ब्रिटिस काउन्सिलको सातौं 'एजुकेसन सिम्पोसियम' सम्पन्न

ब्रिटिस काउन्सिलको सातौं 'एजुकेसन सिम्पोसियम' सम्पन्न

काठमाडौं : ब्रिटिस काउन्सिल नेपालले आयोजना गरेको सातौँ 'एजुकेसन सिम्पोसियम' सम्पन्न भएको छ।

सोमबार काठमाडौँमा 'शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको पेसागत विकास' शीर्षकमा सिम्पोसियम (सङ्गोष्ठी)को आयोजना गरिएको थियो।

समावेशी शिक्षा, कलामार्फत सृजनशील शिक्षाको मूल्याङ्कनका लागि शिक्षणका अभ्यासहरूमा प्रविधिको समायोजन लगायतका विविध विषयमा सिम्पोसियममा परिचर्चा गरिएको काउन्सिलले जनाएको छ।

काउन्सिलका अनुसार सिम्पोसियम नेपालको विद्यालय शिक्षा क्षेत्र योजनामा उल्लेख भए अनुरूपको 'शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको निरन्तर पेसागत विकास' (सीपीडी)' मा केन्द्रित रहेको थियो। सिम्पोसियम सीपीडीसम्बन्धी ब्रिटिस काउन्सिलको विश्वव्यापी बुझाइ तथा शिक्षण र शिक्षकको विकासमा रहेको विज्ञतामा आधारित रहेको बताइएको छ।

ब्रिटिस काउन्सिलको उच्च स्तरको 'सीपीडी' उपलब्ध गराउने, शिक्षकहरूको अभ्यास अभिवृद्धि गराउँदै उनीहरूको सिकाइलाई सफल बनाउन योगदान उद्देश्य रहेको बताएको छ।

सिम्पोसियममा नेपालमा शिक्षकको सहयोगका लागि संयन्त्र विकास गर्ने सम्बन्धमा बेलायतसहित विश्वभर अपनाइएका नीति, अभ्यास र सफल मोडलहरूका बारेमा छलफल भएको थियो।

कार्यक्रममा नेपालका लागि बेलायतका राजदूत रोब फेनले भने , 'शिक्षाका लागि विश्वव्यापी साझेदारी लगायत कार्यक्रमहरू मार्फत बेलायत सरकारले नेपाललाई मानव विकासका सूचकाङ्कहरू हासिल गर्न सहायता उपलब्ध गराउँदै आएको छ। नेपालका तीनै तहका सरकारसँगको सहकार्यमा काठमाडौँमा रहेको बेलायती दूतावास र ब्रिटिस काउन्सिल नेपालको एसइएसपी कार्यान्वयनमा सघाउन प्रतिबद्ध छ।' 

१५ फागुन, २०८०, १९:१६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।