चार महिनाका लागि अन्तरिम बजेट ल्याउँदै मोदी सरकार

चार महिनाका लागि अन्तरिम बजेट ल्याउँदै मोदी सरकार

एजेन्सी : नरेन्द्र मोदी नेतृत्वको सरकारले चार महिनाको लागि अन्तरिम बजेट आज संसदमा पेश गर्दैछ।

वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार संसदमा आर्थिक वर्ष २०२४/२५ को पहिलो चार महिनाको अन्तरिम बजेट प्रस्तुत गर्दैछिन्।

मोदी सरकारको दोस्रो कार्यकालमा अर्थमन्त्री बनेका सीतारमणको यो छैटौं र पहिलो अन्तरिम बजेट हुनेछ।

सीतारमणले स्थानीय समयअनुसार बिहान ११ बजे लोकसभामा बजेट पेश गर्दैछिन्। बजेटमा मुद्रास्फीति नियन्त्रणमा राख्दै उपभोग र ग्रामीण अर्थतन्त्रलाई प्रवर्द्धन गर्न सरकारमाथि दबाव छ।

साथै सरकारले रोजगारीमा परेका करको बोझ कम गर्न आयकरमा छुट दिने अपेक्षा गरिएको छ। किसान सम्मान योजना अन्तर्गत प्रत्येक वर्ष किसानलाई प्राप्त हुने छ हजार रुपैयाँ सहायता रकम बढ्ने अपेक्षासमेत गरिएको छ।

यो बजेट पूर्ण बजेट होइन। अहिले पेश हुने बजेटमा आर्थिक वर्ष २०२४/२५ को पहिलो चार महिनाको खर्च व्यहोर्न संसदबाट स्वीकृति लिनेछ।

यसै वर्ष भारतमा आवधिक निर्वाचन हुँदैछ। उक्त लोकसभा चुनावपछि बनेको सरकारले आगामी ८ महिनाको पूर्ण बजेट जुलाईमा पेश गर्नेछ।

अन्तरिम बजेटका कारण चालु आर्थिक वर्ष २०२३/२४ को आर्थिक समीक्षा अझै पेश हुन सकेको छैन। यो पूर्ण बजेटको समयमा पेश हुनेछ।

माघ १८, २०८० बिहीबार ०९:२५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।