भ्रष्टाचारको आरोपमा भारतको झारखण्डका मुख्यमन्त्री पक्राउ

भ्रष्टाचारको आरोपमा भारतको झारखण्डका मुख्यमन्त्री पक्राउ

एजेन्सी : जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोपमा भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका छन्।

आदिबासी जनजाति समुदायको प्रतिनिधित्व गर्दै झारखण्ड मुक्ति मोर्चा पार्टीबाट मुख्यमन्त्री बनेका सोरेनलाई केन्द्र सरकार मातहत रहेको प्रवर्तन निर्देशनालय (ईडी) ले बुधबार राति पक्राउ गरेको हो।

ईडीका अधिकारीहरूले बुधबार दिनभर मुख्यमन्त्री सोरेनसँग उनको निवासमै पुगेर बयान लिएका थिए। सो प्रकरणमा उनी दोषी हुनसक्ने देखेपछि ईडीले उनलाई बुधबार राति नियन्त्रणमा लिएको हो।

पक्राउ परेका मुख्यमन्त्री सोरेनले बुधबार राति नै राज्यपालसमक्ष राजीनामा बुझाएका हुन्।

ईडीले सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लंघनलगायत विषयमा छानबिन गर्दै आएको छ। राँचीमा रहेको भारतीय सैनिक मातहतको चार एकडभन्दा बढी जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको र त्यसमा मुख्यमन्त्री सोरेनको संलग्नता रहेको ईडीको आरोप छ।

सो राज्यमा विपक्षमा रहेको भारतीय जनता पार्टीले जग्गा बिक्री प्रकरणमा मुख्यमन्त्री सोरेनलाई कारबाही गर्न माग गर्दै आएको थियो।

ईडीले सोरेनलाई बयानका लागि प्रयास गरेपनि उनले अस्वीकार गर्दै आएका थिए। दुई दिनअगाडि उनको दिल्लीस्थित निवासमा ईडीले छापा मारेको थियो। त्यहाँबाट उनको ३६ लाख रुपैयाँ नगद र एउटा बीएमडब्ल्यु कार फेला पारेका थियो।

सोरेनले राजीनामा दिएपछि झारखण्डमा नयाँ मुख्यमन्त्रीको खोजी सुरु भएको छ। उनको पार्टीले चम्पई सोरेनलाई विधायक दलको नयाँ नेता चयन गरेको छ। उनलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेसको समर्थनमा मोर्चाले बहुमत सदस्य ४३ जनाको समर्थन राज्यपाललाई पेश गरेको छ।

८१ सदस्यीय विधानसभामा झारखण्ड मुक्ति मोर्चाको २९ र भाजपाको २६ सदस्य छन्। त्यहाँ कांग्रेसको समर्थनमा सोरेन मुख्यमन्त्री थिए। पुनः मोर्चा र कांग्रेसकै गठबन्धनले सरकार बनाउने दाबी गरेको छ।

ईडीले दिल्लीका मुख्यमन्त्री आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई पनि निगरानीमा राखेको छ। यसअघि ईडीले केजरीवाललाई पनि बयानका लागि बोलाएको थियो। तर केजरीवालले पनि बयानका लागि अस्वीकार गर्दै आएका छन्।

उनीमाथि मदिरा बिक्रीको लाइसेन्समा भ्रष्टाचार गरेको आरोप छ। सो मुद्दामा ईडीले एक वर्षअघि केजरीवाल सरकारका उपमुख्यन्त्री मनीष सिसोदियालाई पक्राउ गरेको थियो।

माघ १८, २०८० बिहीबार ०९:५१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।