माओवादी सांसद सापकोटालाई शाहीको जवाफ : मैले जनता मारेर आएको हो र राजीनामा दिन?

माओवादी सांसद सापकोटालाई शाहीको जवाफ : मैले जनता मारेर आएको हो र राजीनामा दिन?

काठमाडौं : आफ्नो पार्टीमाथि नैतिकताको प्रश्न उठेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आफूले किन राजीनामा दिने भन्दै प्रश्न गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले यस्तो प्रश्न गरेका हुन्।

उनीभन्दा अघि बोलेका माओवादी केन्द्रका सांसद माधव सापकोटाले वर्तमान संविधान र व्यवस्थाविरुद्ध कुन नैतिकताले बोलेको भन्दै राप्रपालाई त्यो अधिकार नभएको बताएका थिए। 

'यही संविधानले दिएको लोगो र यसले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने। लोगो लगाएर सारा सेवा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने। प्रदेशतिर गएर सभामुख पनि लिने, तर फेरि यो संविधानलाई विरोध गर्ने?,' सापकोटाले भने, 'यो संविधान र व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्रवादी हुन सक्दैन।'

सो विषयमा शाहीले संविधानमा फरक मत राख्ने अधिकार भएको भन्दै सापकोटालाई जवाफ फर्काएका हुन्।

'यो देशमा यो व्यवस्था चाहिने कि नचाहिने संशोधन गर्न पाइन्छ भनेको छ। कसैले विचार मिल्दैन भन्दै अमुक मान्छेले राजीनामा माग्न पाइँदैन। अलिकति ज्ञान भए संविधान पढेर आउनू, आउँदैन भने हामीसँग सिकाइ माग्नुपर्यो,' उनले भने, 'संविधानले विशेष अधिकार दिएको छ। कुनै पनि सांसदले स्पष्ट रूपमा वाक् स्वतन्त्रता दिएकाले कसैले राजीनामा माग्न पाइँदैन।'

आफू जुम्लाका जनताबाट निर्वाचित भएर आएको भन्दै उनले थपे, 'मैले किन राजीनामा दिने? मैले आठ/नौ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो? गुड्दै गरेको बसमा बम हानेर मारेको हो? किन राजीनामा दिने? मैले नेपाली जनता मारेको हो? जातजाति, धर्मको नाममा हिंसा गरेर आएको हो?'

उनले यति भने लगत्तै माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए। तर, सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद सुनील शर्माले पाण्डेको विरोध गरेका थिए।

१३ फागुन, २०८०, १३:४२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।