शाहबाजले लिए पाकिस्तानको नयाँ प्रधानमन्त्रीको सपथ

शाहबाजले लिए पाकिस्तानको नयाँ प्रधानमन्त्रीको सपथ

एजेन्सी : शाहबाज सरिफले पाकिस्तानको २४ औँ प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेका छन्। त्यहाँको राष्ट्रपति भवनमा सोमबार आयोजित एक समारोहमा उनले शपथ लिएका हुन्।

कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कड, सिनेटका अध्यक्ष सादिक सन्जरानी, सेनाप्रमुख, राजनीतिज्ञ र राजदूतहरूको उपस्थितिमा राष्ट्रपति आरिफ अल्वीले नवनिर्वाचित प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराए।

यसअघि आइतबार पाकिस्तान मुस्लिम लिग-नवाजका अध्यक्ष सरिफले ३३६ सदस्यीय राष्ट्रियसभामा २०१ मत प्राप्त गरेका थिए। आफ्नो पार्टीले पाकिस्तान पिपुल्स पार्टी संसदीय दल, मुत्ताहिदा कौमी मुभमेन्ट-पाकिस्तान र अरूसँग गठबन्धन गरेपछि सरिफ सत्तामा आएका हुन्।

सांसदहरूले उनलाई देशको प्रमुख कार्यकारी पदका निम्ति उमेदवारका रूपमा मनोनयन गरेका थिए।

आइतबार प्रधानमन्त्रीमा निर्वाचित भएपछि राष्ट्रियसभामा आफ्नो पहिलो सम्बोधनमा सरिफले देशको विकासका निम्ति कर प्रणालीमा सुधार, स्वतन्त्र व्यापार र निर्यात क्षेत्र स्थापनालगायत आर्थिक सुधारमा ध्यान दिने बताए।

२२ फागुन, २०८०, १६:०३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।