संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछन्।

संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दा राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर १ मिनेटमा बस्दैछ।

प्रतिनिधि सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

साथै सोही विधेयकलाई पारित गरियोस् भनेर पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ। बैठकमा आजै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका समेत समावेश छ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ। पूर्वमन्त्री बुढाथोकी २०६४ र २०७० को संविधान सभा सदस्य थिए। बुढाथोकीको हिजो विराटनगरमा निधन भएको थियो।

यस्तै राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेश कुमार आलेमगरले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै अर्थ मन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पेश गर्दा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने सम्भावित कार्यतालिका छ।

त्ससैगरी राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पूर्वमन्त्री एवं संविधान सभा सदस्य केशव कुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेसमेत सम्भाविक कार्यतालिका छ।

२४ माघ, २०८०, ०७:१५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।