नेपाली फिल्मको अवस्था : घोषणामा हतार, निर्माणमा लटरपटर

नेपाली फिल्मको अवस्था :  घोषणामा हतार, निर्माणमा लटरपटर

काठमाडौं : नेपालमा पहिला फिल्म निर्माणको हल्ला चलाउने अनि लगानीकर्ता खोज्ने चलन पुरानै हो। कतिपयले यसलाई फिल्मको कलाकारको नाम सहित पोस्टर निकालेर 'मूर्गा' खोज्ने शैली पनि भन्छन्। केहीको हकमा प्राविधिक समस्या पनि नदेखिएका हैनन्। तर अधिकांशको नियत फिल्म निर्माणको घोषणामा हतार गर्ने तर काम भने लटपटर गर्ने नै देखिन्छ। 

निर्माता तथा लेखक मौनता श्रेष्ठले फिल्म ‘स्वामी’को पोस्टर सामाजिक सञ्जालमा राखेर ‘निर्माणको तयारी’ भन्दै आएका छन्। तर, कहिले बन्छ भन्ने उनलाई नै थाहा रहेनछ। उनले फिल्मको निर्माता आफैँ भएकाले लगानीकर्ता खोज्नुनपर्ने दाबी गरे।

‘पोस्टर सार्वजनिक गरेको लामो समयसम्म पनि किन फिल्म निर्माण हुन सकेन?’

‘फिल्मका मुख्य कलाकार राजेश हमाल, सौगात मल्ल र अर्पण थापाको जवाफ पर्खिएर बसेको छु। उहाँहरूको जवाफ आएपछि मात्र कुरा अघि बढ्छ,’ श्रेष्ठले दाबी गरे, ‘मेरो फिल्मका लागि पक्का नभइसकेकाले कलाकारसँग फोटो राखेको छैन। दर्शकहरूलाई जानकारीका लागि पोस्टर चाहिँ राखेको हुँ।’

फिल्म ‘आँधि तुफान२’मा डुबेपछि आत्तिएका उनी फिल्म व्यापार पनि भएकोले गतिलो फिल्म बनाउन र लगानी गर्न समय लाग्ने उनी बताउँछन्।

सांसद भइसकेका गुण्ड नाइके दीपक मनाङ्गे आफैँ हिरो भएर फिल्म ‘बाघचाल’ निर्माण गर्ने घोषणा गरेको पनि लामै समय भइसक्यो। तर यसको निर्माणको काम शुरु भएको छैन। 

शिवम् अधिकारीले लेखेको फिल्मको कथालाई सम्राट बस्नेतले निर्देशन गर्ने भनिएको थियो। फिल्म अभिनेता सबिन श्रेष्ठको सहकार्यमा निर्माण हुने कुरा थियो। तर, अहिले सबिन अलमलमा छन्। यो फिल्म के कारणले रोकियो निर्माण टिम नै प्रष्ट छैन।

छ वर्षअघि २०७४ जेठमा काठमाडौंको पाँचतारे होटलमा सन्तोष सेनले फिल्म ‘दीपेन्द्र सरकार’ निर्माणको घोषणा गरेका थिए। दरबार हत्याकाण्डमा मारिएका दीपेन्द्र शाहको कथामा बन्ने दाबी गरिएको फिल्ममा अभिनेता प्रदीप खड्कालाई दीपेन्द्रको लुक्समा पोस्टर सार्वजनिक गरिएको थियो। २०७५ जेठ १९ गते प्रदर्शन मिति तोकियो तर २०८० सम्ममा नि फिल्म फ्लोरमा गएको छैन।

फिल्म ‘सतिदेवी’को प्रदर्शनको टुङ्गो लगाउन समय कुरिरहेका लक्ष्मण सुवेदीले अर्को फिल्म समेत घोषणा गरिसकेका छन्। पुरानै फिल्मको प्रदर्शन मिति तय गर्न अन्योलमा रहेका निर्देशक सुवेदीले अर्को फिल्म ‘पार्वती’ घोषणा गरेका हुन्। उनी आफैँ निर्माता रहने भन्दै पोस्टर रिलिज गरिसकेका छन्। तर, फिल्मको सुटिङ कहिलेबाट हुने हो तय गरेका छैनन्।

प्रदीप खड्काको मुख्य भुमिका रहने ‘ऐरी’को निर्माण घोषणा भएको तीन महिना भयो। फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई पोस्टरमा राखेर निर्माण टिमले फिल्मको घोषणा गरेको थियो। तर, फिल्मको सुटिङ कहिले हो खड्कालाई नै थाहा छैन।

हिन्दी भाषामा बन्ने भनिएको यो फिल्म दक्षिण भारतीय भाषाहरूमा समेत स्वरांकन हुने दाबी गरिएको थियो। जीवन थापाको निर्देशन रहने यो फिल्मलाई सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवर लगानीकर्ता भनेर समाचार आएको लामो भइसक्दा पनि निर्माण टिमले प्रदीप बाहेक अरु कलाकार अनुबन्ध गरेको जानकारी गराएको छैन।

अनमोल केसीको मुख्य भुमिका रहने भनिएको फिल्म ‘एक्स नाइनः लेभल वान’को अवस्था पनि पोस्टरमै समिति छ। दुई वर्षअघि कुन्द भट्टको निर्देशनमा नेपालकै सबैभन्दा ठूलो एक्सन थ्रिलर फिल्म भन्दै सामाजिक सञ्जालमा पोष्टर सार्वजनिक गरियो।

सरोज रिजाल कार्यकारी निर्माता र यादवप्रसाद पाठक निर्माता रहेको भन्दै फिल्मबाट अनमोलको पारिश्रमिक बढेर ७५ लाख पुगेको हल्ला समेत फिँजाइयो। तर, फिल्म बनाउने सुरसारै छैन।

तीन दशक लामो सिनेमा क्षेत्रमा बिताइसकेका निर्देशक नवल नेपाल एक कारणले मात्रै फिल्मको निर्माण नरोकिने बताउँछन्।

‘सिनेमाको पोस्टर अगाडि नै बनाएर रिलिज गर्ने दुई/तीन वटा कारणहरू हुन सक्छन्,’ उनले भने, ‘पहिलो उनीहरूको रहर जोडिएको हुन्छ। फिल्मको पोस्टर बनाएपछि फिल्म बन्छ भन्ने रहर गर्नेहरूको जमातले पनि पोस्टर बन्ने फिल्म नबन्ने गरेको देखिन्छ।’

उनले भोलिका दिनमा फिल्म बन्छ/बन्दैन निश्चित नभएकाले अहिले पोस्टर बनाइहालौँ न भन्ने रहर मेटाउन कतिपयले सामाजिक सञ्जालमा पोस्ट गर्न मात्रै बनाउने गरेको उनले बताए। अर्को पोस्टर उत्पादन गरेर बजारमा पठाएमा निर्माताहरू आइहाल्छन् कि भन्ने आश पनि जोडिने उनले बताए।

पत्रकार, फिल्म लेखक तथा समीक्षक सामिप्यराज तिमल्सिना भने अरूको भन्दा फरक मत राख्छन्।  यो शैलीलाई उनले पनि कतिपयको प्रोड्युसर खोज्ने, मार्केटिङ गर्ने स्टाइल भएको अस्विकार भने गरेनन्।

‘फिल्मको पोस्टर बनाउँदैमा त्यसलाई गलत भन्न मिल्दैन। आ-आफ्नो प्रोड्युस गर्ने तरिका हुन्छ। कसैले फोटो खिचेर सञ्जालमा हाल्छन्,  कसैले नाम हाल्छन्' उनले भने'  कतिले पोस्टर नै बनाए पनि त्यसले हानी गर्दैन। मुख्य कुरो फिल्म बन्यो भने गतिलो बनाउनु पर्यो! पोस्टर  अनि कलाकारसँग फोटो खिचेकै भरमा लगानीकर्ता आउँछन् भने त्यो त लगानीकर्ताको गल्ती हो।'

७ फागुन, २०८०, १२:३८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।