गायक तथा संगीतकार आशिष अविरलका दश सुर : ‘जुन फूल मैले चाहेको थिएँ’ गुनगुनाउँदा जहिल्यै भावुक हुन्छु, आँशु नै आउँछ’

गायक तथा संगीतकार आशिष अविरलका दश सुर : ‘जुन फूल मैले चाहेको थिएँ’ गुनगुनाउँदा जहिल्यै भावुक हुन्छु, आँशु नै आउँछ’

संगीतकार आशिष अविरलका थुप्रै गीतहरू स्रोता तथा दर्शकमाझ लोकप्रिय बनेका छन्। सयौं गीतमा आफ्नो संगीतको जादु चलाइसकेका अविरलले केहि गीतमा आफ्नो समेत स्वर भरेका छन्।

बाल्यकालबाट अरुको गीत सुन्दै स्कुलमा आफ्ना साथी र शिक्षकलाई सुनाउँदै आएका अविरलले आफैँले संगीत गरेका थुप्रै गीतले स्रोताको मनमा डेरा जमाइसकेको छ।

उनी आफ्नो र अरुको गीतहरू उतिकै मात्रामा सुन्ने र गुनगुनाउने गरेका छन्। उनले सुनेका र आफूले संगीत भरेका गीतहरूमा आफूलाई प्रिय लाग्ने गीतलाई यसरी छनोट गरेका छन्।

तिमीले दिने माया
नरेन्द्र प्यासी दाइ र अञ्जना गुरुङको स्वर रहेको यो गीतमा आनन्द अधिकारीको शब्द छ। यो गीत कम्पोज गर्ने बेलामा एक खाल्को अलौकिक खाल्को अनुभूति भएको थियो। गीत स्टुडियोमा रेकर्ड गरेर बज्दाखेरि हरेक मान्छेलाई भित्र आउन बाध्य पारेको थियो। यो गीत सुनेर मान्छेहरू झुम्मिन्थे। अनि यो गीत मेरो करियरका लागि पनि अलिक विशेष छ।

माया लुकी लुकी
आनन्द अधिकारीले लेख्नुभएको यो गीत टीका प्रसाईंले गाउनुभएको छ। संगीत भने मेरो छ। आफूले मन पराएको मानिसलाई लुकी लुकी हेरेको अवस्थाको बारेमा गीत बोलेको छ। गीतकारले कुनै युवतीको भावनालाई गहिरिएर गीत लेख्नुभएको छ। यो गीतको संगीत गर्दा मलाई बेग्लै मजा आएको थियो। कतिपयले यो गीतलाई अनर्थ पनि लगाए। दर्शकमाझ लोकप्रिय बनेको गीत भएर पनि यो गीत मलाई राम्रो लाग्छ।

परान परान
म आफैँले गाएको भएर पनि यो गीत मलाई मनपर्छ। यो गीतमा म र अन्जु पन्तले गाएका छौँ। यो एउटा गन्धर्व शैली र पूर्वको लोकशैली मिसिएको गीत हो, यसमा अर्ग्यानिक मेलोडी छ। गीतको भाव प्रकट गर्दा पनि मायाको सबै सर्वश्व दिँदा पनि लिने मान्छेले लिन नमानेको कुराहरू गीतमा समावेश गरिएको छ। आफूबाट रिसाएको र लत्याएको मान्छे भएता पनि उसैको मायामा डुबेको भाव छ। अन्तमा भन्नुपर्दा यो गीतले मलाई गायनमा पनि सफलता दिएको गीत हो।

नाईँ मलाई थाहा छैन
यो गीत टीका प्रसाईं र सन्जिव पराजुलीले गाउनुभएको छ। एकनारायण भण्डारीले लेख्नुभएको यो गीतमा मैले संगीत भरेको छु। ‘मलाई थाहा छैन’ भन्ने शब्दलाई लिएर गीतकारले जसरी गीत लेख्नुभएको छ, कमाल नै गर्नुभएको छ नि! यो गीतमा मैले संगीत भर्दा न्याय गर्न सके जस्तो लाग्छ। त्यसकारण पनि यो गीत मलाई राम्रो लाग्छ।

यो देश ठूलो, म यहि देशको धुलो
यो गीतलाई पनि आनन्द अधिकारीले नै लेख्नुभएको हो भने यसलाई नरेन्द्र प्यासीले गाउनुभएको छ। यो गीत हामीले त्यो बेला एल्बममा मात्रै राखेका थियौँ। एल्बममा राखेपछि निकै पपुलर भयो। नेपाली सेनाले पनि यो गीत पटक–पटक पफर्मेन्स गर्दै आउनुभएको छ। प्रताप दासले नेपाल आइडलमा गाइदिएपछि झन् पपुलर बन्यो यो गीत। यो गीत चाहि राष्ट्रभाव दर्साउने एउटा कलाकारको चाहिँ भावना प्रस्तुत गर्ने मौका पाएँ। त्यस कारण पनि यो गीत मेरो लागि एकदमै प्रिय छ।

अरुका पाँच 
जुन फूल मैले चाहेको थिए

मैले प्रायजसो गीत प्राक्टिस गर्दा यहि गीतबाट सुरुवात गर्थेँ र अहिले पनि गर्छु। यो गीत सुन्दा र गाउँदा भावविह्वल बनाउँछ मलाई। आँसु पनि आउँछ मलाई। सानैदेखि सुनिरहेको र प्राक्टिस गर्दा गुनगुनाउने गीत भएर पनि होला एकदमै प्रिय लाग्छ। नारायण गोपालले गाउनुभएको यो गीतलाई उहाँले नै संगीत गर्नुभएको छ। गीतलाई भैरवनाथ रिमालले लेख्नुभएको हो।

फूलको थुँगा बहेर गयो
मैले धेरै पटक गुनगुनाएको गीत हो यो। तारादेवीले गाउनुभएको गीतमा नातिकाजीको संगीत छ। यस गीतलाई माधवप्रसाद घिमिरेले लेख्नुभएको हो। यो गीत सुनेर म तारादेवीको फ्यान बनेको हो। उहाँको यो गीत निकै राम्रो लाग्छ। मैले गीतहरू प्राक्टिस गर्दा अत्यधिक गुनगुनाइरहेको गीत पनि हुनाले यो मेरो लागि निकै प्रिय लाग्छ। 

सपना भुलाइ सारा
योगेश वैद्यले गाउनुभएको यो गीत मलाई मात्र हैन, धेरै स्रोताहरूलाई मनपर्छ होला। जति सुने पनि सुनिरहुँ लाग्ने गीतमध्ये एक हो यो। नातिकाजीको संगीत रहेको यो गीतमा शब्द रचना शिव अधिकारीको छ। संगीतकारले कतिसम्मको संगीतभाव प्रकट गर्नसक्छ भन्ने कुरा यो गीतले भन्नसक्छ जस्तो लाग्छ मलाई। किनभने त्यति गहिराइमा डुबेर संगीत गरिएको छ। त्यसकारण पनि यो गीत मलाई प्रिय लाग्छ। 

सपना भई आँखामा आउने 
रन्जीत गजमेर दाइको यो गीत मलाई असाध्यै राम्रो लाग्छ। उहाँको संगीत र साधना सरगमको स्वर रहेको यो गीतमा कुसुम गजमेर र तुल्सी घिमिरेको शब्द रचना रहेको छ। ‘दक्षिणा’ फिल्ममा समावेश यो गीत स्कुलमा मैले प्राय गाइरहेको हुन्थेँ। मैले यो गीत गाउँदा मेरो साथीहरूले वान्समोर भनेर दोहोर्याएर गाउन लगाएको अहिले जस्तो लाग्छ। धेरै सुन्ने गीतहरू र गुनगुनाउनेमध्ये यो गीत मेरो लागि प्रिय छ। किनभने स्कुलका ती साथीहरूले मलाई गाउनका लागि उत्प्रेरणा गरेको गीत हो। यो गीत सुन्दा अहिले पनि मलाई त्यो बेलाको सम्झना गराउँछ।

आँखैमा झलझली
शर्मिला बर्देवाले गाउनुभएको यो गीतले मलाई बालापनको झल्को दिन्छ। सानैमा निकै सुनेको हुनाले पनि यो मेरो मानसपटलमा यसरी बसेको छ। बिर्सनै सक्दिनँ। कुनै समय उहाँसँग मेरो कुराकानी पनि भएको थियो। मैले उहाँको गीत गाएर सुनाउँदा खुशी व्यक्त पनि गर्नुभएको थियो। मलाई धेरै गीतहरू मध्ये यो गीत प्रिय लागेको हो। 

१३ फागुन, २०८०, ११:२१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।