खेलकुद समितिमा एमालेको मान्छे नियुक्त गरेको भन्दै कांग्रेस जनप्रतिनिधिले गरे देवदहमा तालाबन्दी र तोडफोड

खेलकुद समितिमा एमालेको मान्छे नियुक्त गरेको भन्दै कांग्रेस जनप्रतिनिधिले गरे देवदहमा तालाबन्दी र तोडफोड

बुटवल : रूपन्देहीको देवदह नगरपालिकामा नेपाली कांग्रेसका जनप्रतिनिधिले नगरप्रमुख ध्रुव खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

सोमबार बिहान हुल दंगा गर्दै नगरपालिका पुगेका उनीहरूले अराजक शैलीमा प्रमुख प्रशासकीय अधिकृत सापकोटाको कार्यकक्षमा प्रवेश गरी उनलाई हातपातको प्रयास गरेका हुन्। उनीहरूले नाम प्लेट र टेबुल, सिसासमेत फुटाएर फालेका छन्।

प्रमुख प्रशासकीय अधिकृत सापकोटा आफ्नो कार्यकक्षमै बसेर काम गरिरहेका थिए। उनलाई जबर्जस्ती बाहिर निकाल्न खोजेपछि प्रहरी र नगर प्रहरीले सापकोटालाई सहारा दिएर बाहिर निकालेपछि हातपातबाट बचेका थिए। उनीहरूले नेपाल प्रहरीले बोकेको टियर ग्याँसको हतियार खोस्ने प्रयास समेत गरेका थिए।

मेयर खरेल र सापकोटा विरूद्व नाराबाजी गर्दै दुवै जनाको कार्यकक्षमा तालाबन्दी गरेपछि अवस्था तनाबग्रस्त बन्न पुगेको थियो। आफ्नो काम लिएर कार्यालय पुगेका सेवाग्राहीले समेत जनप्रतिनिधिको क्रियाकलापलाई गैरजिम्मेवार, अलोकतान्त्रिक र अराजक चरित्र भनेका छन्।

बहुमत र एकपक्षीय ढंगबाट मेयर र हाकिम अघि बढेको आरोप लगाउँदै उनीहरूले तालाबन्दी गरेका थिए। मेयर आफ्नो क्षेत्राधिकार र नीतिगत निर्णय गरी नगर खेलकुद विकास समितिमा कमल पाण्डेलाई नियुक्त गरेपछि कांग्रेसले एमाले बाहेक अन्य पार्टीले खेलकुद समितिको नेतृत्व दिनुपर्ने भन्दै विवाद सृजना गरेका थिए।

वडा नम्बर-४ का अध्यक्ष दमननाथ रेग्मीले मेयर र हाकिमको शैली पक्षपातपूर्ण भएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको दाबी गरे।

‘वडाअध्यक्ष र केही जनप्रतिनिधिको असहमति हुँदा हुँदै प्रमुख प्रशासकीय अधिकृतले सबैलाई मिलाएर लैजानुपर्ने ठाउँमा नगर प्रमुख र उपप्रमुख, वडा अध्यक्ष कार्यपालिका सदस्यहरूबीच द्वन्द्व सृजना गराए। कोरम नपुग्दा नपुग्दै घर घरमा गएर हस्ताक्षर गराए। नगरसभा सञ्चालन गरिएपछि आफूहरू बाध्य भएर आन्दोलित हुनुपरेको हो,’ रेग्मीले भने।

देवदहमा मेयर उपमेयर एमालेबाट निर्वाचित हुन्।

तालाबन्दीले नगरको कामकाज प्रभावित हुँदा सेवाग्राही अफ्टयारोमा परेका छन्। ७ जना वडा अध्यक्षसहित २२ जना जनप्रतिनिधि आन्दोलित भएका छन्।

मेयर खरेलले जनप्रतिनिधि नै पालिकाका मेयर र हाकिमको कार्यकक्षमा तोडफोड गर्दै तालाबन्दी गर्ने कार्य सह्य नहुने बताए।

‘पटकपटक छलफल गरियो। कांग्रेसका नेतासँग पनि छलफल गरियो। मुढेबलले हुने भए मेयर, हाकिम किन चाहियो? हामी अधिकार क्षेत्र बाहिर गएर काम गरेको भए सजाए भोग्न तयार छौं। तर, यस्तो कार्य स्वीकार्य छैन।’

‘नगरप्रमुखको क्षेत्राधिकार भित्रको काम जबर्जस्ती काम गर्न नदिने वातावरण सृजना भएपछि बाध्य भएर खेलकुद विकास समिति गठन गरिएको हो। भएको निर्णय तलमाथि हुँदैन।’ मेयर खरेलले थपे।

एमाले नगर इन्चार्ज यम रानाले वडाअध्यक्ष र कार्यपालिका सदस्यले अत्यन्त अभद्र र उदण्ड शैलीमा गरेको तालाबन्दी र तोडफोड सार्वभौमसत्ता र जनताबाट निर्वाचित जनप्रनिधिमाथिको आक्रमण भएको बताए। रानाले देवदहमा कांग्रेसले अफ्टयारो झिक्ने बाहेक अरू काम नगरेको आरोप लगाए।

आन्दोलित जनप्रतिनिधिले नदीजन्य पदार्थ चोरी तस्करीका ट्याक्टर, जेसीभी कारवाही गर्नुको साटो मिलेमतोमा छाडिएको, शिक्षक कर्मचारी नियुक्ति पारदर्शी नभएको, कार्यपालिकाको निर्णय बिना नगर प्रमुखले तोक आदेशको भरमा विभिन्न शीर्षकमा रकम बाँडेको आरोप लगाएका छन्।

आजै देवदह नगरपालिकाले एक विज्ञप्ति प्रकाशित गर्दै वडा नम्बर १० का अध्यक्ष एक बहादुर सुनार र ९ नम्बरका अध्यक्ष मोहन जिसीको नेतृत्वमा काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्षहरू, नगरसभा सदस्यहरू लगायतले नगरपालिकामा पदीय मर्यादा विपरीत नियोजित रुपमा प्रवेश गरि आपराधिक घटना घटाएको प्रति ध्यानाकर्षण भएको जनाएको छ।

‘निर्वाचित जनप्रतिनिधिले अनुशासित र मर्यादित रुपमा असहमतिका विषयहरू राख्नुपर्ने अराजक शैलीमा प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद सापकोटामाथि फौजदारी अपराध संहिताले वर्जित गरेका कार्यहरू गर्ने, पटकपटक धम्क्याउने, अपमान गर्ने, प्रमुख प्रशासकीय अधिकृतको कक्षमा अराजक शैलीमा प्रवेश गरि सार्वजनिक रुपमा तोडफोड गर्ने, हातपात गर्ने, हुल हुज्जत गर्ने लगायतका आपराधिक उपद्र कार्यप्रति देवदह नगरपालिका परिवार भर्त्सना गर्दछौ’, विज्ञप्तिमा उल्लेख छ।

देवदह बासीको समृद्धिको सपनालाई सार्थक बनाउन भर्खर मात्रै देवदहको प्रशासकीयको नेतृत्व सम्हाल्न आउनु भएका प्रमुख प्रशासकीय अधिकृतको काम गर्ने, योजना कार्यान्वयन गर्ने नवीनतम् शैली, बिगत लामो समयदेखि थाती र देवदहका महत्त्वपूर्ण कार्यहरू जस्तै कोशेलीघर संचालन कार्यबिधी निर्माण गरि संचालन योजना अगाडि सार्नु, अव्यवस्थित घरजग्गाको अभिलेखिकरण, कर सहभागिता अभियान, स्रोतमै फोहोर वर्गीकरण अभियान, स्थानीय जनतालाई प्रत्यक्ष रुपमा स्थानीय सरकारको अनुभूति सहितको एकीकृत घुम्ती सेवा अभियान मार्फत सबै जनता माझ पुग्नेगरि कार्यक्रम ल्याउनु, आर्थिक वर्षको चैत मसान्तसम्म योजनाको काम सम्पन्न गर्ने गरि उपभोक्तालाई प्रशिक्षण, अभिमुखीकरण, वडा कार्यालय, टोल विकास संस्था, स्थानीय समुदायलाई परिचालन गरि आन्तरिक आय तथा विकास निर्माणको गतिला प्रभावकारी बनाउन उत्प्रेरित गर्ने, सार्वजनिक जवाफदेहीता र सुशासन सहित नगरपालिकाको कामलाई पारदर्शी जनताका चासो गुनासोलाई सम्बोधन गर्ने गरि सार्वजनिक सुनुवाइ, शाखा एवं वडागत रुपमा समीक्षा गर्ने, आगामी आर्थिक वर्षमा नगरपालिकाको कार्य सम्पादन (लिजा) मा उत्कृष्टता हासिल गर्ने गरि प्रतिज्ञा एवं योजना अगाडि ल्याउँदै गर्दा प्रमुख प्रशासकीय अधिकृत र नगरपालिका सबै कर्मचारीलाई हतोत्साहित गर्ने गरि कार्य भएको विज्ञप्तिमा उल्लेख छ।

१४ फागुन, २०८०, २२:१५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।