माधवप्रति प्रचण्ड प्रेम : बिरामी माधवलाई भेट्न घरमै पुगे, सरकारमा आउन प्रस्ताव गरेर फर्किए

माधवप्रति प्रचण्ड प्रेम : बिरामी माधवलाई भेट्न घरमै पुगे, सरकारमा आउन प्रस्ताव गरेर फर्किए

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न निवासमै पुगेका छन्।

सत्ता गठबन्धन फेरिएसँगै अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्डले माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर नेपाल निवास कोटेश्वर पुगेका हुन्।

अध्यक्ष नेपाल बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहेका छन्। भेटमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालको स्वास्थ्य लाभको कामना गरेका थिए।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए। जवाफमा नेपालले पार्टीमा छलफल गरेर निर्णय लिने बताएको केन्द्रीय सदस्य गौतमले जानकारी लिए।

'सरकारमा सहभागी हौँ भन्ने प्रस्ताव प्रधानमन्त्रीकाे थियाे। अध्यक्षले परिस्थिति परिवर्तन भएकाे अवस्थामा थप छलफल गरेर सल्लाह गराैँला भन्नुभएकाे छ,' गौतमले भने।

सोमबार अपरान्ह गठबन्धन दलका नेताहरूबीच सरकारमा अरू दललाई पनि सहभागी गराउने सहमति भएको थियो। सोमबार नै बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले नयाँ सत्ता समीकरणबारे 'पर्ख र हेर'को रणनीति लिने सहमति गरेको थियो।

२१ फागुन, २०८०, २२:०३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।