आठ बुँदे सहमतिपछि सरस्वती क्याम्पसमा एक महिनादेखि लागेको ताला खुल्यो

आठ बुँदे सहमतिपछि सरस्वती क्याम्पसमा एक महिनादेखि लागेको ताला खुल्यो

काठमाडौं : काठमाडौंको ठमेलस्थिर सरस्वती क्याम्पसमा एक महिनादेखि लागेको ताला खुलेको छ।

क्याम्पस प्रशासन र आन्दोलनरत एकीकृत समाजवादी निकट अनेरास्ववियूबीच आठ बुँदे सहमति भएसँगै ताला खुलेको हो।

दुई पक्षबीच क्याम्पसको आय व्ययको विवरण सार्वजनिक गर्ने, क्याम्पस प्रशासनले प्रशासनलाई चुस्त दुरुस्त बनाउँदै अनलाइन प्रणालीलाई छिटो छरितो व्यवस्थित बनाउने सहमति भएको हो।

यस्तै, क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सहजिकरणको लागि आवश्यक पर्ने रिफ्रेन्स युक र कोष बुकहरू खरिद गरिएको र आवश्यकता अनुसार खरिद गर्दै जाने, विद्यार्थी, शिक्षक र कर्मचारीहरुको सुविधाको निम्ति क्याम्पस हातामा बैंकको एक्स्टेन्सन काउन्टर खोलेर सञ्चालनमा ल्याउने सहमति पनि भएको छ।

दुई पक्षबीच भएको सहमतिअनुसार विद्यार्थीहरूको सहायताको लागि क्याम्पसमा सोधपुछ कक्ष तुरुन्तै सञ्चालनमा ल्याउने, विद्यार्थीहरूको पठनपाठनका लागि क्याम्पसमा भौतिक संरचनाको अभाव भएकोले क्याम्पसमा छिट्टै नै भौतिक संरचना निर्माण गर्ने सहमति भएको छ।

यस्तै,स्वतन्त्र विद्यार्थी यूनियनको खाता सञ्चालन गर्ने र क्याम्पसमा विगत केही समयदेखि क्याम्पस प्रमुखको कार्यकक्ष र लेखा शाखामा लगाइएको ताला खोल्ने सहमति भएको क्याम्पस प्रमुख डा. गोलमान गुरुङले जानकारी दिए।

सहमति पत्रमा क्याम्पस प्रमुख डा. गुरुङ, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का अध्यक्ष मुस्कान राज गौतम र एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष रामबहादुर मल्लको हस्ताक्षर छ।

अनेरास्ववियूले विभिन्न माग राख्दै गत माघ ३ गतेदेखि क्याम्पस प्रमुखको कार्यकक्ष र लेखा शाखामा ताला लगाएको थियो।

१ फागुन, २०८०, १३:२६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।