गायिका टीका प्रसाईंको प्रिय १० सुर : महोत्सवमा ‘नाई मलाई थाहा छैन’ गीत मैले गाउनै पर्दैन

गायिका टीका प्रसाईंको प्रिय १० सुर : महोत्सवमा ‘नाई मलाई थाहा छैन’ गीत मैले गाउनै पर्दैन

स्टुडियो र स्टेजमा जमेकी गायिका हुन् टीका प्रसाईं। उनले गाएका अधिकांश गीतहरू स्रोताको जनजिब्रोमा झुण्डिएका छन्। जुनसुकै गीत गाउन सक्ने टीका प्रसाईं आफ्नो मात्र गीत सुन्दिनन्। उनी आफूभन्दा अग्रज र जुनियरका गीतहरू पनि उतिकै मात्रामा सुन्ने गरेकी छन्। उनले आफूले सुनेका र गाएका गीतहरूमध्ये आफूलाई प्रिय लाग्ने आफ्ना पाँच र अरुका पाँच गीत यसरी छानेकी छन्।

माया लुकी लुकी 
यो धेरै स्रोता तथा दर्शकहरूले रुचाइदिनुभएको गीत हो। हाम्रोमा एउटा नारी र पुरुषबीच खुलेर प्रेम गर्ने आँट हुँदैन। त्यस्तो बेलामा दुवैजनाले एक अर्कालाई लुकेर हेर्ने जुन चलन छ। त्यहि कुरालाई यो गीतका शब्दमा वर्णन गरिएको छ। यस गीतको शब्द र संगीत नै एकदमै मनपर्छ। त्यसकारण पनि यो गीत मलाई प्रिय लाग्छ। यो गीतमा शब्द आनन्द अधिकारीको रहेको छ भने संगीत आशिष अविरलले गर्नुभएको छ।

तिमी मलाई मनपर्छ 
यो मेलोडियस गीतमा मेरो आफ्नै शब्द संगीत छ। हामी कुनै पनि कुरा गर्ने सिलसिलामा डाइरेक मनपर्यो भन्न सकिँदैन। एउटा कुरा भनुँम भनेर सोधेर मात्र भन्न सकिन्छ। त्यस्तै यो गीतको स्टार्टिङ नै मलाई राम्रो लाग्छ। गीतका शब्दहरूले बोलेको भाव अत्यधिक सुन्दर लाग्छ। बेला-बेला यो गीत गुनगुनाइरहेको हुन्छु। त्यसै मन आनन्द बनेर आउँछ।

नाई मलाई थाहा छैन 
यो गीतमा एक नारायण भण्डारीले शब्द लेख्नुभएको छ भने संगीत आशिष अबिरलको छ। यो गीतलाई स्रोता दर्शकले पनि एकदमै रुचाइदिनुभएको थियो। हरेक मान्छेले यो गीत सुन्नेबित्तिकै दिमागमा टिप्नसक्छन्। जति कुरा गरे पनि, सोधे पनि मान्छेले नाईँ मलाई थाहा छैन भन्ने कुराले इन्डिङ गरिदिएका हुन्छन्।  मैले मेला-महोत्सवमा यो गीत गाउँदा दर्शकहरू म सँग-सँगै गीत गाउनुहुन्छ। उहाँहरूले यो गीतलाई खुब इन्जोय गर्नुहुन्छ। त्यस कारण पनि यो गीत मेरा लागि प्रिय छ।

तिमी साथ भएपछि
यो गजल हो। यो गजल प्रेमकै भावहरू व्यक्त गरिएको छ। यसका शब्दहरू असाध्यै राम्रा छन्। गजल गीत गाउँदा शब्दहरू नै बोलिरहेका छन्। यसका मेलोडी एकदमै राम्रो लाग्छ भने शब्द संगीत पनि उतिकै सुन्दर छ। त्यसकारण पनि मलाई गजलमा यो गीत असाध्यै मनपर्छ। यस गजललाई सुरेश वाग्लेले लेख्नुभएको हो भने संगीत हरि लम्सालको छ।

तातो पानी खाऊ
यो गीतमा शब्द संगीत मेरो आफ्नै हो भने स्वरमा कालीप्रसाद बास्कोटा र मेरो छ। यो गीत जति जनाले सुन्नुभएको छ, धेरै मन पराइदिनुभएको छ। मायामा आफ्नो मान्छेको केयरिङ हुन्छ नि! त्यसैलाई आधार बनाएर यो गीत बनाएको हो। सानो–सानो कुरामा झगडा हुँदा पनि केयर गरिन्छ। मलाई यस गीतका शब्दहरू नै मनपर्छ।

अरुका पाँच
पोहोर साल खुशी फाट्दा 
यो म बच्चाको बेलामा असाध्यै सुन्ने र गुनगुनाउने गीत हो। म यहि गीत सुनेर हुर्किए भन्दा पनि हुन्छ। रेडियोमा पनि धेरै बजिरहने, अनि गीत गाउन प्राक्टिस गर्दाखेरि पनि यहि गीतबाट सुरु गरिन्थ्यो। यो गीत सुन्दा ती बाल्यकालको यादहरू दिलाउने गर्छ। त्यसकारण पनि यो गीत मलाई मनपर्छ। यो गीतलाई अरुणा लामाले गाउनुभएको हो। संगीत अम्बर गुरुङको छ भने शब्द राजेन्द्र थापाको।

पहाडको माथि माथि 
यो गीतको कम्पोज सारै नै मनपर्छ मलाई। यो गीतको शब्दले हाम्रो देशको परिवेश, भूभागहरूको वर्णन गरेको छ। सबै कुरालाई मिलाएर लेखिएको शब्द र त्यहि भाव अनुसारको संगीत रहेकोले यो गीत मलाई प्रिय लागेको हो। गीतलाई नारायण गोपाल र आशा भोस्लेले गाउनुभएको हो भने संगीत रन्जीत गजमेरको छ। त्यस्तै यो गीतलाई कुसुम गजमेर र तुलसी घिमिरेले लेख्नुभएको हो।

तिमीलाई भुल्दा 
यो गीत सुन्दाखेरि हरेक शब्दले मेरो मन छुन्छ। मलाई यस गीतको शब्द संगीत र स्वर एकदमै मनपर्छ। यो मेरो सुनिरहने गीतमध्ये एक हो। किनभने यो गीतको मेलोडी गाउँदा र सुन्दा एकदमै आनन्द आउँछ। गीतलाई स्वरसम्राट नारायण गोपालले गाउनुभएको हो।

हिमाल सरि म अग्ली रैछु
अरुणा लामा र नारायण गोपालले गाउनुभएको गीत हो। यो गीतमा माया प्रेमका गीतहरू समावेश भएका छन्। शब्द र संगीतले मायामा समर्पण गरेको प्रेमिल गीत हो यो। यस गीतमा नेपालको प्रकृति र मायालाई मिश्रण गरेर लेखिएको हुँदा यसका शब्दहरू मनपर्छ। यो गीतमा शब्द संगीत गोपाल योन्जनको रहेको छ। 

एउटा मान्छेको मायाले 
मलाई यो गीतको शब्द असाध्यै मनपर्छ। एउटा मान्छे नहुँदाको क्षणलाई गीतले बयान गरेको छ। बाल्यकालमा एकदमै म यो गीत गुनगुनाउने गर्थे। यस गीतका शब्दहरू एकदमै कणप्रिय लाग्छ। चाँदनी शाहले लेख्नुभएको यो गीतलाई दीपक जंगमले संगीत गर्नुभएको छ।

५ फागुन, २०८०, ११:४५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।