‘हात्तीछाप’ फ्लप भएपछि सौगातको प्रतिक्रिया ‘जस्तो अभिनय गराउँछन् त्यस्तै गर्दिने हो’

‘हात्तीछाप’ फ्लप भएपछि सौगातको प्रतिक्रिया ‘जस्तो अभिनय गराउँछन् त्यस्तै गर्दिने हो’

काठमाडौं :  अभिनेता सौगात मल्लको क्षमता अनुसार  निर्देशकले काम गराउन  सकेनन् या उनी निर्देशकले भनेको मान्दैनन्? प्रश्न अनुत्तरित छ। चारित्रिकगत रुपमा हेर्दा उनले प्रत्येक फिल्ममा केही न केही नयाँ अभिनय गर्ने प्रयास गरिरकेकै देखिन्छ। तर अनावश्यक लाउड चरित्र उनको पहिचानै बनिसक्यो।

माघ २६ गते प्रदर्शनमा आएको फिल्म ‘हात्तीछाप’ सम्म पनि उनको यो कमजोरी कायमै रह्यो। बोतल राजाको अभिनय गर्दा  सौगातको अभिनय अनि आवाज निकै लाउड सुनियो। यति मात्र होइन, फिल्मको कथा नै गज्याङगुजुङ थियो।

फिल्म मेकर्सले फिल्म गतिलो बनेको दाबि गरे पनि सौगातले भने कमजोरी स्विकारे। बिहीबार फिल्म अगस्त्यको प्रेसमिटमा उनले फिल्मको कथा गतिलो नभएको आशय व्यक्त गर्दै आफूले अलिक लाउड बोलेको अनुभव भएको बताए।

पत्रकारले तपाईंले फिल्म ‘हात्तीछाप’मा लाउड बोलेको आरोप लागेको थियो नि भन्ने प्रश्नको जवाफमा उनले भने, ‘खासमा कस्तो हुने रैछ भने, जब कथामा केही हुँदैन तब पानीको छाल जस्तै हुन्छ सिनेमा। कथामा कुनै गुदी छ, केही गर्नुपर्ने छैन भने, काम गर्न पनि मजा आउँछ। केही गर्नुपर्दैन।’

उनले फिल्मको कथा गतिलो नभएको हुँदा मर्नु भन्दा बौलाउनु निको जस्तो लागेको आशयबाट प्रष्ट पारे। उनले थपे, ‘डुब्न लागेको मान्छेले आफूलाई बचाउनका लागि त्यही गर्छ, जुन मैले त्यस सिनेमामा गरेँ जस्तो लाग्छ। १५ वर्ष थिएटरमा बिताएर आएको हुनाले पनि होला, बोली ठुलै हुन्छ।’

त्यही बेला पत्रकारले तपाईंलाई निर्देशकले नियन्त्रण गर्न नसकेको हो की भन्ने प्रश्न तेर्स्याए। उनले जवाफमा जे चाहिएको हो त्यो कुरामा क्लियर नहुँदाको अवस्थामा यस्तो अवस्था आएको बताए।

उनले अघिल्ला फिल्ममा पनि आफूले काम गर्दा निर्देशकले ओके भन्ने गरेको खुलासा गरे। उनले दिँदै भने, ‘पशुपति प्रसादमा पनि मेरो केही गल्ती छ। तर, त्यसमा मलाई कसैले केही भनेको त होइन। त्यसमा पनि मैले सरसर्ती अभिनय गरेको हो अनि यसमा(हात्तिछाप)  पनि सरसर्ती अभिनय गरेको हो।’

उनले आफ्नो अपोजिट पात्रले जे भूमिका गरिरहेको छ, त्यसको जवाफ फर्काउँदा सोही अनुसार डाइलक बोलिने बताए।

उनले भने, ‘मलाई कस्तो लाग्छ भने, आफू अगाडिको पात्रको मुमेन्ट कस्तो छ, त्यही अनुसार बोलिने हो। अब विपिनकै मुमेन्ट छ भने मैले कराएर चिच्याएर कामै छैन। जस्ट मेरो दिमागको सोचाइ हो। त्यसै गर्दै जाँदा ओके भनिएको हुनाले यस्तो भयो कि जस्तो लाग्छ मलाई। आफूलाई थाहा हुने भएको भए त म आफैं डिरेक्टर भइहाल्थे नि। मैले आफ्नो अपसनहरू दिने हो अथवा जस्तो गराउँछौ म त्यस्तै गर्दिने हो।’

फागुन १०, २०८० बिहीबार १७:५३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।