५/७ वटा पार्टीले मात्रै मुलुक बनाएर बन्ने होइन, अरूको खुट्टा तानेर मात्र पनि हुँदैन : शिक्षामन्त्री

५/७ वटा पार्टीले मात्रै मुलुक बनाएर बन्ने होइन, अरूको खुट्टा तानेर मात्र पनि हुँदैन : शिक्षामन्त्री

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजानुपर्ने बताएका छन्।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरूको खुट्टा तान्ने काममा धेरै व्यस्त भएर मुलुक सम्पन्न नबन्ने बताए।

उनले सरकारमा बसेका मन्त्रीहरूको सोचले मात्रै देश परिवर्तन गर्न सम्भव नहुने भन्दै राष्ट्रको सोचलाई उत्पादनमुखी, उद्योगमुखी र श्रममुखी दिशामा लैजान आवश्यक रहेको बताए।

उनले मुलुक २५ जना मन्त्री र ५/७ वटा राजनीतिक दलहरूले मात्रै बनाएर नबन्ने भन्दै तीन करोड नेपालीका ६ करोड हातहरू संयमित रुपमा क्रियाशील हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

उनले भने, ‘हामीले निर्यात गर्न नसकौँला तर आयात मात्रै प्रतिस्थापन गर्यौं भने पनि हाम्रो सम्पन्नताको ग्यारेन्टी हुन्छ। त्यसतर्फ हामी सबैले सोच्नुपर्छ। यो खालि सरकारमा बसेका दुई चार जना मन्त्रीले मात्रै सोचेर हुने कुरा होइन। राष्ट्रको सोचलाई नै उत्पादनमुखी दिशामा लैजानुपर्छ। उद्योगमुखी दिशामा लैजानुपर्छ। श्रममुखी दिशामा लैजानुपर्छ। अरूको खुट्टा तान्ने काममा धेरै व्यस्त भयौँ भने मुलुक बन्दैन। मुलुक २५ जना मन्त्रीले मात्रै बनाएर बन्ने होइन। यो ५/७ वटा पार्टीले मात्रै बनाएर बन्ने होइन, तीन करोड नेपालीका ६ करोड हातहरू संयमित रूपमा क्रियाशील हुनुपर्छ।’

 

१२ फागुन, २०८०, १५:२७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।