अमेरिकी राष्ट्रपति चुनाव : रिपब्लिकनबाट उम्मेदवार बन्न प्रतिस्पर्धा, ट्रम्पको सम्भावना कति?

अमेरिकी राष्ट्रपति चुनाव : रिपब्लिकनबाट उम्मेदवार बन्न प्रतिस्पर्धा, ट्रम्पको सम्भावना कति?

एजेन्सी : अमेरिकी राष्ट्रपति पदको चुनावका लागि रिपब्लिकन पार्टीले उम्मेदवार छनोटको प्रक्रिया सुरू गरिसकेको छ।

अहिलेसम्म २ वटा राज्यमा भएको ककसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बाजी मारेका छन्।

ट्रम्पले उम्मेदवारको प्रतिस्पर्धामा रहेकी निक्की हेलीलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। तर, हेलीले ट्रम्पको आग्रहलाई अस्वीकार गर्दै आफू अझै चुनावी दौडमा रहेको बताएकी छिन्।

हेलीले ट्रम्पले मनोनयनका माध्यमबाट आफ्नो बदमाशीको रणनीति पूरा गर्न नसक्ने बताइन्।

यस महिनाको सुरुमा ट्रम्पले आयोवा ककसमा शानदार जित हासिल गरेका थिए। यो प्रारम्भिक निर्वाचन प्रक्रियामा पूर्वराष्ट्रपति एकतर्फी विजयी हुँदा निक्की हेली दोस्रो स्थानमा रहिन्।

उही समयमा आयोवाको नतिजा बाहिर आएपछि भारतीय मूलका उद्यमीबाट राजनीतिज्ञ बनेका विवेक रामास्वामी र फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस उम्मेदवार बन्ने अभियानबाट फिर्ता हुँदै ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका थिए।

आयोवाको नतिजापछि निक्कीलाई दौडबाट फिर्ता लिन दबाब बढिरहेको छ।

ट्रम्पले उनलाई दौडबाट पछि हट्न पनि आग्रह गरेका छन्। तर, दुई पटक साउथ क्यारोलिनाको गभर्नर भइसकेकी निक्कीले पछि हट्न अस्वीकार गरेकी छिन्। अर्को प्राथमिक चुनाव (ककस) अर्को महिनाको अन्त्यमा साउथ क्यारोलिनामा हुने छ।

हेलीले अमेरिकाका ४८ राज्यमध्ये दुई राज्यको मात्रै नतिजा आएको अवस्थामै आफूले कुनै निर्णय नगर्ने पनि प्रष्ट पारिन्।

उनले भनिन्, ‘यो लोकतन्त्र हो। अमेरिकी जनताले आफ्नो उम्मेदवार को हो भन्ने निर्णय गर्नेछन्। दुई प्रदेशको आधारमा यो काम गर्न मिल्दैन।’

१६ माघ, २०८०, ११:५६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।