सुर्खेत गोली काण्ड : ६१ वर्षीया आमाको दुखेसो- ‘गोली हान्नेहरू घरमा आउने हुन् कि भनेर रातभर निन्द्रा लाग्दैन’

सुर्खेत गोली काण्ड : ६१ वर्षीया आमाको दुखेसो- ‘गोली हान्नेहरू घरमा आउने हुन् कि भनेर रातभर निन्द्रा लाग्दैन’

सुर्खेत : वीरेन्द्रनगर–१ का ३९ वर्षीय विनोद गिरीमाथि गोली प्रहार भएको १० दिन भयो। तर प्रहरीले न मुख्य योजनाकार खुलाएको छ न त पक्राउ नै गरेको छ। फागुन १२ गते साँझ साढे आठ बजे वीरेन्द्रनगर– ३ स्थित गैरीगाउँमा विनोद चढेको बाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा गोली हानिएको थियो।

भे ५ प ६०६१ नम्बरको मोटर साइकलमा आएकाले गोली हानेका थिए। प्रहरीले १३ गते हत्या प्रयासको घटनामा जोडिएको दाबी गर्दै  एक जना भारतीय सुटरसहित चार जनालाई सार्वजनिक गरेको थियो।

प्रहरीले भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरीलाई प्रहरीले सार्वजनिक गरेको थियो।

प्रहरीका अनुसार रोहित भारतीय सुटर हुन्,  विक मोटरसाइकल चालक, भूल योजनाका सहयोगी हुन् भने गिरी सुटर र अन्य दुई जनालाई सुर्खेतमा ल्याएर होटेलमा बास बसालेर व्यवस्थापन गर्ने व्यक्ति।

प्रहरीले पत्रकार सम्मेलनमा घटनाका मुख्य योजनाकारबारे जानकारी रहेको तर तत्काल परिचय खुलाउँदा गोपनीयता भङ्ग हुने भन्दै उनलाई मुख्य शङ्कित व्यक्ति मात्र भनेका थिए।

हत्याको योजनाकार पक्राउ नपर्दा पीडित परिवारका सदस्यहरू त्रासमा देखिए। विनोदकी ६१ वर्षीया आमा शारदा गिरीले छोराको हत्या गर्ने योजना बनाएका मुख्य व्यक्ति पक्राउ नपर्दा फेरि घटना घटाउने हुन् की भन्ने चिन्ताले पिरोल्ने गरेको बताइन्।

 ‘मेरो छोरामाथि हत्या गर्ने योजना बनाएका मुख्य योजनाकारहरूले फेरि कहिले के गर्ने हुन् भन्ने चिन्ताले पिरोल्छ,’शारदाले भनिन्, ‘यतिका दिनसम्म पनि किन पक्राउ गर्न नसकेको होला प्रहरीले? गोली हान्नेहरू घरमा आउने हुन् कि भनेर रातभर निन्द्रा लाग्दैन।’

विनोदकी दिदी जानुका गुरुङले हत्याको योजना बनाउनेहरू पक्राउ नपर्दा हिँडडुल गर्न पनि डर भएको बताइन्।

‘भाइ कतै बजार निस्कँदा पनि केही भइहाल्यो की भनेर फोन गर्न मन लाग्छ,’जानुकाले भनिन्, ‘हामीमाथि पनि आक्रमण हुने हो कि भन्ने डर लाग्छ। मुख्य योजनाकारको विषयमा पनि प्रहरीले चासो देखाउनुपर्छ।’

विनोद भन्छन्' राजनमाथि गहिरो अनुसन्धान गर्नुपर्छ'

निर्माण र काठ व्यवसायी रहेका विनोद तरुण दल सुर्खेतका सदस्य समेत हुन्। प्रहरीले पक्राउ परेकामध्ये वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरीलाई सुटर, मोटरसाइकल चालक र योजनाका सहयोगीलाई सुर्खेतमा होटेलमा बास बसालेर व्यवस्थापन गर्ने व्यक्तिका रूपमा चिनाएको छ।

विनोद राजनमाथि प्रहरीले गहिरो अनुसन्धान गरे हत्या योजनाका मुख्य नाइके एक छिनमा पत्ता लाग्ने दाबी गर्छन्।

राजनको सिम बिनाको मोबाइल प्रहरीले घटनाको भोलिपल्ट नियन्त्रणमा लिएको थियो। राजनले प्रयोग गर्ने एनसेलको नम्बर घटनाअघि भाँचिसकेका थिए। उक्त नम्बर समेत पत्ता लागेको छैन। विनोदका अनुसार राजनसँग नमस्ते र एनसेलका दुई सिम थिए। त्यसमध्ये राजनले एनसेलको चोरी सिमबाट उक्त योजनाका विषयमा अन्य व्यक्तिहरूसम्म गरेको कुराकानी खुल्न सक्छ।

‘राजनलाई होटेलमा व्यवस्थापन गरेको भनेर मात्रै प्रहरीले अनुसन्धान गर्नु भएन। उनको एनसेल सिमबाट को–कोसँग सम्पर्क भयो भन्ने कुराले मुख्य योजनाकार समात्न सकिन्छ,’विनोदले दाबी गरे, ‘योजना बनाउने टिमसँग पुरै एनसेलको ब्ल्याक सिमहरू छन्। सुटर र मोटरसाइकल चालक त परिचालित व्यक्ति मात्रै हुन्। यसमा ठुलो सञ्जाल जोडिएको छ।’

राजनले सन्तोष गिरीले आफ्नोमा टायल मार्बलको काम गर्ने कामदार सुर्खेत आएको र उनीहरूलाई होटेलमा बास बस्ने व्यवस्था मिलाइदिनु भनेकोले बासको व्यवस्था मिलाएको प्रहरी बयानमा बताएका छन्।

उनले वीरेन्द्रनगर–४ स्थित गणेश होटेलमा विभिन्न समय गरी चार पटक सुटर र योजनाकारहरूलाई ल्याएर बास बसाएको कुरा पुष्टि भइसकेको छ। त्यति मात्रै होइन उनीहरूले खाए, बसेको २५ हजार रुपैयाँ खातामा समेत हालेको होटेल सञ्चालक गणेशबहादुर  शाहीले बताए।

‘राजन दाइले पटक पटक ल्याएर उहाँहरूलाई बसाउनुभएको थियो। हाम्रा काम गर्ने केटाहरू हुन् भन्नुभयो। त्यसबापत २५ हजार रुपैयाँ पनि क्युआरमा हालिदिनुभएको हो,’गणेशले भने, ‘आउने, जाने, खाना खाने गर्थे। हाम्रोमा जम्मा चार पटक आए उनीहरू। किन यति लामो समय बसेको भनेपछि भारतीय र नेपाली सबैले यही व्यवसाय गर्न आएको भनेर भन्थे। ग्राहकका रूपमा हेरियो। उनीहरू त मार्ने योजना बनाएर आएका रहेछन्।’

व्यवसायीक रूपमा विनोद, राजन र सन्तोष गिरिबिच दुस्मनी रहेको देखिन्छ। २०७८ भदौ ११ मा सुर्खेतमै सन्तोषमाथि खुँडा प्रहार भएपछि उनले घटनाको दोष विनोदलाई लगाएका थिए। त्यसपछि उनीहरूबिच थप दुस्मनी बढेको थियो। पहिला एउटै समूहमा रहेका उनीहरू पछि फरक–फरक कित्तामा उभिएका थिए। घटना भएदेखि सन्तोष सार्वजनिक रूपमा देखिएका छैनन्।

अनुसन्धानकोक्रममा सोमबार घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई काठमाण्डौंमा पक्राउ गरेर अनुसन्धान भइरहेको छ। तर, प्रहरीले यस विषयमा औपचारिक रूपमा बोलेको छैन।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको दाबी गरे। तर घटनाको विषयमा खुलेर कुरा गर्न चाहेनन्।

‘हामी अहिले यस घटनाको विषयमा विस्तृत अनुसन्धान गरिरहेका छौँ। अहिलेलाई यति मात्रै भन्न सकिन्छ। थप विषयमा हामी अनुसन्धान सकिएपछि मात्रै खुलाउनेछौँ,’उनले उकेरासँग भने।

२२ फागुन, २०८०, २२:२७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।