गायक हेमन्त शर्माको प्रिय दश सुर : ‘माया साह्रै महँगो’ले दर्शकमाझ चिनायो, क्यासेट पनि भयङ्करै बिक्यो

गायक हेमन्त शर्माको प्रिय दश सुर : ‘माया साह्रै महँगो’ले दर्शकमाझ चिनायो, क्यासेट पनि भयङ्करै बिक्यो

युवा पुस्तालाई मनपर्ने सांगीतिक सिर्जना पस्किन खप्पिस गायक हुन् हेमन्त शर्मा।

पप गायकको रूपमा आफ्नो गायक करिअर सुरु गरेका उनको चर्चा भने आधुनिक गीतहरूबाट भयो। नेपाली सांगीतिक क्षेत्रमा बेग्लै पहिचान बनाएका शर्माका दर्जनौं गीतहरू दर्शक/स्रोतामाझ हिट छन्। स्टेजमा समेत उत्तिकै रुचाइएका गायक हुन् उनी।

सांगीतिक कार्यक्रमहरूमा देशविदेशमा व्यस्त उनै शर्माले उकेराले आफ्नो नियमित स्तम्भ ‘प्रिय दश सुर’का लागि समय निकाल्न भ्याए। शर्माले आफूलाई मनपर्ने आफ्ना पाँच र अरुका पाँच गीत यसरी रोजेका छन्।

आफ्ना पाँच
माया साह्रै महंगो

सुरेश अधिकारीको शब्द संगीतमा बनेको यो गीत मलाई अत्यन्त प्रिय लाग्छ। २०५९ सालमा संगीत अध्ययन गरिरहेको बेलामा यो गीतले मलाई चर्चामा ल्यायो। दर्शक तथा स्रोताले मलाई यहि गीतमार्फ चिने। यो गीतले व्यापारिक सफलतासँगै स्रोता तथा दर्शकमाझ परिचित गराउन ठूलो भूमिका खेल्यो। २०६१ सालतिर क्यासेटको जमनामा अत्यधिक बिक्री पनि भएको थियो। त्यस कारण पनि यो गीत मलाई प्रिय लाग्छ।

फूल हौ भने बसाइदेउ
मैले पाँच वटा गीत गाउँदा नछुटाउने गीतमा पर्छ ‘फूल हौ भने बसाइदेउ’। स्रोताहरूले अत्यधिक स्टेजमा खोज्ने गीत हो यो। स्टेजमा जब मैले पाइला राख्छु, तब दर्शकहरूले यहि गीत गाउन आग्रह गर्नुहुन्छ। स्रोता दर्शकले मन पराउनुभएको र मलाई पनि उतिकै मन परेको गीत भएर पनि होला, मेरा लागि यो गीत प्रिय लाग्छ। एकनारायण भण्डारीको शब्द रचना रहेको गीतमा सुरेश अधिकारीको संगीत छ।

माया त यस्तो होस् 
साधारण पृष्ठभूमिमा रहेका मायालु जोडीका लागि आफैँले शब्द संगीत तयार पारेर गाएको थिए यो गीत मैले। सुरुमा गाउँदा खासै लागेको थिएन तर बुझ्दै गएपछि यो गीत मलाई असाध्यै मनपर्न थाल्यो। केहि वर्ष यता विदेशका कार्यक्रममा होस् या नेपालमा, मैले यो गीत नगाइ सुखै पाउँदिन। त्यतिधेरै डिमाण्डेट गीतमा पनि पर्छ। सामाजिक सञ्जालमा यो गीतलाई ब्याकग्राउन्डमा राखेर भिडियो पोस्ट गरेको देख्छु। स्रोता दर्शकले मन पराइदिनुभर अनि आफैँले पनि गुनगुनाइरहने भएकाले मलाई यो गीत प्रिय लाग्छ।

थापन थापन हातैमा
यो गीत सुरेश अधिकारीले लेख्नुभएको हो, संगीत पनि उहाँकै छ। यसलाई पनि स्टेज कार्यक्रममा दर्शकले खुब रुचाउनुहुन्छ। अन्य गीतको तुलनामा यो गीतको भिडियो म आफैँलाई पनि सुन्दर लाग्छ। गीतको भाव अनुसार भिडियो बनेको जस्तो लाग्छ। स्रोतामाझ आएको यो गीत झण्डै दुई दशक हुन लाग्दा पनि उतिकै चर्चा र लोकप्रिय छ। त्यसैले पनि यो गीत मेरो जीवनमा प्रिय बनेको छ।

उता परेली झिम झिम भो 
एकनारायण भण्डारीको शब्दमा रहेको गीतमा मेरो आफ्नै संगीत र स्वर छ। आधुनिक गीतहरूले युट्युबमा खासै दर्शक बटुल्न नसकिरहेको अवस्थामा यो गीतले ट्रेन्ड नै ब्रेक गरिदियो। दुई करोड हाराहारी भ्यूज पाएको यो गीत लामो समय युट्युब ट्रेन्डिङ रह्यो भने टिकटकमा पनि उत्तिकै रुचाइयो। स्टेजमा पनि दर्शकले वान्समोर भन्नुहुन्छ। यसका शब्दहरु एकदमै राम्रो लाग्छ। अहिले कुराकानी गर्दा भर्खरै बेलाबारी, विराटचोकको कार्यक्रममा गीत गाएर आएको भएकाले पनि होला, मलाई यहि गीत मेरो रोजाइमा पर्यो।

अरुका पाँच 
एउटा मान्छेको मायाले 

भर्खर-भर्खर कलेज पढ्न लाग्दा रेडियोमा फर्माइसमा सुन्ने गीत थियो यो। हामीले चिठी लेखेर रेडियोमा यो गीत सुन्न मन लागेको छ भनेर अनुरोध गरेपछि बज्थ्यो यो गीत। शब्दको गहिराइको दृष्टिकोणले पनि मलाई मन परेको गीत हो। त्यो बेलाको किशोरावस्थाको प्रभावले पनि होला, यो गीत मलाई असाध्यै मनपर्छ। दीपक जंगमको संगीत र चाँदनी शाहको शब्द रहेको गीतलाई नारायण गोपालल गाउनुभएको छ। शब्द, संगीत र स्वर तीनै कुरामा उत्कृष्ट लाग्छ मलाई यो गीत।

हजार सपनाहरूको माया लागेर आउँछ
भक्तराज आचार्यले गाउनुभएको यो गीतमा उहाँकै संगीत रहेको छ। यो गीतले हरेक मान्छेको जीवनमा मेल खान्छ जस्तो लाग्छ। कता-कता भक्तराज आचार्यको जीवनमा यो गीत मेल खाएको जस्तो पनि लाग्छ। दुर्घटनापछिका तीस वर्षसम्म आफूलाई थम्थम्याएर बस्न यो गीतले पनि साथ दियो भन्ने मेरो अनुमान हो। कहिले श्रीमतीलाई देखेर गुनगुनाउनुभयो होला, कहिले आफ्ना बच्चाहरूको सपना देखेर माया लागेर आयो होला। कहिले नेपाली गीतसंगीतको माया लागेर आयो होला? हरेक मान्छेको जीवनीमा मेल खाएको हुनाले पनि मलाई यो गीत मलाई प्रिय लाग्छ।

म तिम्रो शहर छोडी 
प्रदीपराज पाण्डेको स्वरमा नातिकाजीको संगीत र बिबि थापाको शब्द रचना रहेको यो गीतको शब्द तथा संगीत मलाई एकदमै राम्रो लाग्छ। अनि प्रदीपराज पाण्डेको स्वर सुन्दा आनन्द नलाग्ने कुरै भएन। स्कुल-कलेज पढ्दाको समयमा निकै गुनगुनाएको गीत हो मैले। कहिलेकाहिँ अहिले पनि गुनगुनाइरहेको हुन्छु। त्यसकारण पनि यो गीत मलाई प्रिय लाग्छ।

मलाई बाँसुरीले रुवायो
एक नारायण भण्डारीको शब्द तथा संगीत रचनामा रहेको यो गीत मैले धेरै सुन्ने गीतहरूमध्ये एक हो। यो गीतमा के त्यस्तो जादु छ थाहा छैन, तर मलाई खुब मनपर्छ। गायकी, शब्द र संगीत सबै उत्कृष्ट लाग्छ। यस गीतलाई अन्जु पन्तले गाउनुभएको छ। एघार वर्षअघि सार्वजनिक भएको यो गीत अहिले पनि उतिकै कर्णप्रिय लाग्छ।

भन्थिन् मेरी उनी
कुनै गीत राम्रो भएर मनपर्छ भने कुनै गीत मन परेपछि राम्रो लाग्छ। कतिपय युवा अवस्था र परिस्थितिले पनि गीत मन परिरहेको हुन्छ। यहि क्रममा हालका लागि यो गीत मलाई मन परेको हो, प्रिय लागेको हो। यो गीतलाई दीप श्रेष्ठले गाउनुभएको छ भने संगीत पनि उहाँकै छ। गीतलाई शिवशंकर थापाले लेख्नुभएको हो। गीतको शब्द संगीत र स्वर उत्कृष्ट छ।

२२ फागुन, २०८०, १०:३०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।