पल्लो कोठामा चुकुल लगाएर सुतेकी थिइन् गोपिमाया, छोरा-बुहारीले थाहा पाउँदै गर्दा जलेर ज्यान गुमाइन्

पल्लो कोठामा चुकुल लगाएर सुतेकी थिइन् गोपिमाया, छोरा-बुहारीले थाहा पाउँदै गर्दा जलेर ज्यान गुमाइन्
प्रतिकात्मक तस्बिर

काठमाडौं : सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ।

इटहरी उपमहानगरपालिका -६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ बर्सिया गोपीमाया कटुवालको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।

कटुवाल सुतेको कोठामा आगलागी भएको थियो। आगोले कोठामा भएका सबैजसो सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

अर्को कोठामा उनका छोरा-बुहारी सुत्ने गरेका थिए। उनीहरूले आगो कोठामा फैलिसकेपछि मात्र आफूहरूले थाहा पाएको प्रहरीलाई बताएका छन्।

सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार केही समय अघिदेखि ती महिला डिप्रेसनको औषधि सेवन गर्दै आएकी थिइन्। चुकुल लगाएर सुतेकी ती महिलाको छोरा-बुहारी र स्थानीयको सहयोगले ढोका फुटाउदा सम्म उनको मृत्यु भइसकेको थिए।

प्रहरी र स्थानीय बासिन्दा मिलेर दमकल प्रयोग गरी आगो निभाइएकाले अन्यत्र फैलन नपाएको जनाइएको छ। के कारणले आगलागी भएको हो भन्ने खुलेको छैन।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

२० फागुन, २०८०, ११:१४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।