प्रधानमन्त्री कपको उपाधि भिडन्त आज, कीर्तिपुरमा आर्मी र पुलिस आमनेसामने

प्रधानमन्त्री कपको उपाधि भिडन्त आज, कीर्तिपुरमा आर्मी र पुलिस आमनेसामने

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ।

उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान सवा ९ बजेदेखि प्रतिस्पर्धा गर्दैछन्।

पुलिस लगातार नौ खेलमा जित निकाल्दै फाइनलमा पुग्दा आर्मी भने नौमध्ये सात खेलमा जित निकाल्दै शीर्ष दुई स्थान पक्का गरेको हो।

पुलिस र आर्मीले तेस्रो पटक च्याम्पियन हुने लक्ष्य राखेका छन्। आर्मी तीनपटक उपविजेता बनेको छ। उपाधि विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन्।

पहिलोपटक राउन्ड रोबिन लिगमा भएको प्रधानमन्त्री कपका शीर्ष चार टोलीले अप्रिलमा इलाइट ट्रफी खेल्नेछन्। शीर्ष चारमा पुलिस र आर्मीसँगै बागमती र मधेश प्रदेश छन्।

लिग चरणका सम्पूर्ण खेलमा निःशुल्क प्रवेश दिएको नेपाल क्रिकेट संघ(क्यान)ले फाइनलको लागि भने शुल्क तिर्नुपर्नेछ। आइएमई पे बाट टिकट काट्दा ५० रुपैयाँ र मैदानमा गएर टिकट लिँदा १०० रुपैयाँ लाग्ने क्यानले जनाएको छ।

माघ २०, २०८० शनिबार ०७:११:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।