‘भाजपा’ भारतको सबैभन्दा धनी पार्टी, वार्षिक आम्दानी मात्र २३ अर्ब माथि; अरूको कति?

‘भाजपा’ भारतको सबैभन्दा धनी पार्टी, वार्षिक आम्दानी मात्र २३ अर्ब माथि; अरूको कति?

एजेन्सी : एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर)ले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार भारतमा भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा धनी पार्टी देखिएको छ।

आर्थिक वर्ष सन् २०२२/०२३ मा भारतका ६ राजनीतिक पार्टीले आफ्नो आय-व्यय पेस गरेको र त्यसमा भाजपाको आय सबैभन्दा धेरै रहेको एडीआरले प्रतिवेदनमा उल्लेख गरेको छ।

उक्त आर्थिक वर्षमा भारतका ६ राष्ट्रिय राजनीतिक पार्टीले ३० अर्ब ७७ करोड भारतीय रुपैयाँ आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार भाजपाले मात्र आर्थिक वर्ष २०२२/०२३ मा २३ अर्ब ६० करोड ८४ लाख ४० हजार भारतीय रुपैयाँ आर्जन गरेको छ।

आर्थिक वर्ष २०२२/०२३ मा कमाइ गर्ने पार्टीको दोस्रो स्थानमा रहेको भारतीय राष्ट्रिय कांग्रेसले चार अर्ब ५२ करोड ३७ लाख पाँच हजार भारतीय रुपैयाँ आर्जन गरेको जनाइएको छ। ६ राष्ट्रिय पार्टीले आर्जन गरेको कुल रकममा कांग्रेसको हिस्सा १४.७० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

भाजपा र कांग्रेसबाहेक बीएसपी, आम आदमी पार्टी, नेसनल पिपुल्स पार्टी र सीपीआई (एम)ले आफ्नो आय घोषणा गरेका छन्।

एनडीआरको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२१/०२२ र २०२२/०२३ का बीचमा भाजपाको आय निकै बढेको छ। २०२१/०२२ मा भाजपाको आय १९ अर्ब १७ करोड १२ लाख भारतीय रुपैयाँ थियो। २०२२/०२३ मा भाजापको आय बढेर २३ अर्ब ६० करोड ८४ लाख ४० हजार भारू पुगेको हो।

यस्तै, आर्थिक वर्ष २०२१/०२२ मा आम आदमी पार्टीको आय ४४ करोड ५३ लाख भारू थियो। आर्थिक वर्ष २०२२/०२३ मा आइपुग्दा आम आदमी पार्टीको आय ८५ करोड १७ लाख भारू पुगेको छ। आम आदमी पार्टीको कमाइ ९१.२३ प्रतिशतले वृद्धि भएको छ।

आर्थिक वर्ष २०२२/०२३ मा कांग्रेसको आय चार अर्ब ५२ करोड ३७ लाख ५० हजार र खर्च चार अर्ब ६७ करोड १३ लाख ५० हजार भारू भएको प्रतिवेदनमा उल्लेख छ। २०२२/०२३ मा भाजपाको आम्दानी २३ अर्ब ६० करोड ८४ लाख ४० हजार र खर्च १३ अर्ब ६१ करोड ६८ लाख ४० हजार भारू भएको प्रतिवेदनमा उल्लेख छ।

उक्त वर्ष भाजपा नौ अर्ब ९९ करोड १६ लाख भारू नाफामा छ ।

१७ फागुन, २०८०, १७:४९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।