुर्नुपर्थ्यो। आफ्नो समयमा पालो कुर्दाको समयमा गीतको संगीत र शब्द सेन्सर हुन्थ्यो। कसैलाई दोष आरोप लगाउने खाल्का शब्द भए फेर्नुपर्थ्यो। नत्र गीत गाउनै पाइँदैनथ्यो।

अहिले पो जे जस्तो गीत गाए पनि रोकतोक छैन। त्यो बेला सारै गाह्रो पो थियो त! अहिले सम्झँदा त्यो समय एक किसिमले धेरै राम्रो पनि थियो। किनभने कुनै पनि कलाकारले एउटा गीत गाउनका लागि धेरै मेहनत गर्नुपर्ने हुन्थ्यो। शब्दहरू गायक-गायिकालाई कन्ठस्तै हुन्थ्यो। अहिले त गीतको शब्द फुरेको केहि दिनमा नै गीत रेकर्ड गरेर युटुबमा आइसक्छ। मिहिनेत नै हुँदैन।

नेपालमा त्यहिँ एउटा रेडियो नेपाल त थियो। अरु त पछि आएका हुन्। गीत रेकर्ड गरेपछि कलाकारको भ्यालु त्यो समयमा थियो। मैले सुनेको राजालाई त नारायण गोपालले गीत गाउन लगाउँदा घुर्क्याउथेँ रे। त्यतिको कलाकारमा भ्यालु थियो। अहिले पनि नभएको त होइन तर, त्यतिको मिहिनेती देख्दिनँ। हामी एउटा गीत रेकर्ड गर्न ६ महिना वा १ वर्ष लगाउँथ्यौँ। त्यहि भएर त्यो समयमा रेकर्ड भएका गीतहरू सदावहार बनेका हुन्।

मन्त्रीको फोर्सले रेडियो नेपालमा खाएको जागिर छ महिनामै चैट
मैले रेडियो नेपालमा छ महिना जागिर खाएँ, त्यो पनि करारमा। राजनीतिक कुराहरू भएपछि र मन्त्री फेरिएपछि मेरो छ महिनामा नै जागिर चैट भयो। तत्कालिन समयमा भिमबहादुर तामाङ कानुनमन्त्री हुनुभयो। उहाँ र मेरो नाता सबन्ध त्यस्तो केहि पनि छैन। तर चिनजानको हिसावले नजिक थियौँ। उहाँ मन्त्री भएको समयमा मैले उहाँलाई रेडियो नेपालमा जागिर खान्छु भन्दिनुपर्यो भनेँ। उहाँले भन्दिनुभएछ अनि करारमा जागिरे भएँ।

मलाई गीत गाउन मनपर्ने भएकाले पनि मैले रेडियो नेपालमै जागिर खान मन थियो। लाइब्रेरीमा काम गरेँ। जागिर खाएको छ महिनामा भिमबहादुर तामाङको मन्त्री पद खुस्कियो। उहाँको मन्त्री पद नै खुस्केपछि मेरो जागिर के बाँकी रहन्थ्यो। त्यहाँ पुगेपछि मलाई के चैँ थाहा भयो भने, हरेक ठाउँमा राजनीतिक दलका नेताले आफूअनुकुलका मान्छेहरू नियुक्त गर्दा रैछन्।

मेरो बुबाले मलाई गीत गाउने नबन, जागिर खानुपर्छ भन्नुहुन्थ्यो। तर मैले मेरो बुवाको कुरा कहिल्यै सुनिनँ। मेरो मनमा गीतै गाउने हुटहुटी थियो। एक पटक तत्कालीन एमाले नेता माधवकुमार नेपालसँग भेट भएको थियो। त्यो बेलामा उहाँको पनि पावर चल्थ्यो। उहाँले भेटमा रेडियो नेपालमा जागिर खाने भए करारमा भन्दिन्छु भन्नुभएको थियो।

म चर्चित गायक भएर विभिन्न ठाउँमा कार्यक्रम हिँड्न थालिसकेको थिए। अनि उहाँको प्रस्तावलाई मैले स्वीकार गर्न सकिनँ। किनभने मलाई जागिरको मोह कम हुँदै गएको थियो। यता सांगितिक कार्यक्रममा व्यस्त हुन थालिसकेको थिएँ भने रेडियो नेपालमा गीत गाउन मलाई सहज वातावरण भइसकेको थियो।

४५/४६ सालको आन्दोलनमा बाटैबाट उठायो
म काठमाडौं छिर्दा पञ्चायतकाल थियो। पञ्चायती व्यवस्थाविरुद्ध देशभरि आन्दोलन चर्किएरहेकाले काठमाडौंको बाटोमा हिँड्न पनि मुस्किल थियो। पुलिसले देख्यो कि समातेर भ्यानमा कोचिहाल्ने, कसैलाई खाद्य संस्थानमा पुर्याउथ्यो त कसैलाई पुलिस क्लबमा।

एक दिन के भयो भने म पुतलीसडकबाट डेरा आउँदै थिएँ। पुरानो बानेश्वर आइपुग्दा अचानक पुलिसले कर्यापकुरुप पारेर भ्यानमा कोचिहाल्यो। किन राख्यो पनि थाहा छैन, आयो च्याप्प समात्यो भ्यानमा हालिहाल्यो। थर्काउँदै कुट्दै मलाई पुलिस क्लब पुर्यायो। पुलिसले भेटेपछि के छोड्थ्यो, गोरु चुटेझैँ चुट्यो। सिमेन्टीको बसाइ अनि खानामा टङ्लङ्ग दाल र भात। अहिले सम्झिदा त कहाली लाग्दो लाग्छ नि!

तीन दिनजति थुनेको थियो। अनि त्यो क्लबको ट्वाइलेटको झ्यालमा जाली थियो। त्यो च्यातेर भागेँ। त्यस्तो थियो त्यो बेला। म मात्रै होइन। मेरो मामाको छोरालाई पनि बत्तिसपुतलीबाट समातेर खाद्य संस्थानमा पुर्याएछ। उहाँ पनि त्यसरी नै भागेर आउनुभयो। पछि भागेर डेरामा आउँदा पो थाहा भयो दुवै जनालाई प्रहरीले उठाएर भकुरेको कुरा।

अनि हामीलाई बुबाले के भन्नुभयो भने ‘हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु।’ त्यो कुरा सहि रहेछ भनेर अहिले पनि सम्झन्छु म। अहिले पनि मामाको छोरासँग भेट भयो भने पुराना कुरा सम्झेर हास्छौं। त्यतिबेला पो कहाली लाग्दो थियो त अहिले त्यहि कुरा सम्झँदा अचम्म लाग्छ।

२४ फागुन, २०८०, १४:४९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।