रेडियोले बनाएको सम्बन्ध लिभिङ टुगेदरमा पुगेपछि हत्या !

रेडियोले बनाएको सम्बन्ध लिभिङ टुगेदरमा पुगेपछि हत्या !

काठमाडौँ : काठमाडौँ, गौशालाको रुञ्चेडाँडास्थित सिरहा धनुषा होटेल एन्ड लजको कोठामा फेला परेको महिलाको शवको अनुसन्धानकोक्रममा हत्या घटना विवाहेत्तर सम्बन्ध अनि लिभिङ टुगेदरसँग गएर जोडिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक गरेको विवरण अनुसार रेडियोको कार्यक्रमबाट बनेको मित्रता विवाहेत्तर सम्बन्ध अनि विवाहको दबाबमा पुगेपछि महिलाको हत्या भएको उल्लेख छ।

प्रहरीका अनुसार यी दुवैको परिचय गराएको थियो जिरीको हिमाली एफएमको साथी बनाउने कार्यक्रम। श्रोताहरू फोन गरेर एक अर्कासँग साथी बन्थे।

काठमाडौँको भीमसेन गोलामा डेरा गरी बस्ने रामेछापको लिखु–५ घर भए पनि अहिले भिमसेनगोलामा बस्दै आएकी पर्मिला दमाइको शव लजको कोठामा फेला परेको थियो।

कोठा बाहिरबाट लक गरिएकाले घटना हत्या हो भन्नेमा शङ्का थिएन। लजको कोठा नम्बर १०८ मा फेला परेको शवको घाँटीमा नाइलनको डोरी कसिएको थियो। अनुहारमा रगतजस्तो रातो लतपतिएको थियो।

लजको  गेस्टको विवरणमा भएको विवरण नक्कली थियो। उनीहरू माघ २४ र २६ गते कोठा बुक गरेर बसेका थिए।

नाम र ठेगाना ढाँटेको खुले पनि प्रहरीले सोधखोज गर्दा महिलाको श्रीमान् नसे र उनकी बहिनी शर्मिलासम्म प्रहरी पुग्यो। दुवैले शव पर्मिलाको भएको सनाखत गर्यो।

पर्मिलासँगै आएको युवाको पहिचान खुल्न सकेन। सिसिटिभी फुटेज फेला परे पनि ती पुरुषले मास्क र टोली लगाएका पहिचान सम्भव भएन।

प्रहरीले पर्मिलाको मोबाइल नम्बरको कल डिटेलसँगै परिवारका सदस्यहरूसँगको सोधपुछमा एक युवाको नाम खुल्यो। ती पुरुष पनि विवाहित भए पनि दुबैबिच प्रेम सम्बन्ध रहेको र परिवारले थाहा पाएपछि प्रहरी कार्यालयसम्म विवाद पुगेको खुल्यो। तर उनी काठमाडौँमा बस्ने गरेको खुलेपछि खोज्दै जाँदा सोमबार प्रहरीले दोलखाको वैतेश्वर–७ का ३८ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गर्यो।

प्रहरीले उनको साथबाट पर्मिलाको मोबाइल सेट, लजमा परिचय टिपाउन बनाएको नक्कली परिचय पत्र, च्यातिएको टिसर्ट फेला पार्यो।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार गत मङ्सिरमा नसे र पर्मिला छोरासहित काठमाडौँ आएर भीमसेन गोलामा रहेको सुकुम्वासी टोलमा बस्न थालेपछि कुमार पनि काठमाडौँ आएका थिए।

 उनी पुसमा काठमाडौँ आएर बुद्धनगरमा डेरामा बस्दै आएका थिए। उनी डेरामा छोरासहित बस्थे। उनले लोकन्थलीमा अर्को डेरा लिएर पर्मिलालाई बोलाए। दुवै एकै डेरामा बस्न थाले।

घरायसी कामले कुमार दोलखा फर्किए। पर्मिला भिमसेनगोलाको डेरामा फर्किइन्। माघ ४ मा कुमार काठमाडौँ फर्किएपछि माघ २४ मा उनीहरू सिरहा धनुषा लजमा गएका थिए। लजमा पर्मिलाले सधैँ बाहिर बसेर हुँदैन, मलाई बिहे गरेर घर लैजाऊ’ भनेर दबाब दिन थालिन्।

कुमारले जेठी श्रीमती भएकाले दोस्रो विवाह गर्न नसक्ने बताएपछि झगडा सुरु भयो। उनीहरू पुन माघ २६ गते त्यही लजमा गए। विवाहकै कुरामा विवाद झगडासम्मै पुग्यो।

झोकमा कुमारले पर्मिलाको बायाँ कन्चटमा मुक्का हानेपछि उनी ढलिन्। उनले नाइलनको डोरीले घाँटी कसेर हत्या गरेर बाहिरबाट ढोका लक गरेर फरार भए।

कुमारले अकस्मात् घटना भएको दाबी गरे पनि मास्क लगाएर गेस्टहाउस गएको, नक्कली परिचय पत्रको आधारमा नाम र ठेगाना ढाटेको लगायतका गतिविधिले भने कुमार त्यो दिन पर्मिलाको हत्याकै योजना अनुसार लज गएको देखिन्छ। प्रहरी घटनाको अनुसन्धानमै छ।

२९ माघ, २०८०, ००:०२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।