पूर्वराजा वीरेन्द्रले ५१ वर्षअघि बनाएको गुरुयोजनाको वेवास्ता, वीरेन्द्रनगरका ३ सय ७२ पानीका निकास मासिए

पूर्वराजा वीरेन्द्रले ५१ वर्षअघि बनाएको गुरुयोजनाको वेवास्ता, वीरेन्द्रनगरका ३ सय ७२ पानीका निकास मासिए

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बढ्दो शहरीकरणसँगै नदीनाला अतिक्रमण गरेर बस्ने बस्तीहरूको संख्या झन्झन् बढ्दो छ। यसले गर्दा यहाँको पुर्ख्यौली कुलो, डहर र निकास समेत मासिँदै गएका छन्।

नापी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्याङ्क अनुसार वीरेन्द्रनगर उपत्यकाभित्र डहर, कुलो, नाला र मूलपानी लगायत तीन सय ७२ वटा पानीका निकासहरू भएकोमा अहिले ती कुलो र नाली समेत हराउँदै गएका छन्। त्यहाँ कहीँ सडक त कहीँ व्यक्तिका घर, विद्यालय लगायतका पक्की संरचनाहरू बनेका छन्।

नगर क्षेत्रको उत्तरी जलाधार क्षेत्रदेखि दक्षिण निकास खोला र पूर्व धुलियाबिटदेखि पश्चिम बाङ्गेसिमल क्षेत्रमा पानी बग्ने नालाहरू रहेका थिए।

नापी कार्यालयको तथ्याङ्क अनुसार साविक जर्वुटा गाविस अन्तर्गतका वडाहरूमा ३५ वटा पानीका निकास थिए। तर, यी निकास अहिले औँलामा गन्य बाहेक सबै मासिएका छन्। त्यस्तै, साविक कटकुवा गाविस क्षेत्रमा ४४, साविक गोठिकाँडा गाविसमा ४७, बयलकाँडामा ४९ र साविक लाटीकोइली क्षेत्रमा सबैभन्दा धेरै एक सय ७९ वटा पानीका निकासहरू नक्सामा देखिन्छन्। तर, फिल्डमा ती निकास भेटिँदैनन्।

मासिएका पानीका निकासहरू खोल्नका लागि प्रयास भने नभएको होइन।

नगर व्यवस्थापनको जिम्मा पाएको सुर्खेत उपत्यका नगर विकास समितिले विभिन्न समयमा पानी बग्ने निकासहरूको तथ्याङ्क लिने गरेको छ। तर, मासिएका निकास नगर विकासको नाममा फिर्ता गराउन भने सकेको छैन। यसमा स्वयंम नगरपालिका नै चुकेको देखिन्छ।

यो पनि : मासिँदै वीरेन्द्रनगरका नदी : खोलामा पानी छैन, पुलमाथि साइनबोर्ड मात्र

स्थानीय तहको संरचनाअन्तर्गत वीरेन्द्रनगर नगरपालिका बनेपछि पनि यसलाई व्यवस्थित शहरमा रुपान्तरण गर्न गुरुयोजना निर्माण गरी लागू गर्ने सवाल बेलाबेला उठान त भइरहन्छ तर त्यसले अहिलेसम्म पूर्णता पाउन सकेको छैन।

तत्कालीन राजा वीरेन्द्रले ५१ वर्ष अगाडि गुरुयोजना बनाएका थिए। तर, वीरेन्द्रनगर नगरपालिका न अहिलेसम्म आफ्नो गुरुयोजना बनाएको छ न त तत्कालीन राजा वीरेन्द्रको गुरुयोजनाको कार्यान्वयन गरेको छ।

अतिक्रमणप्रति चासो

पछिल्लो समय वीरेन्द्रनगरमा भइरहेको खोलानाला अतिक्रमणका विषयमा विभिन्न व्यक्ति र स्थानीयले संरक्षण गर्ने दायित्वबाट स्थानीय सरकार पछि हटेको प्रतिक्रिया दिन थालेका छन्।

‘केही महिनाअघि वीरेन्द्रनगरको उपत्यका क्षेत्रमा डुवानको समस्या बिकराल बन्न थालेको भन्दै नगर अन्तर्गतको उपत्यकाभित्रका खोलानालाको संरक्षणका लागि के-के पूर्वाधार व्यवस्थापन तथा निर्माण गरेको छ? खोलानाला अतिक्रमण रोक्न के-के क्रियाकलाप गरिएको छ? भनेर जिल्ला प्रशासन कार्यालय सुर्खेत मार्फत विवरण मागेको थिएँ,’ अधिवक्ता शेरबहादुर खत्रीले भने, ‘तर, त्यसमा नगरले कुनै चासो देखाएन। यसले नगरपालिका गैरजिम्मेवार रहेको कुरा प्रष्ट देखाउँछ।’

खत्रीका अनुसार निवेदन उपर कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले ०८० कात्तिक १ मा नगरपालिकालाई पत्र लेख्दै उपत्यका क्षेत्रभित्र पर्ने खोलानालाको संरक्षणमा नगरपालिकाले के कस्ता कार्य गरिरहेको छ, १५ दिनभित्र लिखित जानकारी पठाउन पत्र लेखेको थियो। तर, नगरपालिकाले जिल्ला प्रशासनको पत्रउपर कुनै प्रतिक्रिया जनाएन। त्यसको ठिक एक महिनापछि प्रशासनले नगरपालिकाका नाममा ७ दिनको हदम्याद राखी दोस्रो पटक पत्र पठाए पनि भनिए बमोजिम विवरण उपलब्ध गराउन नगरपालिका पछि हटेको अधिवक्ता खत्रीको भनाई छ।

‘प्रशासनले बारम्बार विवरण उपलब्ध गराउन निर्देशन दिए पनि नगरपालिकाले अटेर गरेपछि केही दिनअघि मात्रै ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेशानुसार पत्र पठाएको छ,’ अधिवक्ता खत्रीले भने।

नगरपालिकासँग उक्त विषयमा जानकारी नभएकोले प्रशासनलाई विवरण नपठाइएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहन्द्रबहादुर डाँगीले बताए।

‘अब हामीले तोकिएको समयभित्र नै माग गरिएका विवरणहरू पठाउने तयारी गरेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने, ‘विवरणहरू संकलनको कार्य सुरू भइसकेको छ।’

खोलानाला अतिक्रमणमा परेपछि उपत्यका क्षेत्रको दक्षिणी भाग वर्षामा डुबानमा पर्दै आएको छ। जसका कारण २०७१ को बाढीमा समेत वीरेन्द्रनगरले नसोचेको क्षति बेहोर्नुपरेको थियो। नेवारे खोला, इत्राम खोला, खोर्के खोला र रेडियो नेपाल खोला लगायत वीरेन्द्रनगरका मुख्य खोलाहरू हुन्।

यहाँ अहिलेको अवस्थामा पानी निकासका लागि २० मिटर फराकिला खोला आवश्यक रहेको मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक गोविन्द कोइराला बताउँछन्।

‘वर्षाको समयमा यहाँको पानी सहज रुपमा जानका लागि २० मिटर चौडा भएको खोला आवश्यक पर्दछ। तर, अतिक्रमणले खोला विस्तारै साँघुरिएका छन्,’ कोइरालाले भने, ‘खोलाहरू मासिँदै गएका कारण वीरेन्द्रनगर डुबानको जोखिममा छ।’

५ फागुन, २०८०, १७:१०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।