अध्ययन भन्छ- बेरोजगार पुरुष भन्दा ७८ मिनेट बढी घरायसी काम गर्छन् नेपालका जागिरे महिला

अध्ययन भन्छ- बेरोजगार पुरुष भन्दा ७८ मिनेट बढी घरायसी काम गर्छन् नेपालका जागिरे महिला

काठमाडौं : नेपालमा बेरोजगार महिलाले जागिरे पुरूषभन्दा ७८ मिनेट बढी काम गर्ने देखिएको छ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागको लागि मानव प्रकाश, डा. रेशम थापा, तिलक क्षेत्री र सञ्जित थापाले गरेको ‘ज्यालामा लैंगिक असमानताको संरचनागत उतारचढाव’ शीर्षकको अध्ययनमा यस्तो देखिएको हो।

गत २०५४-२०६४ को दशक र २०६४-२०७४ को दशकमा विभिन्न पेशा र समूहमा महिला र पुरूषबीच ज्यालामा के-कस्तो अन्तर छ, अनि उक्त अन्तरमा गाउँ र शहरमा रहनेहरूको बीच् कस्तो भिन्नता छ भन्ने अनुसन्धान यो अध्ययनले गरेको छ।

अध्ययनले ज्यालामा भएको भिन्नतालाई उपलब्ध मध्यको सबैभन्दा नवीन तथ्याङ्कीय तौरतरिका प्रयोग गरी महिला भएकै कारणले र संरचनागत कारणले भएको वा हुने गरेको भेदभाव वा फरकलाई दुई अंश पारेर अध्ययन गरेको छ।

अध्ययनले भेदभावको संरचनात्मक कारण र परिणामबारे पनि जान्ने कोशिस गरेको अध्ययनकर्तामध्येका एक डा. रेशम थापाले बताए।

घरधुरिस्तरमा हुने महिला र पुरूषबीचको शिक्षाको भिन्नताले महिलालाई जागिरमा जान रोकेको त छैन? लेखपढ गरेर पनि ज्याला आउने काममा नजाने भएपछि वा जागिरमा गएपनि घरायसी कामको बोझले महिलालाई झनझन् पो समस्या पारेको छ की? २४ घण्टाको समय र मानिसले हाँसिल गर्ने शैक्षिक पुँजीको प्रयोग र उत्पादकत्वमा नै लैङ्गिक आयाम त छैन? भन्ने विषय वरपर अध्ययन भएको थियो।

अध्ययनले गाउँ र शहरमा महिला र पुरूषबीचको काम गर्ने क्षेत्रहरू फेरबदल भएको देखाउँछ। गाउँमा महिला मुल रूपमा कृषिमा काम गर्दछन् भने शहरमा सेवा क्षेत्रमा। उद्योगधन्दा बन्द भएको र खासगरि गार्मेन्टमा आएको मन्दीले महिलालाई शहरमा उद्योगसम्बद्ध रोजगारी उपलब्ध नभएको देखिन्छ।

त्यसरी नै पेशागत हिसावले हेर्दा सानातिना सहयोगी स्तरको काममा ग्रामिण महिलाले काम गर्ने गरेको देखिएको छ भने शहरमा सहयोगी पेशाका साथै उच्चस्तरको व्यवस्थापकीय काममा पनि महिलाहरूको उल्लेख्य उपस्थिति छ। समयक्रममा यो सुधार भएको छ। अहिले महिलाहरूको ग्रामीण भेगमा शिक्षा, स्वास्थ्य, र व्यवस्थापकीय रोजगारीमा उल्लेखनीय सुधार भएको छ। यसको सम्भावित कारण आरक्षण भएको अध्ययनको निष्कर्ष छ।

अध्ययनले समेटेको पहिलो दशकमा ‌औसत ज्याला कमाउने वर्ग भन्दा धेरै ज्याला कमाउने वर्गको ज्यालामा धेरै बढोत्तरी भएको थियो भने दोश्रो दशकमा कम ज्याला कमाउने वर्गको ज्यालामा उल्लेख्य सुधार भएको देखिन्छ। यसरी हेर्दा त आयको बितरण असमान हुदै गए पनि ज्यालाको वितरणमा नेपालमा सुधार भएको देखिन्छ।

२०६४ मा ८० देखि १०० को सतांशमा पर्नेले रू १०० कमाउँदा ० देखि २० को सतांशले रू १६ कमाउँथ्यो। २०७४ मा भने ० देखि २० को सतांशले रू २३ कमाउन थाल्यो। गणतन्त्रकालमा पहिलेको भन्दा सबै आय समूहको ज्याला उही समयमा २ देखि ४ गुणा बढेको देखिन्छ। अझ महिलाको ज्याला वृद्धि पुरूषको तुलनामा बढी भएको छ।

शिक्षामा आएको सकारात्मक परिवर्तन र सामुदायिक क्याम्पसहरूको कारण जागिरमा भएका महिलाहरू पछिल्लो समयमा पुरूषको तुलनामा बढी शिक्षित देखिन्छन्। यो हुनुको एउटा कारण महिलाहरूले शिक्षा चाहिने रोजगारीमा आफ्नो सङ्लग्नता वृद्धि गर्नु पनि हो।

महिलाहरूको सीप, तालिम तथा अन्य मापन योग्य सीपको वितरणका कारणले हुने ज्यालाको भिन्नता नेपालमा लगभग समयक्रममा शुन्यप्राय छ। केहि अवस्थामा त महिलाहरू पुरूषभन्दा बढी पढेको अवस्था छ। तर संरचतात्मक कारणहरू अझै पनि नेपालमा ज्यालामा ठूलो लैङ्गिक असमानता भएको अध्ययनले देखाउँछ। यद्यपिन औषतमा हेर्दा यो सुध्रेको छ।

तर, उच्चदरमा ज्याला पाउनेहरूको कारण यो क्रमिक सुधारोन्मूख देखिएको छ। तर, निम्न ज्याला पाउनेहरूको हकमा यो झन् बिग्रँदो छ। तसर्थ नेपालको ज्यालाको भेदभावको स्टीकी फ्लोरजस्तो छ। यस प्रकारको असमान वितरण र निमुखालाई मर्का पार्नेखालको अवस्था ग्रामीण भेगमा क्रमशः सुध्रँदो देखिएको छ।

धेरैमध्ये यो अध्ययनले शिक्षामा रहेको पारिवारिक असमानता र महिलाले ज्यालावाला काम गरे पनि नगरे पनि प्रसस्त समय घरायसी काममा लगाउने पर्ने संरचनात्मक समस्या देखाएको छ। पढेकाहरूले ज्यालावाला काममा जाने सम्भावना बढी हुने भएता पनि परिवारमा आफूभन्दा बढी पढेको पुरूष हुने बित्तिकै घरमा नै रहने अवस्था छ। त्यसरी बचेको समयलाई स्वरोजगारीमा वा घरकै काममा लगाउने चलन छ।

राष्ट्रिय आयमा मापन नहुने काममा महिलालाई लगाउने, ज्याला कमाउनेलाई पनि घरमा बढीकाम लगाउने संरचना अहिले देखिएको छ। यसको दोहोरो मारमा महिलाहरू परेको देखिन्छ। औसतमा बेरोजगार महिलाले जागिरे पुरूष भन्दा ७८ मिनेट बढी काम गर्छन्। नेपालमा ज्यालावाला कामको बोझ अनि फोकटिया भनिएको अति महत्वपूर्ण कामको बोझ महिलाहरूमाथि छ।

२० माघ, २०८०, ०९:०४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।