अघि बढ्यो उपनिर्वाचनको प्रक्रिया, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

अघि बढ्यो उपनिर्वाचनको प्रक्रिया, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं : निर्वाचन आयोगले रिक्त रहेका २३ तहको निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन आह्वान गरेको छ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उल्लिखित पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न आयोगले सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानून बमोजिम उपनिर्वाचनको मिति तोक्नेगरी आन्तरिक तयारी गरिरहेको छ।

‘विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,’ प्रवक्ता पौडेलले भने।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले मिति घोषणा पूर्व नै मतदाता नामावली दर्ता गर्न आयोगले आग्रह गरेको हो।

२०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका देहाय बमोजिमका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने आयोगको भनाइ छ।

२२ माघ, २०८०, १४:५९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।