पुन्य गौतमसँग रत्नपार्कमा भाषण ठोकेर फिल्म चल्ला त नवलजी?

पुन्य गौतमसँग रत्नपार्कमा भाषण ठोकेर फिल्म चल्ला त नवलजी?

काठमाडौं : फिल्म चलाउन नेपाली फिल्मकर्मीले स्टन्डबाजी गर्ने गरेको घटना नौलो हैन। नेपाली चलचित्रका पाका र अनुभवी फिल्मकर्मीहरू यसबारे पूर्ण जानकार छन्। नयाँहरू सिक्ने क्रममा छन्।

अभिनेता तथा निर्देशक नवल खड्का अहिले त्यस्तै स्टन्डबाजी गरिरहेका छन्। आफ्नो फिल्म ‘काँडेतार’को प्रचारमा रहेको उनी कहिले प्रतिस्पर्धी फिल्मका निर्मातालाई गाली गर्छन् त कहिले सरकारलाई।

दर्शक तान्न के–के गर्नुपर्छ भन्ने राम्रोसँग थाहा भएका खड्काले फिल्मको छायांकनदेखि नै अनेक फन्डा निकाल्दै आएका हुन्। कहिले सुटिङ रोकिएको त कहिले चलचित्र सेन्सर बोर्डले सेन्सर पास नदिएको भन्दै उनी आक्रोशित भएका थिए।

आफ्नो फिल्मसँग जुधाउन आउने रेखा थापालाई उनले ‘नेपाललाई माया नगर्ने व्यक्ति’का रूपमा चित्रण गर्दै आइरहेका छन्। सन्तान जन्माउन अमेरिका गएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको बेला उनले रेखालाई ‘देशलाई माया नगर्ने’को बिल्ला भिराउँदै आफूलाई राष्ट्रवादी घोषित गरे।

सामान्य अवस्था हुँदो हो त ‘उपहार’ निर्मात्री रेखा थापाले पनि त्यसको प्रतिकार गर्थिन् होला। तर, अहिले प्रतिकार गर्ने अवस्थामा छैैनन्। उनी अमेरिकामा मातृत्व अनुभव गर्दैछिन्। फिल्मभन्दा बढी ध्यान सन्तानतर्फ भएकाले हुनुपर्छ, उनी पछिल्लो समय मौन छिन्।

यति मात्र हैन, खड्काले मंगलबार रत्नपार्कस्थित शन्तिबाटिकामा एक कार्यक्रम नै राखेर देशको सिमानामा काँडेतार लगाउनुपर्ने भाषण गर्न भ्याए। त्यसको लागि भन्दै उनले हस्ताक्षरसमेत संकलन गरे। सो कार्यक्रममा वक्ताको रूपमा उनीसँगै थिए भाइरल म्यान पुन्य गौतम।

पुन्य गौतमको भरमा फिल्म चलाउन लागिपरेका खड्काले आफ्नो फिल्मको कन्टेन्टको बारेमा जानकारी दिनुभन्दा पनि सरकार र अन्य फिल्ममा निर्माता तथा निर्देशकलाई भक्कुमार गाली गर्दै थिए।

राम्रो फिल्म भए दर्शक हलमा आइहाल्छन्। यसरी अरुलाई गाली गरेर स्टन्डबाजी गर्नै पर्दैन नि! यो कुरा खड्काजीले कहिले बुझ्ने हो खै!

फागुन १६, २०८० बुधबार ११:५३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।